गैर आवासीय नेपालीको सम्मेलनमा लगानीको चर्चा

काठमाडौं ।

सरकारले लगानीका लागि उपयुक्त वातावरण बनेको भन्दै फेरि गैर आवासीय नेपालीलाई लगानी ल्याउन आग्रह गरेको छ ।
राजधानीमा सुरु गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं सम्मेलनको मंगलबार उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपालीहरूलाई जन्मभूमिमा लगानी गर्न आह्वान गरिन् । नेपालमा लगानीका लागि आन्तरिक र बाह्य दुबै ढंगले अनुकूल वातावरण सिर्जना भइसकेको उनले बताइन् ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल उच्च आर्थिक वृद्धिको दिशामा अघि बढेको उल्लेख गरे र समृद्धिको यात्रामा सरकारसँग सहकार्य गर्न गैरआवासीय नेपालीलाई आग्रह गरे । तर, राष्ट्रपति भण्डारी र परराष्ट्रमन्त्री ज्ञवालीको भनाइलाई एनआरएनएका प्रतिनिधि र उद्योग वाणिज्य महासंघका प्रतिनिधिले विश्वास गरेनन् ।

गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले आफूहरुले उठाएका विषय सरकारले संबोधन नगरेको बताए । ‘गैरआवासीय नेपालीहरु कहिल्यै थाक्दैनन् र उर्जावान पनि छन् । हामी हाम्रो जन्मभूमिको विकास र समृद्धिका लागि सहकार्य गर्न तयार छौं । तर, सरकारले हामीले उठाएका कुराहरुलाई सम्बोधन गर्नुपर्यो, मात्र प्रतिवद्धता आएर पुग्दैन’ एनआएनएका अध्यक्ष भवन भट्टले भने ।

एनआएनएका पूर्वअध्यक्ष शेष घलेले गैरआवासीय नेपालीहरुले आफ्नो आयको ठूलो हिस्सा नेपालमा खर्च गर्ने गरेको बताए । ‘हामीले मातृभूमि प्रतिको दायित्व सम्झेर आफ्नो आयको ठूलो हिस्सा नेपालमा खर्च गर्ने गरेका छौं’, घले अगाडि भन्छन्, ‘लगानी अनुसारको प्रतिफल सुनिश्चित हुनुपर्छ ।’

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार