लण्डन ।
बेलायतकी ७३ वर्षीया एक बृद्धा नेपालमा भूकम्प पीडितका लागि सहयोग जुटाउनका लागि लण्डनदेखि काठमाडौंसम्मको म्याराथनमा टर्की पुगेकी छन् ।
रोजी स्वाले पोपले यसरी म्याराथन थालेकी हुन् । यो म्याराथनको दूरी ६ हजार माइल हुनेछ । उनले नेपालका भूकम्प पीडितलाई स्वास्थ्य, शिक्षा र जीवनस्तर सुधार्नका लागि यो म्याराथन शुरु गरेको जनाएकी छन् ।
यो म्याराथन मानिसलाई खाना दिने कुरा मात्रै होइन उनीहरुलाई आफैं खाना उत्पादन गर्न सिकाउनको लागि पनि भएको उनको तर्क छ ।
उनले नेपालका भूकम्प पीडितलाई फेज वर्ल्डवाइड नामको संस्थामार्फत सहयोग गर्नेछन् । उनी बेलायतको वेल्सस्थित टेन्बीकी बासिन्दा हुन् । उनले दिनमा करिब २० किमि यात्रा गरिरहेकी छन् । ‘‘म कहाँ सुत्छु भन्ने थाहा छैन । कहिले खेतमा सुत्छु, कहिले बाटोमा सुत्छु म उठ्छु र कुदछु,’’ उनले भनेकी छन् ।
उनले आफ्नो सामान रेड कार्टमा हालेकी छन् । उनी विश्वकै लंगेस्ट सोलो रनरका रुपमा पनि चिनिन्छन् ।
उनले सहयोग जुटाउन २००४ मा विश्व यात्रा गरेकी थिइन् भने २०१५ मा अमेरिकाको यात्रा गरेकी थिइन् ।
https://www.facebook.com/voiceofnepaltv/videos/516084652321334/
उनी अमेरिकामा न्यूयोर्कबाट सान फ्रान्सिस्कोसम्म पुगेकी थिइन् । उनले त्यसो गर्नुको कारण उनका पति क्लाइभलाई सम्मान गर्नु रहेको जनाएकी थिइन् । पतिको प्रोस्टेट क्यान्सरबाट मृत्यु भएको थियो । उनले सो क्यान्सरको सुरुकै चरणमा जानकारी पाउनका लागि आवश्यक सहयोग जुटाउन दौड गरेको जनाएकी थिइन् ।
उनले यसअघि रसियाका टुहुरा बालबालिकालाई पनि यस्तै म्याराथनमार्फत् सहयोग गरेकी थिइन् । २ अक्टोबर १९४६ मा स्वीजरल्याण्डमा जन्मेकी उनी बेलायतकी लेखक पनि हुन् । उनी गएको बिहीबार टर्कीको इस्तानबुल पुगेकी हुन् । अब उनी जर्जिया र अजरबैजान हुँदै नेपाल आइपुग्नेछन् ।