काठमाडौं ।
काठमाडौं उपत्यका मुलुकका अन्य ठाउँको तुलनामा शान्त र सुरक्षित मानिन्छ ।
दश वर्षे युद्धकालमा समेत छिटफुट घटना बाहेक काठमाडौं शान्त र सुरक्षित नै रह्यो । २०६२/०६३ को जनआन्दोलन र शान्ति संझौतापछि मुलुकका द्वन्द्वग्रस्त ठाउँको समेत अवस्था बदलियो । द्वन्द्वको चरण पीडा भोगिरहेका गाउँ तथा शहरमा समेत क्रमिक रुपमा शान्त बन्दै गयो र सुरक्षित महशुस हुन थाल्यो ।
काठमाडौ उपत्यका द्वन्द्वअवधिमा सुरक्षित नै थियो, त्यही कारण द्वन्द्वबाट बिस्थापितहरु सुरक्षित स्थान खोज्दै काठमाडौं ओइरिए । संविधानसभा निर्वाचनपछि जारी भएको संविधान कार्यान्वयनसँगै उपत्यकाबासीले पूर्ण रुपमा सुरक्षित महशुस गर्दै थिए । तर आइतबार दिउँसो मुलुकको प्रशासनिक केन्द्रकै छेउमा रहेको अनामनगरमा भएको कुकर बम बिस्फोटको घटनाले उपत्यकाबासीलाई झस्काएको छ ।
अनामनगर र सुकेघारामा एकसै साथ भएको बिस्फोटबाट ३ जनाले जीवन गुमाएका छन् । मृतकको सनाखत भइसकोको छैन । यद्यपि जीवन गुमाउनेहरु सर्वसारण नै रहेको अनुमान गरिएको छ । बिस्फोट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गराएको पुष्टि भएको छ । बिस्फोटमा ६ जना घाइते भएका छन् ।
अनामनगरको बिस्फोटमा विप्लव समूहकै विद्यार्थी नेता रविन केसी समेत घाइते भएका छन् । बिस्फोटमा उनले प्रयोग गरेको बा २९ प ८५९९ नम्बरको मोटरसाइल प्रहरीले बरामद गरेकाे छ । घटनामा काभ्रेका हरि खड्का र काठमाडौ कपनका सुरेन्द्र महर्जन लगायतका ६ जना घाइते भएका छन् । घाइतेको ट्रमा सेन्टर र ओम अस्पतालमा उपचार भइरहेको छ ।
बिस्फोट स्थलमा विप्लवको पर्चा
बम बिस्फोट स्थलमा नेत्रविक्रम चन्द विप्लव नेपाल कम्युनिष्ट पार्टीको पर्चा भेटिएको छ । घटना स्थलमा विप्लव समूहको बन्द आव्हान गरिएको पर्चा भेटिएको हो ।
सुरक्षा परिषद् र गृह प्रशासनको आपतकालीन बैठक
घटना लगतै सुरक्षा परिषद् तथा काठमाडौं, ललितपुर र भक्तपुर प्रशासनको आपतकालीन बैठक बसेको छ । बिस्फोट लगत्तै गृहमन्त्री रामबहादुर थापाले बैठक बोलाउनु भएको हो । सुरक्षा परिषद् बैठकमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र गृहमन्त्रालयका उच्च अधिकारीहरु सहभागी थिए ।
त्यस्तै गृह प्रशासनको बैठकमामा ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई बोलाइएको थियो । सुरक्षा परिषद् र गृह प्रशासन बैठकमा सुरक्षा योजनाबारे छलफल भएको गृहमन्त्रालय स्रोतले जनाएको छ । व्यस्त शहर सबैरै सुनसान सिंहदरबारकै छेउमा रहेको अनामनगरमा र बुढानिलकण्ठ नगरपालिकाको वडा नम्बर ४ सिथत सुकेधारामा बम बिस्फोट भएपछि उपत्यकाबासी त्रसित बन्न पुगेका छन् ।
विप्लव समूहले सोमबार बन्द आव्हान गरेको छ । अरुबेला साँझ अबेरसम्म विभिन्न काम र व्यवसायमा व्यस्त भइरहने बासिन्दा बन्दको पूर्वसन्ध्यामा अप्रिय घटना हुन सक्ने आशंकाले आइतबार भने सबैरै बसोबास स्थानतिर लागेका छन् । जसको कारण उपत्यकाको सडकमा अरु दिनको तुलनामा सवारी साधन पातलिएको छ ।
सेनाको निगरानी, कडा सुरक्षा गस्ती
बासिन्दालाई त्रसित पार्न विप्लव समूहबाट हुने अप्रिय घटना रोक्न सुरक्षा निकायले सजकता अपनाएको छ । आम नागरिकलाई सुरक्षा अनुभूति गराउन काठमाडाैं उपत्यकासहित मुलुकको विभिन्न ठाउँमा नेपाली सेनाले समेत निगरानी गर्ने भएको छ । सुरक्षाको अनुभूति दिलाउन सशस्त्र र जनपथ प्रहरीले कतै सयुक्त र कतै छुट्टाछुट्टै रुपमा गस्ती गर्ने भएको छ ।