रंगशालामा डोजर चलेपछि सुन्तलीको आक्रोशः प्रकाश कँडेलले जुत्ताको मालामा घुँडा टेकेर माफी माग्नुपर्छ

काठमाडौं ।

धुर्मुस सुन्तली फाउन्डेसकी कोषाध्यक्ष एवम् कलाकार कुञ्जना घिमिरे (सुन्तली)ले रंगशालाको बार भत्काउने प्रकाश कँडेललाई जुत्ताको माला लगाउनुपर्ने बताउनुभएको छ ।

बिहीबार दिउँसो रंगशाला निरीक्षणपछि कोषाध्यक्ष घिमिरेले विभिन्न देशमा काम गरेका दाजुभाइले तरकारी खर्च कटाएर पठाएको पैसाबाट बनेको रंगशालाको बारमा डोजर लगाउने प्रकाश कँडेल र त्यसमा संलग्न स्थानीयलाई कडाभन्दा कडा सजाय दिनुपर्ने बताउनुभएको छ । साथै उहाँले डोजर लगाउँदा क्षति भएको सामानको क्षतिपूर्ति पनि उनीहरुले नै दिनुपर्ने स्पस्ट पार्नुभयो ।

प्रकाश कँडेलको पृष्ठभूमि जान्न जरुरी रहेको बताउँदै घिमिरेले सबै गाउँलेलाई उसले के नराम्रो सिकाउँदै छ भन्ने बुझन जरुरी रहेको उहाँको भनाइ छ । ‘यहाँ रंगशाला बन्ला नबन्ला,’ उहाँले भन्नुभयो, ‘रंगशाला बने पनि स्थानीयको मानसिकता बनेन भने यो रंगशाला सञ्चालनमा आउँदैन ।’

प्रहरीले कँडेललाई नियन्त्रणमा लिए पनि त्यसले आफूहरुको चित्त नबुझ्ने घिमिरेले बताउनुभयो । ‘त्यो अपराधीलाई सार्वजनिक गरी जुत्ताको माला लगाउनुपर्छ,’ उहाँले थप्नुभयो, ‘विदेशबाट सहयोग गर्ने सबैसामू घुँडा टेकेर माफी माग्नुपर्छ ।’

चितवनको भरतपुरमा बनिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा बुधबार बिहान प्रकाश कँडेल र केही स्थानीयले डोजर चलाएका थिए । डोजर चल्दा १० लाख रुपैयाँ भन्दा बढीको क्षति भएको छ । घटनापछि धुर्मुस–सुन्तली फाउन्डेसनले रंगशाला निर्माणको काम स्थगित गरेको छ ।

प्रकाश कँडेल नेपाल कम्युनिष्ट पार्टीका स्थानीय नेता हुन् । उनलाई बिहीबार नै नेपाल कम्युनिष्ट पार्टीले साधारण सदस्यसमेत नरहने गरी निस्कासन गरेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार