विश्वको तापक्रम वृद्धिमा ह्रास -ओजोन तह भरिदै

वाशिङ्टन डीसी (अमेरिका)।

ओजोन तहमा देखिएको प्वाल पुरिने क्रममा छ । सन् १९८२ मा पहिलोपटक देखिएको ओजोनको प्वाल अहिलेसम्मकै सानो बनेको अमेरिकी खगोल तथा अनुसन्धान संस्था (नासा)ले केही समयअघि बताएको थियो । ओजोन तहको विनाश रोक्न सन् १९८७ मा ल्याइएको मोन्ट्रेअल मापदण्डले ओजोन तहको सुधारमा सहयोग पुर्‍याएको हो । गत अक्टोबरमा नासाले सार्वजनिक गरेको प्रतिवेदनले ओजोन तहको प्वाल पुरिँदै गएको तर पूर्णरूपमा समस्या भने समाधान नभइसकेको बताएको थियो ।

हालै सार्वजनिक भएको नयाँ अनुसन्धानले मोन्ट्रेअल मापदण्डले विश्वको तापक्रम वृद्धि सुस्त गर्न पनि महत्त्वपूर्ण भूमिका खेलेको देखाएको छ । इन्भाएरोमेन्टल रिसर्च लेटर्सले गत साता सार्वजनिक गरेको अध्ययनको प्रतिवेदनमा वैज्ञानिकहरूले ओजोन तहका लागि हानिकारक मानिएको क्लोरोफ्लोरो कार्बन उत्सर्जनमा कमी आएसँगै विश्वको तापक्रम वृद्धि पनि सुस्ताएको उल्लेख गरेका छन् । उक्त मापदण्ड लागू नभएको भए पृथ्वीको तापक्रम १ डिग्री सेल्सियसले बढी हुने उनीहरूले बताएका छन् । तर, क्लोरोफ्लोरो कार्बन मात्र विश्वको तापक्रम वृद्धि सुस्ताउने कारण भने नरहेको उनीहरूले उल्लेख गरेका छन् ।

त्यस्तै हालै प्रकाशित अर्को प्रतिवेदनले मोन्ट्रेअल मापदण्ड नभएको भए आर्कटिक सागरमा पनि अहिले भएको जति बरफ नरहने देखाइसकेको छ । अहिले देखिएको क्लोरोफ्लोरो कार्बनको उत्सर्जनको कमी स्थायी हुनेमा पनि वैज्ञानिकहरूले आशंका व्यक्त गरेका छन् । गत वर्ष गरिएको एक अध्ययनमा एशियाबाट क्लोरोफ्लोरो कार्बनको उत्सर्जन बढ्दो क्रममा रहेको देखाएको थियो । एजेन्सी

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार