एजेन्सी । फेसबुक प्रयाेगकर्ताका डाटा असुरक्षित हुन थालेपछि फेसबुकले हजाराैँ एपहरु निलम्बित गरेकाे छ । प्रयोगकर्तासँग सम्बन्धित डेटा चोरी हुनेगरी भएको केम्ब्रिज एनालिटिका काण्डपछि फेसबुकले दशौँ हजार एपलाई निलम्बन गरेको बताएको हाे ।
झन्डै चार सय विकासकर्तासँग सम्बद्ध ती दशाैँ हजार एपहरुका कारण सुरक्षा जाेखिम बढेकाे बताइएकाे छ । तथापि फेसबुकले सबै एप प्रयोगकर्ताका लागि जोखिमपूर्ण नभएको समेत बताएको बिबिसीले लेखेकाे छ ।
सन् २०१८ मा केम्ब्रिज एनलिटिका नामक कम्पनीले बिनाअनुमति धेरै फेसबुक प्रयोगकर्ताको डेटा हेरेको खुलासा भएकाे थियाे । त्यसपछि फेसबुकलाई सुरक्षाको विषयमा साेच्न ठूलो दबाव परेको थियो । केम्ब्रिज एनलिटिका राजनीतिक परामर्श दिने कम्पनी हो । फेसबुकबाट व्यक्तित्वसम्बन्धी प्रश्नोत्तरमार्फत् हात पारेको डेटा उक्त कम्पनीले राजनीतिक विज्ञापन गर्दा उपभोक्ता खोज्न प्रयोग गरेको आरोप लागेकाे थियाे ।
केम्ब्रिज एनलिटिका काण्डमा करौडौँ मानिसको गोप्य विवरण चुहिएको थियो । त्यसबाट फेसबुकलाई ठूलो क्षति भयो । फेसबुकले उपभोक्ताको गोपनीयता भङ्ग गरेको ठहर गर्दै अमेरिका सरकारले गत जुलाई महिनामा उक्त विशाल कम्पनीलाई पाँच अर्ब डलर जरिबाना तिराएकाे थियाे । त्यसयता फेसबुकले धेरै मुद्दा तथा अन्तर्राष्ट्रिय आलोचना खेप्नुपरेको बताइन्छ ।
आफ्नाे गिरेकाे साख सुधार्न फेसबुकले गत वर्ष मार्चमा सयौँ वकिल, डेटा वैज्ञानिक तथा इन्जिनियरहरूलाई संलग्न गराएर आफ्नो माध्यममा प्रयोग हुने एपहरूको अनुसन्धान सुरु गरेकाे थियाे । फेसबुकले निलम्बनमा परेका एप तथा शङ्कास्पद विकासकर्ताबारे एकदम न्यून जानकारी दिएको छ । तर पनि ती एपहरुबाट फेरि जाेखिम हुनसक्ने भन्दै सचेतना चाहिँ अपनाउन आग्रह गरिएकाे छ ।