भक्तपुर |
भक्तपुरको नवदुर्गा देवगण नाचको ईतिहासमा पहिलो पटक आज कोजाग्रत पूर्णिमाको अवसरमा द्यो ब्वोय्केगु (देवता प्रर्दशन) कार्यक्रम हुने भएको छ। बडादशैंको अन्तिम दिन कोजाग्रत पुर्णिमाको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवदुर्गा देवगणको दर्शन, पुजा र प्रसाद ग्रहण आउने अवसर पारेर द्यो ब्वोय्केगु कार्यक्रम हुन लागेको हो।
राष्ट्र प्रमुख कोजाग्रत पुर्णिमाको दिन दर्शनका लागि आउँदा द्यो ब्वोय्केगु कार्यक्रम गर्ने धेरै वर्षअघि देखीको प्रयास यसवर्ष पुरा हुन लागेको नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन समितिका सचिव रत्मान वनमालाले जानकारी दिए।
राष्ट्रपति भण्डारीको सम्मानमा उनको सामु प्रदर्शन गरिने द्यो ब्वोय्केगु कार्यक्रमका लागि जिल्ला प्रशासन कार्यालय भक्तपुरमार्फत १ लाख १५ हजार रुपैयाँ सहयोग प्राप्त भइसकेको जानकारी दिँदैं उनले गुठी संस्थानले पनि २५ हजार सहयोग गर्ने भएको बताए।
जिल्ला समन्वय समिति भक्तपुरले पनि नवदुर्गा नाच व्यवस्थापन र सञ्चालनको लागि अक्षय कोष स्थापना गर्न १५ लाख हस्तान्तरण गर्ने कार्यक्रम रहेको वनमालाले बताए। उनले आजै सांसद महेश बस्नेतले राष्ट्रपति भण्डारीसामु अक्षयकोषका लागि १ करोड रुपैंया माग गरी प्रस्ताव पेश गर्ने तयारी भएको जानकारी दिए।
नवदुर्गा देवगणको द्यो ब्वोय्केगु कार्यक्रम सर्वसाधरणले आफ्नो भाकल गरेको मनोकामना पुरा भएको अवस्थामा स्वईच्छाले गर्न सकिन्छ। द्यो ब्वोकेय्गु कार्यक्रममा नवदुर्गा देवगणलाई गच्छे अनुसार भोज चढाउने गरिन्छ।