काठमाडौं ।
निर्माता तथा कलाकार सन्तोष सेनले आगामी फिल्म ‘प्रेम गीत–३’को मुख्य अभिनेत्री ‘गीत’ पात्रको लागि केही समय अघि अडिसनको आह्वान गर्नुभएको थियो । फिल्मको ‘गीत’ पात्रको लागि विश्वभरबाट २,७१४ जना इच्छुक युवतीहरुको उत्साहजनक आवेदन आसुसेनको अफिसियल वेबसाइटमा सङ्कलन भएको निर्माता सेनले जानकारी गराउनुभएको छ । जसमध्येबाट विभिन्न आधारमा अब्बल २५ जनालाई छनौट गरिएको निर्माता सेनले जानकारी गराउनुभयो ।
छनौट हुनुभएका उत्कृष्ट २५ मा अलिशा, अञ्जली, अनुजा, भविका, दिव्यनी, करुणा, कविता, कृष्टिना, कृस्टिना, लाक्पा, मानश्वी, नीलम, पूजा, ऋतु, रिया, रुवी, सविता, सरिना, शक्शि, शिक्षा, श्रद्धा, स्नेहा, तमान्ना, तनुजा र याना रहेका छन् ।
‘‘गीत’ पात्रको लागि देश तथा विदेशबाट आएको व्यापक सहभागिताले निर्माण पक्षलाई हौसला त प्रदान गरेको छ । साथमा सबै सहभागितामध्येबाट एक जना ‘गीत’ पात्रलाई छनौट गर्न चुनौति पनि उत्तिकै छ’ निर्माता सेनले भन्नुभयो, ‘आशुसेन फिल्मसले यसअघि फिल्म ‘प्रेमगीत’को लागि अभिनेता प्रदीप खड्कालाई पनि अडिसन मार्फत नै छनौट गरेको हो ।’
निर्माता सेनका अनुसार २,७१४ जना इच्छुक युवतीहरुबाट छनौट भएका उत्कृष्ट २५ सहभागीहरुमध्ये एक जनालाई ‘गीत’ पात्र अर्थात् ‘प्रेमगी–३’को मुख्य अभिनेत्रीको रुपमा निर्देशक, क्यामेरा मेन र कोरियोग्राफर लगायतका क्रिएटिभ टिमले छनौट गर्नेछन् । छनौट भएका उत्कृष्ट २५ जना सहभागीहरु सबैमा अभिनेत्री बन्न सक्ने सम्भावना रहेको निर्माण पक्षको भनाइ छ ।
यो फिल्मको मुख्य अभिनेता र २५ जनाबाट छनौट गरिने ‘गीत’ पात्रलाई घोषणा कार्यक्रमकै दिन सार्वजनिक गरिने निर्माता सेनले जानकारी दिनुभएको छ । ‘प्रेमगीत–३’लाई निर्माता सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गर्दै हुनुहुन्छ । यो फिल्मलाई यसै वर्षको चैत २८ गतेबाट दर्शकमाझ रिलिज गरिने निर्माण पक्षले जनाएको छ ।
आसुसेन फिल्मस प्रोडक्सनको ब्यानरमा निर्मित २०७२ सालको रोमान्टिक हिट ‘प्रेमगीत’ र यसका मुख्य पात्र ‘प्रेम’ र ‘गीत’ ले ऊबेला दर्शकहरुमाझ आफ्नै छुट्टै स्थान बनाएको थियो । अहिले यसै फिल्मको तेस्रो सिरिज फिल्म ‘प्रेमगीत–३’को निर्माणमा जुटिरहनुभएको निर्माता सेनले ३/४ सय वर्ष पूरानो (हाम्रो बाजेरबराजुको पालाको) कथालाई प्रस्तुत गरिने बताउनुभएको छ ।
यसै फिल्मबाट निर्माता सेनले निर्देशकिय यात्रा पनि सुरु गर्दैहुनुहुन्छ, त्यसोत, यसै फिल्मको दोस्रो सिरिज ‘प्रमगीत–२’मार्फत उहाँले अभिनयमा पनि हात हाल्नुभएको थियो ।