माता दक्षिणकालीले सबैको कल्याण गरुन,आश्विन १९ गते आइतबार\अक्टोबर ०६ तारिखको राशिफल

वि.सं. २०७६ आश्विन १९ गते आइतबार तदनुसार ई. सं. २०१९ अक्टोबर ०६ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, आजको चाडपर्व र उत्सव : नवरात्रअन्तर्गत महागौरी भगवतीको पूजा आराधना गर्ने दिन, अष्टमी व्रत, गोरखकाली पूजा, महाष्टमी, कालरात्री, नेवारी पर्व कुलक्षिभ्वय, आजको मूहुर्त : दीक्षाग्रहण, कलशचक्र, आश्विन शुक्लपक्ष (कौलाथ्व) अष्टमी तिथि, दिउँसो ०२:२२ बजेसम्म, त्यसपछि नवमी तिथि, पूर्वाषाढा नक्षत्र, बेलुका ०७:१५ बजेसम्म, त्यसपछि उत्तराषाढा नक्षत्र, चन्द्रमा धनु राशिमा, मध्यरात्रीपछि ०१:३४ बजेसम्म, त्यसपछि मकर राशिमा, अतिगण्ड योग, मध्यरात्रीपछि ०४:१४ बजेसम्म, त्यसपछि सुकर्मा योग, सुरुमा बब करण दिउँसो ०२:२२ बजेसम्म, त्यसपछि बालब करण मध्यरात्रीपछि ०२:४४ बजेसम्म, अन्तिममा कौलव करण, आनन्दादि योग : शुभ, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : ईशान, वारशूल : पश्चिम, काठमाण्डौ, नेपालमा, सूर्योदय : बिहान ०५:५८ बजे, सूर्यास्त : साँझ ०५:४३ बजे, दिनमान : २९ घडी २२ पला (११ घण्टा ४५ मिनेट, रात्रीमान : ३० घडी ३८ पला (१२ घण्टा १५ मिनेट)

आजका लागि अशुभ समय :–
राहु काल : साँझ ०४:१५ देखि ०५:४३ सम्म, यमघण्ट : दिउँसो ११:५१ देखि ०१:१९ सम्म, गुलिक काल : दिउँसो ०२:४७ देखि ०४:१५ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–
शुभ वारवेला : दिउँसो ०१:१९ देखि ०२:४७ सम्म, अमृत वारवेला : बिहान १०:२३ देखि ११:५१ सम्म, लाभ वारवेला : बिहान ०८:५५ देखि १०:२३ सम्म, आज यात्राका लागि पुरुषको नेतृत्वमा उत्तर र पूर्व दिशाको तथा महिलाको नेतृत्वमा नैऋत्य (दक्षिणपश्चिम) र वायव्य (उत्तरपश्चिम) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा पान वा घिउ खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।

भोलिको चाडपर्व र उत्सव :
नवरात्रअन्तर्गत सिद्धिरात्री भगवतीको पूजा आराधना गर्ने दिन, महानवमी, मन्वादि, बौद्धावतार, स्याक्वट्याक्व, भोलिको मुहूर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), कलशचक्र, पञ्चाङ्गखण्ड समाप्त भएको छ, यहाँ मैले प्रयोग गरेको समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्रादि र नामाक्षरमा पनि समय अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
धर्म स्थानमा चन्द्रमा भएकाले आज परोपकारी काममा समय दिनु राम्रो हुन्छ । पुराना कुरा र यादमा आजको कुनै समय यापन हुनसक्छ । आफन्त वा साथीभाइले निस्वार्थ भावले सहयोग गर्नेछन् । शरीरमा उत्साह र उमङ्गको उदय हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । मनोरञ्जनात्मक काममा रुचि जाग्नेछ । बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ । नयाँ ज्ञान आर्जन गर्ने समय छ । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ । आध्यात्मिक भावनाको उदय हुनेछ । हातमा सह भएको दिन हो, कुनै नयाँ काम थालनी गरेमा दूरगामी फाइदा मिल्न सक्छ । बन्दव्यापार र कामधन्दामा समेत राम्रो छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नुपर्छ । तपाईंको कडा परिश्रम व्यर्थै खेर जान सक्छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ । मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । घरायसी वातावरण, दाम्पत्य र प्रणयसम्बन्धमा आज असहजता आउनसक्छ । कसैसँग व्यर्थमा वादविवाद हुनसक्छ । गर्नु नपर्ने कामबाट जोगिनु राम्रो हुन्छ, कुनै महत्वपूर्ण काम गर्न बाँकी भए आजलाई स्थगित गर्नु होला । बोलीमा संयमता अपनाउनु होला, आफूले भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । नजिकैको मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छ । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
प्रणय र रोमान्सतर्फ मानसिक झुकाव बढ्नाले काम गर्न जाँगर चल्नेछैन, शरीरमा आलस्यले डेरा जमाउने समय छ । घुमघाम, भेटघाट र मनोरञ्जनका लागि समय निकाल्न धौधौ हुनेछ । नचाहेको र नौलो ठाउँको यात्राको सम्भावना छ । सामान्य विवादले ठूलो रूप लिन सक्छ, प्रेमसम्बन्ध वा प्रणयप्रसङ्गमा तिक्तता आउन सक्छ, सचेत हुनुहोला । सरकारी जागिरेका लागि कामको चाप बढ्ने छ । मनोरञ्जनात्मक काम वा रमणीय यात्राको सम्भावना छ, आम्दानी राम्रै भए पनि रामरमाइलोका क्रममा खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ । नयाँ उद्योगधन्दा वा व्यापारव्यवसायमा हात हाल्नु राम्रो हुँदैन ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आज गरिएका जुनसुकै काममा सफलता प्राप्त हुनेछ । शत्रुले तपाईंको छवि बिगार्ने प्रयास गरे पनि तिनको क्रियाकलापले उल्टै उनीहरूकै हानि हुनेछ । व्यवसायिक स्थितिमा सुधार आउने छ । स्वास्थ्य सबल रहने छ । हडबड र शीघ्रताले काम गर्ने प्रवृत्तिमा नियन्त्रण गर्नु राम्रो हुन्छ । लामो समयदेखि रोकिएका कामहरू बन्न सक्ने मौका छ । आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना छ । मिष्ठान्न भोजनको अवसर आउने छ, तर आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ । शारीरिक प्रतिस्पर्धा र तर्क, विवाद वा न्याय सम्पादनका सिलसिलामा लाभ प्राप्त गर्न सक्नुहुनेछ । सरकारी कामबाट फाइदा हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
पाँचौं भावमा रहेको कमजोर चन्द्रमाको प्रभावले मन एकतमासको बन्न सक्छ । एकाबिहानै विगतका अनुभूतिमा रुमल्लिंदा निराशाभाव उत्पन्न हुनसक्छ । नघोरिई आत्मबलको प्रयोग गरी अघि बढेमा र रोकिएका कामप्रति लगनशीलता देखाएमा सफलता तपाईंको मुट्ठीमा हुनेछ । पठनपाठन र बौद्धिकताप्रति आकर्षण नै हुनेछ । मिहिनेत गरेमा विद्यार्थीले उच्च सफलता आर्जन गर्नेछन्, आजको चिन्तन र उपाय फलदायी हुनेछ । बढी व्यस्त हुनाले आवश्यक काम रोकिन सक्छ । मानसम्मानमा गिरावट आउन नदिन प्रयास गरिने छन् । आवेग र क्रोधमा नियन्त्रण गर्नु राम्रो हुन्छ, नत्र सहयोगीहरू टाढिन सक्छन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
चन्द्रमा अशुभ छ, तर डराई हाल्नुपर्दैन । शुभ ग्रहको दृष्टि रहेकाले मान्यजन, हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँगको छलफलबाट लाभ हुने सम्भावना छ । घरायसी वातावरणमा सुधार आउने छ । मनमा उत्साह र हौसला प्राप्त हुनेछ । मानसिक रूपमा सबल भइने छ । मित्रवर्ग, साथीभाइ र सहयोगीहरूले भरपूर सहयोग गर्नेछन् । आज आफ्ना लक्ष्य र योजनाका बारेमा खुलेर छलफल गरेमा सही मार्गदर्शन हुनसक्छ । तर्कवितर्क, झैझगडा र विवादका विषयमा अघि नबढेको राम्रो हुन्छ । प्रेमसम्बन्ध र दाम्पत्यसुखको राम्रो योग छ । स्वास्थ्यस्थितिमा सुधार आउने छ । नयाँ रचनात्मक काम सुरु गर्ने समय छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
दाजुभाइ र बन्धुवान्धवका क्रियाकलापले हर्षित बनाउने छ । धार्मिक क्रियाकलाप, परोपकारी काम वा सामाजिक क्रियाकलापमा आजको समय व्यतीत हुनेछ, मनमा आध्यात्मिक र दार्शनिक भावना जागृत हुनेछ । दिनदुःखीलाई दिएको सानो सहयोगले रोकिएको काम बन्न सक्छ । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरूले मनग्ये लाभ प्राप्त गर्नेछन् । पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । भोज, पार्टी वा मिठो भोजनका लागि अवसर प्राप्त हुने सम्भावना पनि छ । दीर्घकालिक फाइदाका लागि गरिएको प्रयास सार्थक हुनेछ । बन्दव्यापारबाट लाभ मिल्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
भाँडाकुँडा, घरायसी बन्दोबस्तका सामान र सुनचाँदी जस्ता धातुको कारोवारबाट धेरथोर लाभ मिल्नेछ । बोलीमा पूर्ण प्रभाव छ, तर्कवितर्क र बहसमा विजय प्राप्त हुनेछ । धार्मिक सामाजिक कामको दायित्व थपिन सक्छ । मिष्ठान्न भोजन मिल्नेछ । आफन्तले प्रशंसा गर्नेछन्, जाँगर बढ्नेछ । नातेदार र कुटुम्बले तपाईंको काममा सहयोग गर्नेछन् अथवा आफैंले चेलीबेटी र कुटुम्बपक्षका काममा समय दिनुपर्नेछ । बन्दव्यापार राम्रो छ, अप्रत्यासित लाभ हुनेछ । आर्थिक लगानी बढाउन अनुकूल छ । नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ, कारोबारमा सुधार आउने योग छ । इज्जत र प्रतिष्ठा बढ्ने छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
मन त्यसैत्यसै उत्ताउलो र भावुक बन्न सक्छ । सामाजिक वा छरछिमेकीका काममा खट्नु पर्नेछ, तर जस र प्रतिष्ठाको सम्मान नहुनसक्छ, अन्त्यमा कताकता निराशाबोध हुनसक्छ । आत्म–विश्वासमा कमी आउने छ । छिटो समाप्त हुने कामबाट राम्रै फाइदा लिन सकिन्छ, तर दीर्घकालिक कामको थालनी गर्दा पछि पछुतो हुनसक्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लगाउनु राम्रो हो । कामधन्दाप्रति दिलचस्पी हुने छैन, तर अल्छी गरेमा कुनै आवश्यक काम रोकिन सक्छ । विशिष्ट व्यक्तित्वसित विवादको सम्भावना छ । पारिवारिक जमघट हुनेछ, तर विवाद र झैझगडामा संयम हुनु राम्रो हुन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
यात्राको योग छ । बाह्रौं चन्द्रमा भएकाले यात्राका क्रममा होस राख्नु राम्रो हुन्छ । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना भएकाले गोपनीयता अपनाएमा मात्र कुनै काम सम्पादन गर्न सहज हुनेछ । छरछिमेकमा परेको अप्ठ्यारो र असजिलो फुकाउन समय र धन लगानी गर्नु पर्ने हुनसक्छ । परोपकार र दानपुण्यका कार्यबाट लाभ लिन सकिने छ । बन्दव्यापारमा नराम्रो छैन । खानपानमा नियन्त्रण गर्नु बेस हुनेछ । काममा बाधा देखिए पनि अत्तालिइ हाल्नु पर्दैन । बेलाबेलामा अशान्ति र छटपटी हुनसक्छ । कुनै गोप्य योजना कार्यान्वयन गर्न आजको दिन अनुकूल छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
राज्यस्थानमा चन्द्रमा भएकाले आज पर्याप्त लाभ लिन सकिने दिन हो । प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । परोपकारी काममा रुचि बढ्ने योग छ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । पठनपाठनमा प्रगति हुनेछ । अरुबाट तपार्इंका कामको उच्च मूल्याङ्कन हुने सङ्केत छ । बोलीको कदर हुनेछ । प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । स्वास्थ्य सबल छ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । अभिभावकको आशीर्वाद लिन सकेमा सफल भइने छ । धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
बन्दव्यापारमा समय दिन सकिंदैन । झिनामसिना घरायसी काममा आजको समय व्यतीत हुनेछ । अचलसम्पत्ति वा पैतृक धनको कारोबारबाट सामान्य लाभ लिन सकिने समय छ, तर श्रमको मूल्याङ्कन हुन नसक्दा निराशा हुनेछ । आम्दानीका मार्गहरू देखिने छन्, तर खट्ने अनुकूलता नहुनाले दिक्क लाग्नेछ । थोरबहुत आय भए पनि खर्चको मात्रा बढ्न सक्छ । शत्रुबाट सजग भई आलोचनाबाट बच्ने प्रयास गर्नुहोला । मातापिता र अभिभावकवर्गको स्वास्थ्यस्थितिमा देखिएको खराबीले चिन्तित तुल्याउन सक्छ । पेसा, व्यवसाय वा नोकरीमा संलग्न व्यक्तिले भनेजस्तो सफलता नपाउन सक्छन्, तर निराश हुनुपर्दैन ।
(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार