संक्रान्तिको समयमा ग्रह परिवेशमा तुला राशिमा सूर्य, बुध र शुक्र, बृष राशिमा चन्द्रमा, कन्या राशिमा मंगल, बृश्चिक राशिमा बृहस्पति, धनु राशिमा शनिश्चर र केतु तथा मिथुन राशिमा राहु ग्रहको उपस्थिति देखिन्छ । सामान्यतया कार्तिक महिना भरि सूर्यले तुला राशिमा भ्रमण गर्दछन्, तुला राशिमा रहेको सूर्यलाई नीच सूर्य मान्ने गरिन्छ । चन्द्रमाले हरेक दुई÷साढे दुई दिनमा राशि परिवर्तन गर्ने गर्दछन्, यस अतिरिक्त यस महिनामा १० गते तुला राशिमा रहेको शुक्रले बृश्चिक राशिमा प्रवेश गर्नेछन्, त्यस्तै बृश्चिक राशिमा रहेको देवगुरु बृहस्पतिले यस महिनाको १२ गतेपछि आगामी १३ महिनाका लागि आफ्नै राशि धनुमा प्रवेश गर्नेछन् अनि कन्या राशिमा रहेको मंगल ग्रहले यस महिनाको २५ गते तुला राशिमा प्रवेश गर्ने संकेत छ । अन्य ग्रहहरूको राशि परिवर्तन गर्ने लक्षण छैन, तर बुध ग्रह कार्तिक ०७ गतेदेखि २८ गतेसम्म बक्रावस्थामा रहने छन् ।
यस्तो ग्रह परिवेशमा शुक्रवारको संक्रान्ति र सोमवारको औंसी परेको छ, यस प्रभावले शासनसत्तामा बसेका व्यक्तिहरूले आत्मसमीक्षा गरेर शासन व्यवस्थामा केही सुधार गर्ने आशा गर्न सकिन्छ । त्यस्तै दैनिक उपभोग्य वस्तुहरूको उपलब्धताले सामान्य जनमानसले सन्तुष्टिको अनुभूति गर्नेछन् । यद्यपि कार्तिक महिनामा सूर्य आफ्नो नीच राशिमा रहेको मानिन्छ, सूर्य भनेको आमजीवनमा शासक अर्थात् राजा भन्ने बुझिन्छ, अतः राज्यका जिम्मेवार पदाधिकारीहरूको जीवनचर्या र आचरणमा खोट देखिने समय पनि हो, अनि एकापसमा दोषारोपण गर्दै सत्तारुढहरू कमजोरसमेत बन्नसक्छन् । शेयर बजारमा केही सुधार आउने छ, तर महिनाको मध्यभागमा बुध ग्रहमा बक्रता हुने भएकाले लगानीको सुरक्षा सतर्कता हुनु अत्यावश्यक देखिन्छ । कमिशनखोर र ठगीधन्दामा संलग्न हाबी हुने समय रहने छ । धान्यादि बर्षेबालीमा राम्रो प्रतिफल प्राप्त हुने समय छ । प्रायः आकाश सफा रहने महिना हो, कार्तिक महिना, तर महिनाको अन्त्यतिर आकाशमा बादल देखापर्ने र प्रदेश नं. ०१ को पहाडी भूभागमा आंशिक वर्षाको सम्भावना भएको समय रहने छ ।
मेष
यस महिनाको प्रारम्भमा दोस्रो भावमा चन्द्रमा, तेस्रो भावमा राहु, छैटौं भावमा मंगल, सातौं भावमा सूर्य, बुध र शुक्र, अष्टम भावमा बृहस्पति तथा नवौं भावमा शनिश्चर र केतु बसेर महिना प्रारम्भ भएको छ । यस क्रममा १० गते सप्तमेश शुक्रले अष्टम भावमा, १२ गते भाग्येश बृहस्पतिले भाग्यभावमा नै र २५ गते राशिस्वामी मंगलले सप्तम भावमा प्रवेश गरी राशिपरिवर्तन गर्दैछन् ।
यस्तो ग्रह परिवेशमा तपाईंको राशिबाट साझेदारी र प्रणय सुख प्रदान गर्ने सातौं घरमा रहेको सूर्यको प्रभावले यो महिना जीवनसाथी वा व्यवसायिक साझेदारसँग मतभेद बढ्ने समय हो । मानसिक तनाव र खिन्नता बढ्ने समय भएकाले झिनामसिना कुरामा चिन्ता र शङ्का गर्नहुदैन । निरङ्कुश बानी र कडापन तपाईंका कमजोरी बन्नसक्छन् । घरायसी व्यवहारमा कडापन बढ्न सक्छ, त्यसैले परिवारभित्रका वादविवाद, झैझगडा र समस्याहरूमा संयमता अपनाउनु राम्रो हुनेछ । व्यक्तिगत स्वास्थ्यस्थितिप्रति गम्भीर हुनु जाति हुन्छ । कार्यक्षेत्रमा एक्लै खटेर मिहिनेत गर्नुपर्ने परिस्थिति छ, नजिकका साथीभाइ र कामदारले धोका दिनसक्छन् । आर्थिक पक्ष बलियो छैन, बाध्यताका खर्चमा धनव्यय हुनेछ । तर तपाईंको जीवनसाथीले आफ्नो कार्यक्षेत्रमा उन्नति गर्नेछन् । राशिस्वामी मंगलले छैटौं तथा सप्तम भावको यात्रा गर्ने समय भएकाले समग्रमा शुभफलकै आधिक्यता रहने महिना देखिन्छ ।
यो महिना छात्रछात्राले उच्च सफलता हातपार्ने समय छ । गृहिणीहरूमा उच्चाकाङ्क्षा जाग्नेछ, तर पतिको स्वास्थ्यस्थिति र कार्यक्षेत्रमा समस्या देखिनसक्छन्, कर्मचारीको इच्छाएको जिम्मेबारी प्राप्त हुने वा आम्दानीमा बृद्धि हुने गरी सरुवा हुनसक्छ, त्यस्तै व्यापारीहरूले लगानी डुबाउन सक्ने खतरा देखिन्छ, साझेदारले फँसाउने चेष्टा गर्नेछन् । यस महिनामा ग्रहजन्य अशुभ प्रभाव निवारणका लागि तपाईंले नियमित रूपले शिवोपासना गर्नु कल्याणकारी हुनेछ । यस महिनाको ०४, ०५, ०६, १३, १४, २२, २३ र २४ गतेको चन्द्रमा समेत तपाईंका लागि कमजोर रहने सङ्केत छ ।
बृष
यस महिनाको प्रारम्भमा आफ्नै राशिमा चन्द्रमा, दोस्रो भावमा राहु, पञ्चम भावमा मंगल, षष्ठ भावमा सूर्य, बुध र शुक्र, सप्तम भावमा बृहस्पति तथा अष्टम भावमा शनिश्चर र केतु बसेर महिना प्रारम्भ भएको छ । यस क्रममा १० गते राशिस्वामी शुक्रले सप्तम भावमा, १२ गते लाभेश बृहस्पतिले अष्टम भावमा र २५ गते सप्तमेश मंगलले छैटौं भावमा प्रवेश गरी राशिपरिवर्तन गर्दैछन् ।
यस्तो ग्रह परिवेशमा तपाईंको राशिबाट छैठौं घरमा रहेको सूर्यको प्रभावले यो महिना अत्यन्त उपयोगी छ, जे गरे पनि सफलता हात पर्ने सम्भावना हुन्छ । पहिले देखिएका प्रायशः समस्याहरूको निराकरण हुनसक्छ । मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । शत्रु र प्रतिस्पर्धीमाथि पकड कायम हुनेछ । पछाडि उछित्तो काड्ने र कुरा काट्नेहरू आफैं चुप लाग्नेछन् । नोकरी र व्यायसायिक जीवनमा सुधार आउने छ । प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । आफ्नो सर्कलमा सम्मान र साख मिल्नेछ । मुद्दामामिला वा सरकारी काममा सफलता मिल्नेछ । तर छैटौं भाव झगडा र रोगको घर भएकाले मौसमी रोगको चाप बढ्ने सम्भावना छ, त्यस्तै उधारोमा गएको धन फिर्ता नहुन सक्छ, अनि पारिवारिक किचलो र बिना उद्दश्यको यात्रामा समयको बर्बादी हुनसक्छ, सचेत हुनुपर्छ । यो महिना प्रविधि विषयका छात्रछात्राले सफलता प्राप्त गरे पनि खेलवाड र मनोरञ्जनले चिताएको परिणाममा कमी आउन सक्छ, राशिस्वामी शुक्रले १० गतेपछि सप्तम भावमा प्रवेश गर्ने भएकाले महिनाको उत्तरार्द्धमा गृहिणीहरूले धनसंग्रह गर्ने अनुकूलता पाउने छन्, कतै घुमघामको योगसमेत बन्नसक्छ, कर्मचारीले बढुवा वा जिम्मेबारी प्राप्त गर्नेछन् भने व्यापारीहरूले स्थिर सम्पत्ति जोड्ने अनुकूलता प्राप्त गर्नेछन् । यस महिना ग्रहजन्य उपचारका लागि गाई वा गोरुलाई चारो, चोकर, घाँस वा गहुँ खान दिएमा शुभ फल प्राप्त हुनेछ । यस महिनाको ०६, ०७, ०८, १५, १६, १७, २४, २५ र २६ गतेको चन्द्रमा कमजोर रहेकाले सचेत हुनु वाञ्छनीय हुनेछ ।
मिथुन
यस महिनाको प्रारम्भमा आफ्नै राशिमा राहु, चतुर्थ भावमा मंगल, पञ्चम भावमा सूर्य, बुध र शुक्र, छैटौं भावमा बृहस्पति, सप्तम भावमा शनिश्चर र केतु तथा बाह्रौं भावमा चन्द्रमाको उपस्थिति देखिन्छ । यस क्रममा १० गते पञ्चमेश शुक्रले छैंटौं भावमा, १२ गते सप्तमेश बृहस्पतिले सप्तम भावमा नै र २५ गते लाभेश मंगलले पञ्चम भावमा प्रवेश गरी राशिपरिवर्तन गर्दैछन् ।
यस्तो ग्रह परिवेशमा तपाईंको राशिबाट पञ्चम भाव बुद्धिस्थानमा रहेको सूर्यको प्रभावले मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । आम्दानीमा वृद्धि हुनेछ, तर महत्त्वाकाङ्क्षा बढ्नाले सन्तुष्टि भने नहुन सक्छ । बालबच्चाको खानपिन र स्वास्थ्यस्थितिप्रति सचेत हुनुपर्छ । धार्मिक कार्यप्रति रुचि जाग्नेछ । प्रेम जीवनमा उतारचढाव आउनेछ, किनभने यस महिनाको ०७ गतेदेखि २८ गतेसम्म राशिस्वामी बुध ग्रह अस्त अवस्थामा हुनेछ, त्यसैले प्रेमप्रसङ्ग, प्रणय एवं रतिरागका क्षेत्रमा निर्लिप्त हुन यो समय उपयोगी हुँदैन, फकाउने र फुस्ल्याउने काममा समय बित्न सक्छ । पढाइलेखाइ र बौद्धिक क्रियाकलापका लागि उचित समय छ, तर चिन्तनमननमा बढी निर्लिप्त हुनु पनि हानिकारक बन्नसक्छ । आकस्मिक यात्राको अवसर आउन सक्छ । यो महिना किशोर अवस्थाका छात्रछात्रामा प्रणयप्रसंगमा भुलिने एवं कल्पना र भावनामा रुमल्लिने परिस्थिति बन्नेछ, कसैकसैको प्रेमसम्बन्धमा तिक्तता बढ्ने योगसमेत देखिन्छ, गृहिणीहरूले पतिसित मनमुटाव बढाउन सक्छन्, कर्मचारीले घरायसी आवश्यकताका वस्तु खरिद गर्ने वा गृहनिर्माणको योजना बनाउने छन्, व्यापारीहरूले कुनै महत्त्वाकांक्षी योजनामा लगानी गर्नाले तनावको सिर्जना हुने भएकाले सचेत हुनुपर्छ । यस महिना शुभफलको प्रभाव बृद्धि गर्न रोगी वा कमजोर आर्थिक स्थिति भएका रोगीको उपचारमा दबाइपानी वा आर्थिक सहयोग गर्नु मुनासिब देखिन्छ । खास गरी यस महिनाको ०१, ०८, ०९, १०, १७, १८, १९, २७, २८ र २९ गतेको चन्द्रमा समेत अनिष्ट हुने हुँदा सतर्कता अपनाएको जाति हुन्छ ।
कर्कट
यस महिनाको प्रारम्भमा तृतीय भावमा मंगल, चतुर्थ भावमा सूर्य, बुध र शुक्र, पञ्चम भावमा बृहस्पति, षष्ठ भावमा शनिश्चर र केतु, एकादश भावमा चन्द्रमा तथा बाह्रौं भावमा राहु ग्रहको उपस्थिति देखिन्छ । यस क्रममा १० गते लाभेश शुक्रले पञ्चम भावमा, १२ गते भाग्येश बृहस्पतिले छैटौं भावमा र २५ गते पञ्चमेश मंगलले चतुर्थ भावमा प्रवेश गरी राशिपरिवर्तन गर्दैछन् ।
यस्तो ग्रह परिवेशमा तपाईंको राशिबाट सुख भावमा रहेको सूर्यको प्रभावले आर्थिक पक्ष मजबुत देखिन्छ, व्यवसाय वा नोकरीको सन्दर्भमा वा वैदेशिक प्रयोजनको काममा घरबाहिर जानु पर्ने परिस्थिति बन्नेछ । विवाहित हुनुहुन्छ भने पति वा पत्नीले बढुवा वा प्रशंसा पाउने समय छ । यो समय घमण्ड र जिद्दीपना बढ्ने समय पनि हो, त्यसैले सवारी हाँक्दा र बाटो काट्दा सावधान र सचेत रहनु ठीक हो । त्यस्तै प्रत्येक कुरामा अडान लिने बानीले दुख पाइने छ, यद्यपि व्यवसायिक क्षेत्रमा लिएको अडानले फाइदा दिलाउने छ । यो समय कडा मिहिनेत र परिश्रम गर्ने महिना हो । निरन्तर गरिएको कष्टप्रद परिश्रमका कारण छिटै थाकिन्छ र कार्य क्षमतामा समेत कमी आउने छ । मन कुकर्म र गलत आचरणतर्फ आकर्षित बन्न सक्छ । मातापिता र अभिभावक वर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नेछ । खासगरी कर्कट राशिका छात्रछात्राले प्रसिद्धि र सम्मान पाउने समय छ, गृहिणीहरूले लामो समयदेखिका इच्छाआकांक्षा पूर्ण गर्नेछन्, घरमा कुनै मांगलिक कार्य सम्पन्न हुनेछ, कर्मचारीले भने बेकारको विवाद र तनावको स्थितिबाट गुज्रनु पर्ने देखिन्छ भने व्यापारीले आर्थिक पक्षमा राम्रो उपलब्धी पाउने समय छ । यस महिनालाई अझ उत्कृष्ट तुल्याउन तपाईंले सूर्योपासनाका साथमा नित्य मंगल कवच वा हनुमान् चालिसाको पाठ गर्नु उचित हुन्छ । सामान्यतया राशिस्वामी चन्द्रमाको प्रतिकूलता हुने दिनहरू ०२, ०३, ०४, १०, ११, १२, १९, २०, २१, २९ र ३० गते हुने भएकाले सचेत हुनु आवश्यक छ ।
सिंह
यस महिनाको प्रारम्भमा द्वितीय भावमा मंगल, तृतीय भावमा सूर्य, बुध र शुक्र, चतुर्थ भावमा बृहस्पति, पञ्चम भावमा शनिश्चर र केतु, दशम भावमा चन्द्रमा तथा एकादश भावमा राहु ग्रहको उपस्थिति देखिन्छ । यस क्रममा १० गते कर्मेश शुक्रले चतुर्थ भावमा, १२ गते पञ्चमेश बृहस्पतिले पञ्चम भावमा नै र २५ गते भाग्येश मंगलले तृतीय भाव पराक्रम स्थानमा प्रवेश गरी राशिपरिवर्तन गर्दैछन् ।
यस्तो ग्रह परिवेशमा तपाईंको राशिबाट तृतीय पराक्रम स्थानमा रहेको राशिस्वामी सूर्यको प्रभावले पराक्रम र प्रसिद्धिमा वृद्धि हुनेछ । अधिकतम समय घुमघाम र भ्रमणमा बित्नेछ, साथै ससाना यात्रा फलदायी र भाग्यशाली सिद्ध हुनेछन् । पारिवारिक जीवन सुखद रहनेछ, घरपरिवारका सदस्य, मित्र र नातागोता माझको सम्बन्ध सुदृढ हुनेछ । नातेदार, मित्रशक्ति र दाजुभाइबाट लाभ मिल्नेछ । सामाजिक र परोपकारी काममा सहयोेग लिन÷दिन सकिनेछ । लक्ष्यप्राप्तिका लागि कडा मिहिनेत गर्ने समय आएको छ, बहुप्रतीक्षित इच्छा, आकाङ्क्षा र उद्देश्य सफल हुनसक्छन् । आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना समेत छ । सामान्यतया स्वास्थ्यका दृष्टिकोणले यो समय राम्रै छ, तर व्यवसाय वा काममा बढी मिहिनेत गर्नेहुँदा स्वास्थ्यस्थितिमा नकारात्मक असर पर्न सक्छ । खासगरी यस राशिका छात्रछात्राले कुनै प्रतियोगिता वा परीक्षामा राम्रो नतिजा हात पार्नेछन्, गृहिणीहरूमा दोस्रो वाणि स्थानको मंगलले मुख छुच्चो बनाउन सक्छ । त्यस्तै कर्मचारीले भने कुनै प्रतिष्ठामा आघात पुग्ने लफडामा फँस्ने डर हुन्छ अनि व्यापारीले भाग्यबृद्धि गर्ने अवसर पाउने छन् । यस महिनाको शुभफलमा अझ बृद्धि गर्ने उद्देश्यले तपाईंले नियमित ढंगले सूर्यको उपासना गर्ने, सूर्यलाई अर्घ्य दिने र सूर्यको बीज मन्त्र वा सूर्य गायत्रीमन्त्रको जाप गर्ने बानी बसाल्नु उचित हुनेछ । सामान्यतया यस महिनाको ०४, ०५, ०६, १३, १४, २२, २३ र २४ गते तपाईंका लागि अशुभ रहने हुँदा सचेत हुनुहोला ।
कन्या
यस महिनाको प्रारम्भमा आफ्नै राशिमा मंगल, द्वितीय भावमा सूर्य, बुध र शुक्र, तृतीय भावमा बृहस्पति, चतुर्थ भावमा शनिश्चर र केतु, नवम भावमा चन्द्रमा तथा दशम भावमा राहु ग्रहको उपस्थिति देखिन्छ । यस क्रममा १० गते भाग्येश शुक्रले तृतीय भाव पराक्रम स्थानमा, १२ गते सप्तमेश बृहस्पतिले चतुर्थ भावमा र २५ गते अष्टमेश मंगलले द्वितीय भाव धन स्थानमा प्रवेश गरी राशिपरिवर्तन गर्दैछन् ।
यस्तो ग्रह परिवेशमा तपाईंको राशिबाट द्वितीय धनस्थानमा रहेको सूर्यको प्रभावले तपाईंमा धनसम्पत्तिको सञ्चय गर्ने मानसिकता बन्नेछ, तर महिनाको अधिकांश समय अर्थात् ०७ गतेदेखि २८ गतेसम्म राशिस्वामी बुध अस्त अवस्थामा रहने हुँदा यो समय आर्थिक दृष्टिले बलियो देखिंदैन, दीर्घकालिक लगानी र कारोबारप्रति सचेतता अपनाउनु आवश्यक छ । महत्त्वाकाङ्क्षा राख्नाले निराशा हात लाग्नेछ, त्यसैले बढी रौसिनु हुदैन । शारीरिक तनाव र बोझलाई झेल्नसक्ने सामथ्र्य हुँदाहुँदै पनि पारिवारिक झैझमेला र समस्या बढ्नाले मन विचलित हुनसक्छ र पारिवारिक जीवनमा निराशापना देखिने सम्भावना छ, प्रेम जीवन र दाम्पत्य जीवनमा कलहको सम्भावना भएकाले घरायसी समस्या र परिवारजनका भावनालाई समेटेर अघि बढ्नु राम्रो हुनेछ । नोकरी र कार्यक्षेत्रमा सन्तोषजनक परिणाम प्राप्त हुनेछ । स्वास्थ्यतर्फ आँखा र मुखको क्षेत्र कमजोर छन् । बोलीमा पनि अङ्कुश लगाएकै बेस हुनेछ । खासगरी यस राशिका छात्रछात्राले परीक्षा वा प्रतिस्पर्द्धामा सफल हुन निरन्तर अध्ययन नगर्नाले हीनताबोधको सामना गर्नुपर्छ । गृहिणीहरूले राम्रो दाम्पत्यसुखको अनुभूति गर्नेछन्, विवाहयोग्य युवायुवतीको नयाँ सम्बन्ध बन्ने वा कुरा चल्ने समय छ । कर्मचारीहरूले कार्यक्षेत्रमा सफलता पाउनुका साथै बढुवा वा प्रशंसा पाउने समय छ भने व्यापारी व्यवसायीले दूरगामी लगानीका निमित्त समुचित निर्णय गर्न सक्नेछन् । यस महिना पर्ने ग्रहगत अनिष्टता दूर गर्न तपाईंले दुर्गा उपासना, शक्तिपीठको दर्शन वा महालक्ष्मीको पूजाआजामा ध्यान दिनु मुनासिब हुनेछ । सामान्यतया यस महिनाको ०६, ०७, ०८, १५, १६, १७, २४, २५ र २६ गतेको चन्द्रमा अशुभ हुनेहुँदा सचेत हुनु अनिवार्य छ ।
तुला
यस महिनाको प्रारम्भमा आफ्नै राशिमा सूर्य, बुध र शुक्र, द्वितीय भावमा बृहस्पति, तृतीय भावमा शनिश्चर र केतु, अष्टम भावमा चन्द्रमा, नवम भावमा राहु र बाह्रौं भावमा मंगल ग्रहको उपस्थिति देखिन्छ । यस क्रममा १० गते लग्नेश शुक्रले द्वितीय भाव धन स्थानमा, १२ गते बृहस्पतिले तृतीय भावमा र २५ गते सप्तमेश मंगलले आफ्नै राशि अर्थात् लग्नभावमा प्रवेश गरी राशिपरिवर्तन गर्दैछन् ।
यस्तो ग्रह परिवेशमा तपाईंको राशिमा सूर्य, बुध र राशिस्वामी शुक्रको युतिसम्बन्ध रहेकाले यो महिना उत्साहबर्द्धक र सकारात्मक समय रहने छ । आवश्यकताभन्दा बढी आत्मविश्वास र महत्त्वाकांक्षाको उदय हुनेछ, तर अहंकार र आडम्बरको भावना पनि विकसित हुनसक्छ । सरकारी काम र मुद्दा मामिलामा लाभ प्राप्त हुनेछ । सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्त्वपूर्ण जिम्मेबारी प्राप्त हुनसक्छ । छोटो दूरीको यात्रा हुने सम्भावना छ, जुन सुझबुझ र लगनशीलताका कारण फलदायक सिद्ध हुनेछ । सामाजिक सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्नु पर्नेछ । स्वास्थ्यस्थितिमा उतारचढाव आइरहने छ, त्यस्तै स्वास्थ्यस्थितिमा असर पर्ने वा परिवारका कुनै सदस्य अस्वस्थ हुने सम्भावना समेत छ, सचेतता अपनाउनु बेस हुने देखिन्छ । विशेष गरी यस राशिका छात्रछात्राले राम्रो उपलब्धी हासिल गर्ने समय छ, तर झैझगडा र विवादमा पछि हट्नु पर्छ, गृहिणीहरूमा चिन्ता र शंकाको प्राबल्य हुनाले दाम्पत्यकलहको सम्भावना देखिन्छ, कर्मचारीहरूले हाकिमको खप्की खाने समय छ अनि व्यापारीहरूले व्यवसाय विस्तारका लागि गरेको प्रयास सफल हुने देखिन्छ । अझ राम्रो नतिजा मिलोस् भन्ने उद्देश्यले तपाईंले हरेक सोमवार शिवालयमा आँकको फूल चढाउनु मुनासिब हुनेछ । सामान्यतया यस महिनाको ०१, ०८, ०९, १०, १७, १८, १९, २७, २८ र २९ गते तपाईंका लागि अशुभ रहने छ ।
बृश्चिक
यस महिनाको प्रारम्भमा आफ्नै राशिमा बृहस्पति, द्वितीय भावमा शनिश्चर र केतु, सप्तम भावमा चन्द्रमा, अष्टम भावमा राहु, लाभ स्थानमा राशिस्वामी मंगल तथा बाह्रौं भावमा सूर्य, बुध र शुक्रको उपस्थिति देखिन्छ । यस क्रममा १० गते सप्तमेश शुक्रले तपाईंको आफ्नै राशिमा, १२ गते पञ्चमेश बृहस्पतिले द्वितीय भाव धन स्थानमा र २५ गते राशिपति मंगलले बाह्रौं भाव व्यय स्थानमा प्रवेश गरी राशिपरिवर्तन गर्दैछन् ।
यस्तो ग्रह परिवेशमा बाह्रौं घरमा रहेको सूर्य, बुध र शुक्रको उपस्थितिले गर्दा तपाईंले यस अवधिमा क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु बेस हुनेछ । गलत निर्णयका कारण अकल्पनीय हानि हुनसक्छ, त्यसैले कुनै निर्णय लिनुपूर्व राम्रो सोचविचार गर्नु आवश्यक छ । उता यसै महिनाको २५ गते तपाईंको राशिस्वामी मंगलले समेत बाह्रौं भावकै यात्रा गर्ने भएकाले खर्चमा अचानक वृद्धि हुनेछ, जुवातास, लटरी र सट्टापट्टातर्फ नहौसिनु ठिक हुनेछ । धनमाल हराउने वा चोरी हुने सम्भावना पनि हुन्छ । मनमा कुविचार आउने छन् र दुर्जन, व्यभिचारी र फटाहाहरूसँग सङ्गत हुनसक्छ । प्रेम जीवन निरश हुनसक्छ । अनावश्यक यात्राको योग छ र यात्राका क्रममा झमेला व्यहोर्नु पर्ने हुन्छ । व्यवसायिक स्थितिमा गिरावट आउनसक्छ । व्यक्तिगत स्वास्थ्य पनि अनुकूल हुनेछैन । नातागोताका सदस्य एवं मित्रवर्गसँग सुमधुर सम्बन्ध कायम राख्नु आवश्यक छ, अन्यथा एकआपसमा तनाव उत्पन्न हुनसक्छ । यस राशिका छात्रछात्राले कडा मिहिनेत गर्नुपर्छ, गृहिणीहरूले अनावश्यक खर्चबाट जोगिनु राम्रो हुन्छ, कर्मचारीहरूले भने बुद्धिको सदुपयोग गर्नाले उपलब्धी नै हासिल गर्ने सम्भावना देखिन्छ तथा व्यापारव्यवसायमा संलग्नहरूले साझेदारीमा कुनै काम थाल्ने सम्भावना देखिन्छ । यस महिना अझ शुभफल बृद्धि होस् भन्ने उद्देश्यले सूर्यमन्त्रको जाप गर्ने वा सूर्यलाई दिनहुँ जल चढाउँदा राम्रो हुन्छ । यस महिनाको ०२, ०३, ०४, १०, ११, १२, १९, २०, २१, २९ र ३० गतेको चन्द्रमा अनिष्ट हुने भएकाले सचेतता उपयोगी हुनेछ ।
धनु
यस महिनाको प्रारम्भमा आफ्नै राशिमा शनिश्चर र केतु, षष्ठ भावमा चन्द्रमा, सप्तम भावमा राहु, दशम स्थानमा मंगल, लाभ स्थान अर्थात् राज्यस्थानमा सूर्य, बुध र शुक्र तथा बाह्रौं भावमा राशिस्वामी बृहस्पतिको उपस्थिति देखिन्छ । यस क्रममा १० गते लाभेश शुक्रले बाह्रौ. राशि अर्थात् व्यय स्थानमा, १२ गते राशिस्वामी बृहस्पतिले तपाईंको आफ्नै राशिमा र २५ गते भाग्येश मंगलले लाभ स्थानमा प्रवेश गरी राशिपरिवर्तन गर्दैछन् ।
यस्तो ग्रह परिवेशमा लाभ स्थानको सूर्यको प्रभावले शुभफलकै आधिक्यता रहने महिना छ । अनि यसै महिनाको १२ गते तपाईंको राशिमा राशिस्वामी बृहस्पतिको प्रवेश हुने भएकाले आगामी १३ महिनाको अवधि तपाईंका इच्छा र आकाङ्क्षा पूर्ण हुने समय रहने छन् भन्दा अत्युक्ति हुनेछैन । अब बहुप्रतीक्षित महत्त्वाकाङ्क्षा सिद्ध हुनेछन् । सरकारी ओहोदाका विशिष्ट व्यक्तिहरूको सहयोग जुटाउन सकिन्छ । सरकारी कामबाट फाइदा हुनेछ । थालेको काम छिटै सम्पन्न हुन्छ । स्वयं आफैंले वा जीवनसाथीले बढुवा÷प्रशंसा पाउने योग छ । नातागोताका सदस्यहरूबाट सहायता मिल्नेछ । यस समयमा गरिएका किनमेल र कारोबारहरू सफल हुनेछन् । करार र सम्झौताबाट लाभ मिल्नेछ । दाम्पत्य जीवन, घरायसी सुख, प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय हो । आय आर्जनका मार्गमा सुधार आउने छ । लामो यात्रा सुखद र सफलतम सिद्ध हुनेछ । तर पिता वा पितृतुल्य व्यक्तिको स्वास्थ्यस्थिति कमजोर बन्नेछ । प्रशासनिक व्यक्तित्वसँग टकराव बढ्ने सम्भावना देखिन्छ, अतः सतर्कता अपनाउनु जाति हुन्छ । यस राशिका छात्रछात्राले मनोरञ्जन र खेलवाडलाई नत्यागेमा पढाइमा कमजोरी देखिने खतरा छ, गृहिणीहरूले घरमा मांगलिक कार्य सम्पन्न गर्नेछन्, तर रिस र घमण्डमाथि नियन्त्रण गरेको जाति हुन्छ । त्यस्तै कर्मचारी र प्रशासकहरूले नचाहेको काममा खट्नु पर्ने वा दुर्गम स्थानमा सरुवा हुने त्रास देखिन्छ त्यस्तै व्यापारीहरूले धनधान्यबृद्धि गर्ने र नचिताएको ठाउँबाट लाभ प्राप्त गर्ने सम्भावना देखिन्छ ।
यस महिनामा ग्रहगत अनिष्टता हटाउन तपाईंले राशिमा बसेको शनिश्चर ग्रहको उपासनाका साथमा प्रतिदिन शमी वा पीपलको बृक्षको पूजा गर्नु उचित हुने देखिन्छ । खासगरी यस महिनाको ०४, ०५, ०६, १३, १४, २२, २३ र २४ गते चन्द्रमा अनिष्ट हुने भएकाले सचेत हुनु आवश्यक छ ।
मकर
यस महिनाको प्रारम्भमा पञ्चम भावमा चन्द्रमा, छैटौं भावमा राहु, भाग्य स्थानमा मंगल, कर्म स्थान अर्थात् दशम भावमा सूर्य, बुध र शुक्र, लाभ भावमा बृहस्पति एवं बाह्रौं भावमा राशिस्वामी शनिश्चरका साथमा केतु ग्रहको उपस्थिति देखिन्छ । यस क्रममा १० गते पञ्चमेश र कर्मेश शुक्रले लाभ भाव अर्थात् राज्यस्थानमा, १२ गते बृहस्पतिले बाह्रौं भावमा र २५ गते राज्येश मंगलले कर्मक्षेत्रमा प्रवेश गरी राशिपरिवर्तन गर्दैछन् ।
यस्तो ग्रह परिवेशमा तपाईंको दशम भावमा रहेको सूर्यको प्रभावले यो मिश्रित प्रभाव भएको महिना हुनेछ । यस अवधिमा अत्यन्त क्रियाशील र व्यस्त रहनु पर्नेछ । व्यापार र नोकरीका माध्यमबाट लाभ मिल्नेछ, हाकिम, मातापिता र वरिष्ठ व्यक्तित्वको सहयोग र सद्भाव मिल्नेछ । त्यस्तै मिहिनेत गरेमा नयाँ व्यवसाय वा रोजगारीको प्रबल सम्भावना छ, साथै गरीआएको काममा बढुवा वा प्र्रगति हुनेछ । तर बाह्रौं भावमा राशिस्वामी शनिश्चरका साथमा केतुको युति भएकाले आर्थिक पक्ष असन्तुलित रहने छ । दैनिक व्यवहार र घरायसी वातावरणमा भने उतारचढाव भइरहनेछ । स्वाभिमान र घमण्डका कारण केही समस्याहरू सिर्जना हुनसक्छन् । कार्यक्षेत्रमा अपमानित बन्नुपर्ने परिस्थिति सिर्जना हुनसक्छ । रहस्य, अध्यात्म, गूढविज्ञान र परामनोविज्ञानका विषयमा रूचि बढ्ने छ वा यी क्षेत्रको कुनै अनुभव प्राप्त हुनेछ । यो महिना छात्रछात्राले आफ्नै लापरवाहीका कारण कुनै महत्त्वपूर्ण अवसर गुमाउन सक्छन् । गृहिणीहरूमा मौसमी रोगको प्रकोप र चिडचिडेपना बढ्ने सम्भावना हुन्छ । कर्मचारीले तुजुक देखाउने वा जोखिम मोल्ने काम गर्नुहुँदैन । व्यापारीहरूले व्यवसाय विस्तारको प्रयास गर्दा राम्रो हुन्छ ।
यस महिना शुभफलमा आधिक्यता मिलोस् भन्ने उद्देश्यले दुर्गाकवचको पाठका साथमा राशिस्वामी शनिको उपासना गर्नु जायज हुनेछ । विशेषतः यस महिनाको ०६, ०७, ०८, १५, १६, १७, २४, २५ र २६ गते चन्द्रमा अनिष्ट हुनेहुँदा यी दिनमा यात्रा नगरेको जाति हुन्छ ।
कुम्भ
यस महिनाको प्रारम्भमा चतुर्थ भावमा चन्द्रमा, पञ्चम भावमा राहु, अष्टम भाव संकट स्थानमा मंगल, भाग्य भाव अर्थात् नवौं घरमा सूर्य, बुध र शुक्र, दशम भावमा बृहस्पति एवं लाभ भावमा राशिस्वामी शनिश्चरका साथमा केतु ग्रहको उपस्थिति देखिन्छ । यस क्रममा १० गते भाग्येश शुक्रले कर्मक्षेत्रमा, १२ गते लाभेश बृहस्पतिले लाभ स्थानमा नै र २५ गते कर्मेश मंगलले नवौं घर भाग्य स्थानमा प्रवेश गरी राशिपरिवर्तन गर्दैछन् ।
यस्तो ग्रह परिवेशमा तपाईंको राशिबाट भाग्य स्थानमा रहेको सूर्यको प्रभावले पिता, परिवार वा वंशकै मानसम्मान र प्रतिष्ठामा वृद्धि हुने महिना बनेको छ, कार्तिक महिना । अध्ययन अध्यापनमा रुचि बढ्नेछ, परीक्षा, प्रतियोगिता र प्रतिस्पर्द्धामा सफल भइने छ । विदेश यात्रा वा वैदेशिक प्रयोजनका कामबाट फाइदा हुनेछ । सन्तानले उन्नति÷प्रगति गर्नेछन्, सामाजिक वा परोपकारी काममा मन जानेछ । भाग्यले साथ दिनेछ, बढुवा, प्रशंसा वा प्रतिष्ठा मिल्नेछ । उच्च पदमा प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने देखिन्छ । धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ । विश्वासको वातावरण बन्नाले व्यावसायिक एवं रोजगारीका क्षेत्रमा सफलता आर्जन हुनेछ । धनार्जनका दृष्टिले राम्रो समय छ । यो महिना छात्रछात्राले राम्रो नतिजा हात पार्नेछन्, गृहिणीहरूले गहनागुरिया जोड्ने र भ्रमणपर्यटनको अवसर पाउने छन्, कर्मचारीले बढुवा वा प्रशंसा प्राप्त गर्नेछन्, व्यापारीहरूले पुरानो कर्जा चुक्ता गर्ने र नयाँ लगानीको अवसर पाउने सम्भावना छ । समग्रमा राम्रो समय छ, यद्यपि पिताको स्वास्थ्यस्थितिप्रति सचेत हुनु राम्रो हुन्छ ।
यस महिनामा हुनसक्ने सम्भावित जोखिममा कमी ल्याउन तपाईंले नियमित रूपले हनुमान चालिसाको पाठ गर्नु लाभप्रद रहने छ । सामान्यतया ०१, ०८, ०९, १०, १७, १८, १९, २७, २८ र २९ गते अन्य दिनका तुलनामा बढी नकारात्मक रहने संकेत छ ।
मीन
यस महिनाको प्रारम्भमा तृतीय भावमा चन्द्रमा, चतुर्थ भावमा राहु, सप्तम भाव प्रणय स्थानमा मंगल, अष्टम भाव अर्थात् संकट स्थानमा सूर्य, बुध र शुक्र, भाग्य स्थानमा राशिस्वामी बृहस्पति एवं कर्मक्षेत्रमा शनिश्चरका साथमा केतु ग्रहको उपस्थिति देखिन्छ । यस क्रममा १० गते अष्टमेश शुक्रले भाग्य स्थानमा, १२ गते राशिस्वामी बृहस्पतिले कर्म स्थानमा र २५ गते भाग्येश मंगलले अष्टम भावमा प्रवेश गरी राशिपरिवर्तन गर्दैछन् ।
यस्तो ग्रह परिवेशमा तपाईंको राशिबाट आयु र सङ्गट स्थान मानिने अष्टम भावमा रहेको सूर्यको प्रभावले यो महिना अध्यात्म, ध्यान र कसरतमा रुचि बढ्नेछ । यो महिना कष्ट र दुर्घटनाको मात्रा बढ्ने सम्भावना देखिन्छ, त्यसैले सवारी हाँक्दा, बाटो काट्दा वा हातहतियारको प्रयोग गर्दा सावधान हुनुपर्छ । व्यक्तिगत स्वास्थ्यस्थितिप्रति विशेष सचेत हुनुपर्छ, खानपान र आहारविहारको अनुशासन पालना गरेको जाति हुन्छ । आफूबाहेक अभिभावक वा परिवारको कुनै सदस्यको स्वास्थ्यमा समेत नकारात्मकता देखिन सक्छ । पारिवारिक विवादमा संयमता अपनाउनु राम्रो हुन्छ, किनभने मानसिक अशान्ति र बेचैनीको योग छ, नातागोताभित्रका सदस्यहरूसँग राम्रो व्यवहार पुर्याउन नसक्नाले विनाकारण झगडा र विवाद हुनेछ । शङ्कास्पद कारोबार र क्रियाकलाप सहभागी नबन्नु राम्रो हुनेछ, महत्त्वपूर्ण कागजातमा हस्ताक्षर गर्नुअघि राम्ररी पढ्नु बेस होला । यो महिना छात्रछात्राले परीक्षा र प्रतिस्पर्द्धामा सफलता पाउने छन्, गृहिणीहरूले झैझगडा र विवादबाट टाढा रहनु राम्रो हुन्छ, न्याय क्षेत्रका कर्मचारीले बढुवा वा प्रशंसा पाउने सम्भावना भए पनि अन्यले बेकारको उल्झनमा फँस्नु पर्नेछ, व्यापारीहरूले पुरानो सरकारी काम सुल्झाएर नयाँ ढंगले व्यवसायमा बृद्धि गर्ने आत्मबल प्राप्त गर्नेछन् ।
यस महिना देखिएको अशुभ प्रभावलाई न्यूनीकरण गर्न तपाईंले दिनैपिच्छे सूर्यलाई अर्घ्य दिनुका साथै नाङ्गा आँखाले उदाउँदो सूर्यको दर्शन गर्नु शुभ हुन्छ । सामान्यतया यस महिनाको ०२, ०३, ०४, १०, ११, १२, १९, २०, २१, २९ र ३० गते तपाईंका लागि अशुभ रहने छन् ।