काठमाडौं|
म्यानमारबाट लखेटिएपछि नेपाल आएर काभ्रेको पनौतीस्थित कुशादेवीमा अस्थायी टहरा बनाई बसेका रोहिंग्या शरणार्थीलाई जग्गा छोड्न धनीले ७ दिनको समय दिएका छन्।
मंसिर १० गते कुशादेवी आइपुगेका उनीहरू सत्यराम थापाको जग्गामा छुट्टाछुट्टै टहरा बनाएर बसेका छन्।
‘उनीहरू आएको तीन दिनपछि मात्र शरणार्थी हुन् भन्ने थाहा थाहा पायौं, काम गर्न अनुमति पनि छैन रहेछ। नेपालले शरणार्थी स्वीकार नगरेको थाहा पाएपछि हट्न भनिसकेका छौं,’ सत्यरामको भनइ उद्धृत गर्दै उनका भतिजा रामेश्वरले भने।
त्रिवीका एक प्राध्यापकमार्फत रोहिंग्याहरू सत्यरामको सम्पर्कमा पुगेका थिए। खाली रहेको जग्गा भाडामा लागेर पैसा आउने भएपछि बस्न अनुमति दिएको सत्यरामका भतिजा रामेश्वरले बताए। यो खबर आजको कान्तिपुरमा छापिएको छ।
रोहिंग्याका टोली नेता महोम्मद युसुफले टहरा निर्माणको लागि ६ लाखभन्दा बढी खर्च भइसकेको भन्दै बस्ने अर्को विकल्प पनि नभएको बताए।
‘यतिका संरचना बनाइसक्यौं, अहिले केके कुराले अप्ठ्यारो भयो भनेर हट्न भन्न थाल्नुभएको छ,’ युसुफले भने, ‘आफ्नो देश हैन, आफ्नो ठाउँ हैन, कहाँ जाने, के खाने केही टुंगो छैन।’
नेपालले शरणार्थी मान्यता नदिए पनि संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्च आयोग (यूएनएचसीआर)बाट शरणार्थी प्रमाणित उनीहरु काम नपाउने भएपछि अप्ठ्यारोमा परेको बताउँछन्।