– रबिना बोहरा, बागलुङ ।
बागलुङको कुश्मिसेरामा पिकअप जीप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । जैमिनी नगरपालिका १ कुश्मिसेराको टारस्थित डाङ्गेपानी भन्ने ठाउँमा ध १ ज २०७ नम्बरको पिकअप जीप दुर्घटना हुँदा घाइते भएका मध्ये चारको अवस्था गम्भीर छ ।
घाइते हुनेहरुमा धौलागिरी पोलिटेक्निकल ईन्स्टिच्युट बलेवाका विद्यार्थी र शिक्षक रहेका छन् । उनीहरु सबै बरेङ गाउँपालिकाको बाराकोटमा पशु स्वास्थ्य शिविर गरेर फर्किने क्रममा पिकअप दुर्घटना भएको कुश्मिसेरा प्रहरी चौकीका प्रमुख अमृत मगरले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका मध्ये अन्दाजी २० बर्षका जुम्लाकी उमा उपाध्याय, धनगढीकी डिलिसा सिंह ठकुरी, पर्वतकी प्रमिला परियार र सर्लाहीका पृथ्वीनारायण साहको अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ ।
दुर्घटना हुनासाथ कुश्मिसेरा प्रहरी र स्थानीयहरुले घाइतेहरुलाई तत्काल उद्दार गरी कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरी धौलागिरी अञ्चल अस्पताल बागलुङ ल्याइएको छ ।
गाडी तिब्र गतिका कारण घुम्तीमा मोड्न नसक्दा अनियन्त्रीत भएर दुर्घटना भएको यात्रुहरुले बताएका छन् । गाडी दुर्घटना भएर सडकको भित्तापट्टी पल्टिएको छ भने चालक फरार रहेका छन् ।