– गृष्मा राजभण्डारी , काठमाडौं ।
राज्यको प्रमुख तीन अंग मध्येको एक महत्वपूर्ण व्यवस्थापिकाको प्रमुख पद सभामुख । त्यही पदमा सत्तारुढ दल नेकपाका नेताका तर्फबाट नेतृत्व गरिरहेका थिए कृष्णबहादुर महराले ।
तर ‘लामो समयदेखि सम्बन्ध भएकी’ भनिएकी आफ्नै कार्यालय संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीमाथि ‘जबरजस्ती करणीको उद्योग’को आरोप लागेपछि महराले पद मात्र गुमाएनन् अन्ततः डिल्लीबजार कारागार नै पुग्नु परेको छ ।
असोज १२ गते राति आफ्नो काठमाडौं तीनकुनेस्थित डेरामा आएर महराले बलात्कार गर्न खोजेको र नमान्दा कुटपिट गरेको भन्ने शाहीको उजुरी पछि असोज १९ गते उनी सभामुख निवास बालुवाटारबाटै पक्राउ परेका थिए ।
प्रहरीले नियन्त्रण गरेयताको एक महिना महराका लागि निकै सकसपूर्ण भएको थियो नै त्योभन्दा ठूलो ‘झट्का’ त्यतिबेला लाग्यो जब जिल्ला अदालत काठमाडौंले मुद्दाको पूर्पक्षकै लागि कारागार बस्नुपर्ने फैसला गरिदियो ।
अदालतको त्यही आदेशका कारण उनी अहिले डिल्लीबजार खोरमा विभिन्न अपराधको सजायँ भोगिरहेकाहरुसँग दिन कटाउँदैछन् ।
बिरामी भएको भन्दै प्रहरी हिरासत छल्न महराले नर्भिक अस्पताल प्रयोग गरेका थिए । चार दिन बाहेक अरु समय सुबिधासम्पन्न नर्भिक अस्पतालमा बसेरै उनले प्रहरी हिरासत छले । तर अदालतले नै डिल्लीबजार कारागार पठाउन लिखित आदेश दिएपछि अवज्ञा गर्ने अवस्था उनीसँग रहेन । र लुखुरलुखुर प्रहरीको भ्यानमा चढे र सोमबार साँझ डिल्लीबजार खोरमा भित्रिए ।
थुनछेक बहस चल्दाका तीन दिनसम्म जिल्ला अदालत काठमाडौंमा समय कटाउन उनलाई निकै सकस भएको देखिन्थ्यो ।
बलात्कारको अभियोग भएकाले उनको थुनछेक बहस बन्द इजलाशमा भयो । जसका कारण सञ्चारकर्मीसमेतलाई इजलाशमा प्रवेश बन्द थियो ।
यद्यपि, इजलाशको कोठा बाहिरबाट भने महरालाई प्रष्ट देख्न सकिन्थ्यो । जहाँबाट महराको गतिविधि नियाल्न सकिन्थ्यो ।
उनी कहिले आफनो साथमा रहेका आफन्तसँग त कहिले आफना दुई छोरा निर्मल र राहुलसँग भलाकुसारी गरिरहन्थे । बेला बेलामा शौचालय जाने क्रममा उनी बाटोमा रहेका शुभचिन्तक र चिनेजानेका ब्यक्तिसँग सामान्य कुरा गर्दथे ।
उनमा कहिले छटपटाहट देखिन्थ्यो भने कहिले शान्त अवस्था । आफ्ना पक्ष र विपक्षमा कानुन व्यवसायीहरुले इजलाशमा राखेको तर्क उनी ध्यानपूर्वक सुनिरहन्थे । कहिले न्यायाधीशको मुखमा त इजलाशबाट हुने प्रतिप्रश्नमा उनको ध्यान खिचिन्थ्यो ।
अदालत आउँदा जाँदा होस् वा सरकारी वकीलको कार्यालयमा आउँदा जाँदा महरा क्यामेराबाट बच्न खोज्दथे । आफुलाई क्यामेराले फलो नगरोस् भन्ने चाहना उनको हरदम भैरहन्थ्यो ।
तर क्यामेरापर्सनहरु भने महराको एक/एक क्षणको तस्वीर आफ्नो क्यामेरामा कैद गर्न तँछाड मँछाड गरिरहेका हुन्थे । इजलासबाट निस्कँदा क्यामराबाट बच्न उनी शीर निहुराइरहन्थे ।
अर्को दृष्य, महरा अदालत आउँदा र जाँदा उनलाई उनका स्वकीय सचिव प्रमोद शर्माले कहिल्यै छाडेनन् । शर्माले सँधै महराको हात समाएरै प्रहरीको गाडीबाट ल्याउने लैजाने गर्दथे ।
कार्तिक १८ गते दुबै पक्षबाट थुनछेक बहस सकाएपछि अदालतले पक्कै पनि धरौटीमा छाड्छ भन्ने आशामा रहेका महरा, उनका दुई छोरा र शुभचिन्तक त्तिबेला चित् खाए जब अदालतले पूर्पक्षका लागि करागार नै बस्नेपर्ने निर्णय सुनाइदियो ।
त्यसपछि भक्कानिएका महराको खुट्टामा परे उनका दुई छोरा । तीन बाबु छोराले केहिबेर एकापसमा दुःख साटे । केही सल्लाह गरे । अनि महरा मलिन मुहार लगाउँदै इजलाश कक्षबाट बाहिरिए । प्रहरी भ्यानमा पसे र लागे डिल्लीबजार सदरखोरतर्फ ।