लन्डन ।
चलचित्र ‘शुभलभ’ बेलायतमा प्रदर्शन हुने भएको छ । निर्देशक सन्तोष लोहनी चलचित्र‘शुभलभ’ लिएर बिहिबार बिहान लन्डन उत्रिएका छन् । उनलाई लन्डनस्थित हिथ्रो विमानस्थलमा समाजसेबी गोकर्ण बस्नेत लगायतले स्वागत गरेका थिए । नेपालमा सुन्दर पर्यटकीय गन्तव्यमा छायांकन गरिएको चलचित्र ‘शुभलभ’को शो नेपालमा प्रदर्शन भए संगै अब बेलायतका विभिन्न सहरहरुमा पनि हुने भएको हो ।
‘शुभ लभ’ लोहनीको निर्देशन रहेको दोस्रो चलचित्र हो । यसअघि उनले ‘नारी’ फिल्म निर्देशन गरेका थिए । महिलाको कथामा आधारित ‘नारी’ बनाएका लोहनीले प्रेमकथामा आधारित ‘शुभ लभ’ बनाएका छन् ।
यसैबिच चलचित्र ‘शुभलभ’ युरोपका विभिन्न देशमा पनि प्रदर्शन गरिने भएको हो । प्रेम कथामा आधारित ‘शुभलभ’ यूकेमा ६ स्थान, जर्मनीमा ३, बेल्जियममा ३, पोर्चुगलमा ५, नर्वे, फिनल्यान्ड र स्पेन लगायत स्थानमा प्रदर्शन गर्ने उनले बताए । निर्देशक लोहनीका अनुसार चलचित्र ‘शुभलभका लाइन प्रोडीउसर प्रकाश कडरिया युरोप निबासी भएका कारण पनि युरोपमा सबैभन्दा व्यापक प्रदर्शनको रुपमा लिइएको छ ।
बुद्ध इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता धर्मराज सुवेदी हुन् । चलचित्रमा हरिहर अधिकारी र नवनायिका कृस्टिन पौडेलको मुख्य भूमिका छ ।चलचित्रमा पुराना कलाकार सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र, रविन्द्र झा, प्रदिप बास्तोला, अनुज पाण्डे, सूर्या थापा मुख्य भूमिकामा छन् । प्रेम कथामा आधारित चलचित्रमा दर्शकहरू कमेडिबाट पनि भरपुर आनन्द लिन सक्ने छन् । हिमाल, तातोपानी कुण्ड, गौतम बुद्धको जन्मस्थल लुम्बिनी, देवघाट, पोखरालगायत देशका विभिन्न मनोरम स्थलमा फिल्म सुटिङ भएकाले यसले पर्यटक तान्ने निर्देशक लोहनीको भनाइ छ।
लन्डन नेपाल न्यूज संगको टेलिफोनमा उनले भने अहिले ‘शुभ लभ’ लिएर युरोप आउनुका दुई कारण छन् । एक, नेपाली चलचित्रको व्यापार प्रवद्र्धन, प्रचारप्रसार र नेपाल भ्रमण वर्ष २०२० को प्रचार पनि हो । अर्काे कारण, नयाँ फिल्मका लागि लोकेसन र कलाकार छान्नु पनि मुख्य उद्देश्य रहेको लोहनीले सुनाए ।बिदेशमा फिल्म प्रदर्शन गर्दा नेपाल भ्रमण वर्षलाई सहयोग पुग्ने पनि उनको विश्वास छ ।