शिशुलाई स्वस्थ र तन्तुरुस्त बनाउने सबैभन्दा उत्तम आहार भनेको नै आमाको दूध हो । शिशुलाई जन्मिएको ६ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्छ ।स्तनपान गर्नाले शिशुलाई मात्र नभई आमालाई पनि यसले लाभ हुन्छ । आमाको दूधले बच्चालाई धेरै रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता बढाउँछ भने स्तनपान गराउने आमालाई बाँजोपनको समस्याबाट बचाउँछ ।
कतिपयमा आमाको दूध बच्चाका लागि पर्याप्त हुँदैन भन्ने धारणा पाइन्छ । यदि बच्चाले १५ मिनेट जति लगातार दूध चुस्छ र एक डेढ घन्टासम्म सुत्छ वा खेल्छ भने बच्चालाई पर्याप्त दूध पुगेको मानिन्छ । तर केही अवस्थामा भने सुत्केरी आमाबाटै शिशुलाई दूध पुग्दैन । यस्तो अवस्थामा झोलिलो खानेकुराका साथ ज्वानोको झोल, विभिन्न सुप, दूध, नीमको रस, गेडागुडीको झोल आदि नियमित खानुपर्छ ।
साथै माछामासु, सागपात, फलफूलजन्य खानेकुराले पनि आमाको दूध वढाउछ । सुत्केरी आमाको दूधले अरु के खादा शिशुलाई पर्याप्त दूधले पुग्ने हुन्छ त ?
ज्वानोको झोल
५ ग्राम ज्वानो आधा लिटर पानीमा स्वादको लागि अलिकति नुन र घिउ राखी आधा हुने गरी उमालेर मनतातो भएपछि २/३ घण्टाको अन्तरमा दैनिक ५/६ पटक पिउनाले आमाको दूध पर्याप्त आउँछ ।
झोलिलो खाना खाने
कुनै पनि हरियो सागसब्जीको झोल बनाएर त्यसलाई मनतातो भएपछि खानाले आमाको दूध प्रसस्त हुने र शिशुलाई पर्याप्त हुने गर्दछ ।
दालचिनी र दूध
दालचिनीलाई पिसेर धुलो बनाई एक कप दूधमा आधा चम्चा दालचिनीको धुलो फिटेर दैनिक २ पटक पिउनाले बिस्तारै आमाको दूध बढ्दै जान्छ र बच्चालाई पुग्दो हुन्छ ।
जिरा, मह र दूध
आधा कप दूध र दुई चम्चा जिराको दाना उमालेर एक गिलास उमालेको पानीमा एक चम्चा महको मिश्रण बनाई नियमित २ पटक पिउनाले सुत्केरी आमाको दूध प्रसस्त हुन्छ ।
साग र दूध
राम्ररी पखालेको मेथी वा पालुङ्गोको सागलाई दुई कप दूधमा उमालेर सुत्केरी आमालाई नियमित ख्वाएमा यसले प्रसस्त दूध आउने र बच्चालाई पुग्दो हुन्छ । यसले आमाको स्वास्थ्यमा पनि लाभ गर्छ ।