ध्रुवसागर शर्मा (रासस), म्याग्दी।
म्याग्दीका निर्मल पुर्जाले आठ हजार मिटरभन्दा अग्ला संसारका १४ हिमाल चढेर विश्व कीर्तिमान कायम गरेका छन्।
सोमबार चीनको तिब्बतमा अवस्थित सिसापङ्मा हिमालको चुचुरोमा पुगेसँगै पुर्जा सात महीनामा विश्वका सबै आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्ने पहिलो पर्वतारोही हुन सफल भएका हुन्।
सोमबार उनले विश्वकै १४औं अग्लो ८,०२७ मिटरको सिसापङ्मा हिमाल आरोहण गरेका हुन्। चिनियाँ सरकारले सन् २०१९ सम्मलाई सिसापाङ्मा हिमाल आरोहण रोके पनि विश्व रेकर्डका लागि गरिएको अनुरोधलाई स्वीकार गर्दै विशेष अनुमति दिएको थियो।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा जन्मिएका पुर्जाले गत वैशाख १० गते अन्नपूर्ण गाउँपालिकाकै नारच्याङमा अवस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालबाट आरोहण शुरू गरेका छन्।त्यसलगत्तै म्याग्दीमै रहेको सातौँ अग्लो धवलागिरि हिमालको (८,१६७ मि) आरोहण गरेपछि थप हिमाल आरोहणमा निस्किएको उनका आफन्त रेमन पुर्जाले जानकारी दिए।
पुर्जाले धवलागिरि हिमालमा बिना अक्सिजन आरोहण गरेका थिए। उनले विश्वकै अग्लो सगरमाथा, केटु, कञ्चनजङ्गा, ल्होत्से, मकालु, च्होयो, मनास्लु, नाङ्गा पहाड, गशेरब्रुम, ब्रोड पिक, गशेरब्रुम दोस्रोको आरोहण गरेका छन्।
आरोहण गरेका १४ अग्ला हिमालमध्ये आठ नेपालमै पर्दछन्। त्यस्तै, अरू पाकिस्तान र चीनमा पर्दछन्। हालसम्म विश्वमा कुनै पनि आरोहीले छोटो समयमा दुई दर्जन हिमालको आरोहण गरेको विश्वमा नै रेकर्ड नभएको उल्लेख गरिएको छ।
मासिक १४ लाखसम्म नेपाली तलब हुने जागिर छोडेर आरोहणमा होमिएका म्याग्दी अन्नपूर्ण गाउँपालिका–४ दानाका पुर्जाको प्रोजेक्ट पोसिबल’ परियोजना नाम दिइएको थियो।
आरोहणको क्रममा विभिन्न हिमालमा अलपत्र परेका आरोहीलाई उद्धार गरेर संसारभरि चर्चा कमाउन सफल भएका छन्।आरोहणमा पुर्जालाई मिग्मा डेभिड शेर्पा, लाक्पा शेर्पा, तेन्जिङ शेर्पालगायत शेर्पाको टोलीले सघाइरहेको छ। ३५ वर्षीय निर्मल ‘स्पेशल फोर्स’मा छानिने पहिलो गोर्खाली हुन्।
मार्च २०१९ मा ब्रिटिस आर्मीको जागिर छाडेर हिमाल आरोहण अभियान थालेका पुर्जाले आफ्नै जन्म जिल्लामा रहेको आठ हजार मिटर अग्लो धवलागिरि र अन्नपूर्ण आरोहण गर्ने पहिलो म्याग्देलीको उपाधिसमेत जितेका छन्।