गोली हान्ने र कर्फ्‍यु लगाउने गरि के के भयो कोहलपुरमा ?

काठमाडौं- राजधानीबाट प्रकाशित सोमबारका राष्ट्रिय दैनिक अखबारहरुले बाँकेको कोहलपुरमा उत्पन्न भएको तनाव र गौरिका सिंहले सागमा तीन स्वर्ण जितेको विषयलाई मुख्य समाचार बनाएका छन् ।

आजको अन्नपूर्ण पोस्ट्ले स्वर्णमा ह्याट्रिक शीर्षक दिएर गौरिकाको तस्बिरसहितको खबर प्राथमिकताका साथ छापेको छ भने कोहलपुरमा भएको तनावलाई मुख्य समाचार बनाएको छ । कलिला गोडामाथि जब ट्रक गुड्यो शीर्षक दिएर उसले खबर लेखेको छ ।

यस्तै कान्तिपुर दैनिकले पनि कोहलपुर घटनालाई मुख्य समाचार बनाउँदै सडकमै छुटे जुत्ता शीर्षकमा खबर छापेको छ ।

बाँकेमा आइतबार स्कूल जाँदै गरेकी एक बालिकालाई ट्रकले किचेपछि उनका दुबै खुट्टा गुमेका छन् । विरोधमा उत्रिएका साथी, शिक्षक र स्थानीयमाथि प्रहरीले उल्टै दमन गर्दा कोहलपुर तनावग्रस्त बनेको छ ।

पौडीमा सनसनी मच्चाएकी गौरिका सिंहले सागको १३ औं संस्करणमा तीन स्वर्ण जित्दै इतिहास रचेको विषयलाई पनि कान्तिपुर प्राथमिकताका साथ छापेको छ । गौरिका सागको इतिहासमा तीन स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बनेकी छिन् ।

नागरिक दैनिकले पनि गौरिकाले रचिन इतिहास शीर्षकमा खबर छापेको छ भने कोहलपुरमा प्रहरी र स्थानीयबीच भएको झडपलाई मुख्य समाचार बनाएको छ । प्रहरीको गोली लागेर २० जना घाइते भएका छन् भने कोहलपुरमा कर्फ्‍यु लगाइएको छ ।

नयाँ पत्रिकाले भने फेवा तालको जमिन अतिक्रमणको विषयलाई मुख्य समाचार बनाएको छ । फेवा किनारका संरचना ६ महिनामा भत्काउन सर्वोच्चको आदेश, २० महिनासम्म सरकारले रेखांकनसमेत गरेन शीर्षकमा खबर लेखेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार