१३ जनालाई जिउँदै जलाएर मारेको आरोपमा काँग्रेस सांसद मोहम्मद आफताब आलम पक्राउ

काठमाडौँ।

रौतहट क्षेत्र नं २ बाट निर्वाचित काँग्रेस सांसद मोहम्मद आफताब आलम पक्राउ परेका छन् ।

आइतबार बिहान प्रहरी प्रधान कार्यालय काठमाडौँबाट सादा पोसाकमा खटिएको प्रहरीले टोलीले आलमलाई उनको निजी निवास राजपुर फरहदवा राजपुर गाउँबाट पक्राउ गरेको हो ।

उनीमाथि पहिलो संविधानसभाको निर्वाचनमा बुथ क्याप्चर गर्ने उद्देश्यले आफ्नै घरमा बम बनाउन लाग्दा विस्फोट भई घाइते भएकामध्ये १३ जनालाई नजिकैको इँटाभट्टामा जलाएर मारेको आरोप थियो । उनीमाथि प्रहरी पुग्दा सम्पूर्ण प्रमाण नष्ट गरेको आरोप थियो । मारिनेमा भारतीय र नेपाली नागरिक भएको बताइएको छ ।

रौतहटको राजपुर–४ खरहवामा भएको सो विस्फोटनमा घाइते भएपछि जलाइएका दुईजना नेपाली युवाहरु त्रिलोकप्रताप सिंहका बाबु र कौशी अख्तर मियाकी आमाले आलममाथि कार्वाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए । तर, प्रहरीले आलमबिरुद्ध जाहेरी लिन नमानेपछि मृतकका अविभावकहरुले दोषीमाथिको जाहेरी निवेदन लिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका थिए ।

सो रिटमाथि सुनुवाई गर्दै तत्कालीन न्यायाधीशद्वय सुशीला कार्की र भरतबहादुर कार्कीको संयुक्त इजलासले १६ जेठ २०६९ मा दोषी आरोपित आलमसहित ५ जनालाई गिरफ्तार गरी कारवाही प्रक्रिया अघि बढाउन आदेश दिएको थियो । अदालतको आदेश पछि पनि आलमलाई प्रहरीले पक्राउ गर्न सकेको थिएन ।

आलम काँग्रेसका पूर्व जिल्ला सभापति र वनमन्त्री पनि हुन् ।

यो पनि !

सांसद आलमको ‘अपराध कथा’

रौतहट प्रतिनिधिसभा निर्वाचन क्षेत्र–२ बाट निर्वाचित संघीय सांसद एवम् पूर्वमन्त्री मोहमद आफताब आलम पक्राउ परेका छन् ।प्रहरी प्रधान कार्यालय काठमाडौँबाट सादा पोसाकमा गएका प्रहरी र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले आइतबार बिहान ११ बजे सांसद आलमलाई पक्राउ गरेको हो ।

पछिल्लो केही दिनदेखि आलमलाई पक्राउ गर्ने तयारी गरेको संयुक्त टोलीले सांसद आलम आफनो घर राजपुर फरहदवाबाट गौरतर्फ आउनेक्रममा गौर चन्द्रपुर सडकखण्डमा पर्ने इद्रिशगेट नजिकैबाट पक्राउ गरेको छ । उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय गौरको जिम्मा लगाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले सांसद आलम पक्राउ परेको पुष्टी गरेका छन् ।

पहिलो संविधानसभाको निर्वाचनमा नेपाली काँग्रेसका नेता आलमले राजपुर नगरपालिका स्थित उनका काका शेख इद्रिशको घरगोठमा बम बनाउने क्रममा २०६४ साल फागुन २७ गते साँझ ६ः३० बजे बम विस्फोट भएको थियो । विस्फेटमा परेर केहीको घटनास्थलमै मृत्यु भएको र केही घाइते भएकाहरु सबैलाई ट्रयाक्टरमा राखेर आलमको आफन्तको राजपुरमै रहेको ईट्टाभट्टामा जलाएर मारेको उनीमाथि आरोप लाग्दै आएको छ ।

घटनालगतै जिल्ला प्रहरी कार्यालय रौतहटका तत्कालिन एसपी लक्ष्मण न्यौपाने घटनास्थल पुगे पनि आलम समर्थकहरुले प्रहरीलाई ईट्टाभट्टासम्म पुग्न दिएका थिएनन् । घटनास्थलमा प्रहरी पुग्नु अघिनै सबै प्रमाणहरु नष्ट गरिएको त्यतिबेला चर्चामा आएको थियो ।

सांसद आलमलाई तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको संरक्षण रहेको कारण प्रहरीले समेत पक्राउ गर्न सकेको थिएन । बम विस्फेटनमा परी सरुअठा गाँउका श्रीनारायण सिंहका छोरा २५ वर्षीय पिन्टु सिंह,र राजपुर फरहदवाका ओसी अख्तरका साथै अन्य भारतीयहरुको मृत्यु भएको बताइएको छ । घटनापछि जिल्लाका नेपाली काँग्रेसबाहेक प्रायः सबै राजनीतिक दलले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै घटनाको छानबिन तथा दोषीलाई कारवाहीको माग गरेका थिए ।

घटनालगतै मृतक पिन्टु सिंहका बुवा श्रीनारायण शिंह र ओसी महमदकी श्रीमती रुखसाना खातुनले सांसद मोहमद आफताभ आलम, उनका भाई शेख मोहमद महताभ आलम, सोही ठाँउका शेख भदै, शेख मोमिन र हाल गरुडा नगरपालिका अन्तरगत जयनगरका शेख बलेरुलाई मुख्य आरोपी बनाइ जिल्ला हुलाक मार्फत जिल्ला प्रहरी कार्यालय गौरमा मुद्दा दर्ता गराएका थिए ।

मुद्दामा जिल्ला अदालत गौर र तत्कालिन पुनरावेदन अदालत हेटौँडाले आलमलाई सफाई दिएको थियो ।सोही बीच मृतक ओसी महमदको आमा रुखसाना खातुनको गोली हानी हत्या भएपछि पीडित भनिएका श्रीनारायण शिंह राजपुतले सर्वोच्च अदालतमा पुनः अपिल गरेका थिए । राजपुतको अपिलमा सर्वोच्च अदालतले आलमलाई निय न्त्रणमा लिएर अनुसन्धान गर्न २०७३ मा आदेश दिएको थियो ।

अदालतको उक्त आदेश कार्वान्यन नगरेको भन्दै श्रीनारायण सिंहले जिल्ला प्रहरी कार्यालय रौतहटलाई विपक्षी बनाइ सर्वोच्चमा मानहानीको समेत मुद्दा दायर गरेका थिए ।

सर्वोच्च अदालतको सोही आदेश अनुसार बमकाण्डको छानबिन तथा अनुसन्धानका लागी सांसद आलमलाई आज नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी भुपेन्द्र खत्रीले जानकारी दिएका छन् ।

खत्रीका अनुसार मृतक पिन्टु सिंह र ओसाी अख्तरको हत्या तथा बम काण्डको मुख्य नाइके आलमसहित पाँचजना माथी मुद्धा दायर भएको र सर्वोच्च अदालतको निर्देशनमा अनुसन्धानका लागि सांसद आलमलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी नविन कार्कीका अनुसार अदालतको आदेश कार्यान्वयन गर्न आलमलाई आज नियन्त्रणमा लिएको बताए । बमकाण्डको घटनाको छानबिनका लागी जिल्ला अदालत गौर बाट भोली म्याद थमाउने डिएसपी कार्कीले बताए ।

पीडितको जाहेरीमा बमकाण्डमा दुईजना मात्र मारिएको भनिए पनि स्थानीयले दर्जनौँ मारिएको र मर्नेमा अधिकांश भारतीय रहेको दावी गर्दै आएको प्रहरी प्रवक्ता डिएसपी कार्कीले जानकारी दिएका छन् ।

मृतक ओसी महमदको श्रीमती रुखसानाको गोलीहानी हत्या :

राजपुरको चर्चित बमकाण्डमा मारिएका भनिएको ओसी अख्तरको श्रीमती रुखसाना खातुनको समेत गोली हानेर हत्या भएको थियो ।

घटनाको करीव ५–६ वर्ष पछि राजपुरस्थित आफनो घरमै रहेको अवस्थामा अज्ञात मानिसले रुखसानाको टाउकोमा लक्षित गरी गोली प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । जिल्ला प्रहरी प्रवक्ता डिएसपी नविन कार्कीले उक्त घटनाको अनुसन्धान हालसम्म जारी रहेको बताएका छन् । रुखसानाको हत्यारालाई प्रहरीले हालसम्म पता लगाउन न सकेपनि स्थानीयले बमकाण्डसँगै उनको हत्यालाई जोड्दै आएका छन् ।

सत्य तथ्य छानविनको माग:

यसैबीच, रौतहट संसदीय निर्वाचन क्षेत्र–२ का समाजवादी पार्टीका सांसद प्रत्यासी किरण साहले बमकाण्ड घटना र रुखसाना हत्याको सत्यतथ्य वास्तविक छानविन गरी दोषी पत्ता लगाएर कार्यवाही गर्न माग गरेका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार