सैनिक जवानलाई बिजुलीको पोलमा बाँधेर कुटीकुटी हत्या गर्ने पक्राउ

सिरहा।

बिजुलीको खम्बामा बाँधेर कुटपिट गरी सैनिक जवानको हत्या गरेको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ ।

सिरहाको बरियारपट्टि गाउँपालिकाको तेनुवापट्टिमा गत वैशाख २८ गते राति सैनिक जवान बरियारपट्टि–४ सोहपुरका २२ वर्षीय अनिसकुमार सिंहको स्थानीयवासीको कुटपिटबाट मृत्यु भएको थियो । गम्भीर घाइते सिंहले उपचारका क्रममा राजधानीको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा मृत्यु भएको हो । सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तेनुवापट्टिका ३८ वर्षीय मङ्गल साहलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

भारतीय सीमाक्षेत्रमा लुकीछिपी बसेको अवस्थामा साहलाई गएराति पक्राउ गरिएको प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए । उनीमाथि ‘अपरहण तथा कर्तव्य ज्यान’ मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको उनले बताए ।

सङ्खुवासभाको खाँदबारीस्थित बराह दल गुल्ममा कार्यरत सैनिक जवान सिंह बिदामा घर आएका बेला तेनुवापट्टिका स्थानीयवासीले चोरी गरेको आरोपमा बिजुली पोलमा बाँधेर कुटपिट गरेका थिए । घटनापछि गाउँका अधिकांश पुरुषले गाउँ छाडेका छन् । घटनामा संलग्न अन्यको खोजी भइरहेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार