ज्ञानेन्द्र मल्ल बने नेपाली राष्ट्रिय टिमका कप्तान

काठमाडौं

नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिएको छ। ज्ञानेन्द्रले खेलका आगामी सिजनदेखि कप्तानको जिम्मेवारी सम्हाल्ने क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिएका छन्। यसअघि उनी टिमका उपकप्तान थिए।

दश वर्षदेखि टोलीको कप्तानी गर्दै आएका पारस खड्काले राजीनामा दिएपछि ज्ञानेन्द्रलाई क्यानले नयाँ कप्तान नियुक्त गरेको हो। गत असोज २७ गते आइसिसीले क्यानलाई ससर्त निलम्बन फुकुवाको निर्णय गरेलगत्तै पारसले कप्तानी छाड्ने घोषणा गरेका थिए।नेपालले निकट भविष्यमा खेल्ने प्रतियोगिता मंसिर १५ देखि नेपालमा हुने तय भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) हो। सो प्रतियोगितामा अब ज्ञानेन्द्रले कप्तानी गर्नेछन्।

ज्ञानेन्द्र अनुभवी खेलाडी हुन् भने पारसको अनुपस्थितिमा उनले राष्ट्रिय टिमको कप्तानी गरिसकेका छन्। पछिल्लो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) मा ज्ञानेन्द्रले आफ्नो टिम ललितपुर प्याट्रिओट्सलाई च्याम्पियन बनाएका थिए।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार