अछाम|
मंसीर १६ गते छाउगोठमा मृत्यु भएकी अछामको साँफेबगर नगरपालिका–३ सिद्देश्वरकी २१ वर्षीया पार्वती बुढाका जेठाजुलाई प्रहरीले पक्राउ गरेको छ । पार्वतीका जेठाजु छत्र राउतलाई आज पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको अछामका प्रहरी प्रमुख, डीएसपी जनकबहादुर शाहीले जानकारी दिए ।
उनले प्रहरी प्रधान कार्यालय र सरोकारकावाला निकायसँगको छलफलपछि जेठाजु राउतलाई पक्राउ गरेको जानकारी दिए । मुलुकको प्रचलित कानूनले महिनावारीको समयमा छाउगोठमा बसाउनुलाई गैरकानुनी मान्छ । अहिलेसम्म कानून बने पनि कार्यान्वयन हुन सकेको थिएन । तर, १६ मंसीरमा अछाममा छाउगोठमै २१ वर्षीया पार्वतीले ज्यान गुमाएपछि पहिलोपटक प्रहरीले कानून कार्यान्वयनमा अग्रसरता देखाएको छ ।
मुलुकी अपराध संहिताको दफा १६८ को उपदफा ३ मा ’महिलाको रजश्वला भएको वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा कुनै किसिमका भेदभाव, छुवाछुत र अमानवीय व्यवहार गर्नु गराउनु हुँदैन’ भनिएको छ ।सो दफा अनुसार छाउगोठमा बस्नु पनि दण्डनीय हो । परिवारका सदस्यहरूले जाहेरी नदिए पनि प्रहरीले आफ्नो प्रतिवेदनकै आधारमा पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।