प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरेर भारतले नक्सा छापेको बताएका छन्। भारतले नेपालका भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक नयाँ राजनीतिक नक्सामा समावेश गरेपछि नेपालमा विरोध भइरहेको छ। सरकारले सीमा मिचिएकोबारे अध्ययन गर्न पनि समिति बनाउने निर्णय गरिसकेको छ। तर देउवाले ओलीसँग सल्लाह गरेरै भारतले नक्सा जारी गरेको दाबी गरेका छन्। पोखरामा शनिबार भएको चुनावी सभामा सभापति देउवाले ओलीको राष्ट्रवाद कालापानीमा घुँडा टेकेको पनि बताउँदै उनले भने, ‘ओलीले राष्ट्रवादका नाममा जनतालाई उल्लु बनाएर पहिले चुनाव जितेको होइन? ओलीको राष्ट्रवाद अहिले कालापानीमा घुँडा टेकेको छ,’ ‘ओलीको राष्ट्रवाद कालापानीमा लम्पसारवाद भएको छ। ओली राष्ट्रवादी पनि होइन।’
भारतले प्रधानमन्त्री ओलीसँग सल्लाह गरेर नक्सा छापेको आरोप देउवाको छ।
उनले भने, ‘भारतले ओलीसँग सल्लाह गरेर नक्सा छापेको हो। ओलीसँग सल्लाह नगरी भारतले नक्सा छाप्नै सक्दैन,’ ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको हो। सन्धीमै महाकाली पूर्व नेपाल उल्लेख छ। महाकालीको पानी पनि आधा हक लाग्छ।’ ओली सरकारले जनताका आँखामा छारो हाल्ने काम गरिराखेको आरोप लगाउँदै उनले अगाडी भने, ‘यिनीहरू राष्ट्रवादी होइनन, लम्पसारवादी हुन,’ ‘जनताका आँखामा छारो हानेका छन्।’
ओली सरकारले भ्रष्टाचार बढाएको पनि उनले बताए। ‘हर ठाउँमा भ्रष्टाचार बढेको छ। सरकारले अनावश्यक कर बढाएको छ,’ उनले भने, ‘यतिमात्र होइन, संवैधानिक परिषदलाई शाही आयोगजस्तो बनाउँदैछ। कठपुतली बनाउन खोजिँदैछ।’ कास्की निर्वाचन क्षेत्र नम्बर २ मा मंसिर १४ गते हुने चुनावबाट सरकारका पक्षमा जनता छैनन् भन्ने सन्देश दिन पनि उनले मतदातालाई आग्रह गरेका छन्। ‘यो महत्वको चुनाव हो। यसले सरकार बनाउने त होइन। सरकार अलोकप्रिय भइराखेको छ भनेर देश र अन्तर्रा्ष्ट्रिय जगतमा मेसेज दिने हो,’ उनले भने, ‘सरकार अलोकप्रिय भइसक्यो भनेर उपनिर्वाचनबाट देखाउनुपर्छ। उपनिर्वाचन सरकारको पक्षमा जनमत छैन भन्ने देखाउने ऐना हो।’
ओली सरकारले उद्योगी, होटल व्यवसायीलाई पनि कर बढाएर दुस्ख दिइराखेको उनले आरोप लगाए। ‘पोखराका दाजुभाइ दिदीबहिनीहरू सरकारले होटल र उद्योगपतिलाई कर नै कर लगाइदिएको छ,’ उनले भने, ‘यति कर बढाएको छ। कर बढाएको खिलापको चुनावबाट मेसेज दिनुपर्छ।’ सरकारले उपभोक्ता समितिका नाममा लुटतन्त्र मच्चाएको उनले बताएका छन्। ‘उपभोक्ता समितिका नाममा लुटतन्त्र भएको छ। भ्रष्ट्राचार र कर बढाएको छ,’ उनले भने, ‘हाम्रा उम्मेदवारलाई जिताए सरकारविरूद्ध मेसेज जान्छ। जवाफ हुन्छ।‘
खेमराज पौडेललाई पहिलोपटक पार्टीले न्याय गरेको बताएका देउवाले मत दिएर जिताउँदै न्याय दिन माग गरे। ‘पार्टीले पौडेलजीलाई न्याय र्गयो। अब न्याय गर्ने पालो जनताको हो,’ उनले भने, ‘पार्टीका साथीहरूले अहोरात्र खटिएर जिताउनुपर्नेछ।’ देउवासहित कांग्रेसका शीर्ष नेता शुक्रबारदेखि चुनाव केन्द्रीत कार्यक्रममा सहभागी भइराखेका छन्। बरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरू शेखर कोइराला, मिनेन्द्र रिजाल, गगन थापालगायत नेता चुनावी सभामा सहभागी भएका छन्।