अनशन बस्‍न ‘लिपुलेक’ हिँडेको टोली किन कालापानी नपुगदै फर्कियो ?

दार्चुला।

भारतले कालापानी क्षेत्रलाई आफ्नो नक्सामा पारेको विरोधमा अनशन बस्न ‘लिपुलेक’ हिँडेको अनशन टोली कालापानी नजिकैबाट फर्किएको छ।स्वास्थ्यमा समस्या देखिएपछि केएन बस्यालसहितको टोली कालापानीबाट करिब १३ किलोमिटर दक्षिणबाटै फर्किएको हो।बस्यालसहित सेफर्ड लिम्बू र रमिता बलामीको टोली व्यास गाउँपालिका १ गागाबाट फर्किएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी दिपेन्द्र शाहीले जानकारी दिए।

दार्चुला खलंगाबाट गत मंसिर १३ गते अनशनका लागि लिपुलेक जान भनी हिँडेको टोली कालापानीबाट १३ किलोमिटर दक्षिण र लिपुपासबाट करिब ३२ किलोमिटर दक्षिणतिरबाटै फर्किएको हो।स्वास्थ्यमा समस्या आएपछि उनीहरूलाई फिर्ता जान आग्रह गरिएको दार्चुला प्रहरी प्रमुख शाहीले बताए। उनले अनशन टोली आइतबारसम्म खलंगा आइपुग्ने पनि बताए।

गलत तथ्यांकले बितायो केही सञ्चार माध्यमले गलत सूचना प्रवाह गर्दा कैयौं भ्रम सिर्जना गरिएकाले अनशन टोलीलाई पनि समस्या भएको हुन सक्ने पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिह धामीले बताए।लिम्पियाधुरा, लिपुलेक, लिपुपास र कालापानी अलग अगल भएको, ३ हजारदेखि ६१८० मिटरको उचाइमा ती स्थानहरू रहेका तथा कालापानीको छेउबाट उत्तरतिर नेपालीलाई प्रवेशै नभएको जानकारी नहुँदा अनशन टोली ‘लिपुलेक’ जान हिँडेको हुनुपर्ने अध्यक्ष धामीको भनाई छ।

व्यास गाउँपालिका १ छाङरु पुग्ने सहज बाटो नै छैन। सो क्षेत्रमा अहिले (हिउँदमा) कोही नबस्ने र कालापानी क्षेत्रमा नेपालीलाई प्रवेश नहुने जानकारी नपाउँदा अनशन टोलीले दुःख पाएको उनको भनाई छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार