डिल्लीबजार कारागार बन्यो ‘भिआइपी कैदीको अखडा : महरालाई पूर्वआइजिपी ठकुरीसँगै राखियो !

– प्रकाश ढकाल

काठमाडौँ – सोमबार पूर्वसभामुख कृष्णबहादुर महरालाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएसँगै डिल्लीबजार कारागारमा ‘भिआइपी कैदी’को संख्या चार पुगेको छ। विभिन्न अभियोगमा थुनामा पर्ने ठूला व्यक्तिहरुलाई थुनामा राख्दै आएको डिल्लीबजार कारागारमा नेपालको इतिहासमै पहिलोपटक राज्यको पाँचौँ ठूलो पदमा आसिन व्यक्ति जेलमा पुगेका छन्।

महरालाई पुर्‍याउनुअघि डिल्लीबजारमा कैलालीबाट सांसद पदमा निर्वाचित रेशम चौधरी, पूर्वप्रहरी महानिरीक्षक रमेशजंग ठकुरी र पूर्व डिआइजी रञ्जन कोइराला रहेका थिए। कारागार प्रमुख अरुण पोखरेलले देश सञ्चारसँग भने, ‘महराजीलाई ल्याइएसँगै यहाँ भिआइपी कैदीको संख्या चार पुगेको छ। हामीले उहाँहरुलाई अलि बढी चासो दिने गरेका छौँ।’

कैलाली–२ निर्वाचित रेशम चौधरी संविधान जारी हुने बेला २०७२ भदौ ७ गते टिकापुरमा एसएसपी, नाबालकसहित आठजनाको निर्ममता पूर्वक हत्या गरेको अभियोगमा दोषी ठहर भइ जेल जीवन बिताइरहेका छन्। उनलाई कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ। त्यस्तै पूर्व महानिरिक्षक ठकुरी सुडान घोटाला काण्डमा दोषी ठहर भएपछि एक वर्षअघि आत्म समर्पण गरेर जेल पुगेका थिए।

सर्वोच्च अदालतले एकैपटक चारजना आइजिपीलाई भ्रष्टाचारी ठहर गरे पनि ठकुरी फरार थिए। जेल प्रशासनका अनुसार ठकुरी अझै एक वर्ष त्यहीँ रहनेछन्। पूर्व डिआइजी कोइराला श्रीमतीलाई जलाएर हत्या गरेको अभियोगमा जेल जीवन बिताइ रहेका छन्। उनलाई काठमाडौँ जिल्ला अदालतले १२ वर्ष कैद सजाय सुनाएको छ।

संसद सचिवालयकै कर्मचारी रोशनी शाहीलाई उनको कोठामै पुगेर जबरजस्ती करणीको प्रयास गरेको अभियोगमा पक्राउ परेपछि महरालाई सोमबार काठमाडौँ जिल्ला अदालतले पुर्पक्ष थुनामा पठाएको हो। जिल्ला मुख्य न्यायाधीश सुर्दशनराज पाण्डेको इजलासले प्राप्त प्रमाणका आधारमा मुद्दामा पछि ठहरे बमोजिम हुने गरी तत्कालका लागि थुनामा पठाउन आदेश दिएको छ।

कारागार प्रमुख पोखरेलका अनुसार पूर्वसभामुख महरालाई अरु कैदी जस्तै सामान्य र सामूहिक रुपमै राखिएको छ। भिआइपी भनेर विशेष व्यवस्था जेलभित्र नभएकाले सबैलाई समान व्यवाहार हुने गरी राखिएको उनको भनाइ छ।

महरालाई पूर्व आइजिपी ठकुरी रहेको ‘क’ ब्लकमै राखिएको छ। पोखरेलले भने, ‘उहाँलाई पूर्व आइजिपी राखिएको ‘क’ ब्लकमा राखेका छौं। अरु दुई जना ‘ख’ ब्लकमा हुनुहुन्छ।’ अदालतको आदेशपछि बेलुका साढे पाँच बजे महरालाई करागार पुर्‍याइएको थियो। पुर्‍याउनेबित्तिकै उनको स्वास्थ्य परीक्षण गरिएको र अवस्था सामान्य रहेको पोखरेलले जानकारी दिए।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार