धनुषामा बम विस्फोट: २ काे मृत्यु, इन्स्पेक्टरसहित ४ गम्भीर घाइते

धनुषामा मध्यराति शक्तिशाली बम विस्फोट हुँदा २ जनाको मृत्यु भएको छ भने प्रहरी निरीक्षक (इन्सपेक्टर)सहित ४ जना गम्भीर घाइते भएका छन्।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बजारमा शुक्रबार मध्यराति भएको बम विस्फाेटमा स्थानीय ४६ वर्षका राजेश्वर साह र उनका छोरा अन्दाजी २४ वर्षका आनन्द साहको घटनास्थलमै मृत्यु भएको हो।

शुक्रबार राति १२ बजे राजेश्वरको घरको शौचालय नजिक छाडिएको बम विस्फाेट भएको हो। बम हो वा होइन भनी इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरबाट प्रहरी टाेली पुग्नेबित्तिकै विस्फोट भएको हाे।

बिस्फोटमा प्रहरी निरीक्षक अमिर दहाल र प्रहरी जवान रिजन महतो, मृतक घरमुली राजेश्वर साहका अर्का छोरा प्रकाश र छोरी अञ्जली समेत गशमभीर घाइते भएका छन् । गम्भीर घाइतेहरुको उपचार जनकपुर प्रादेशिक अस्पतालमा सम्भव नभएपछि थप उपचारको लागि धराण लगिएको जनाएको छ । अन्य २ जना समान्य घाइते भएको बताइएको छ ।

घरमुली साह विगतदेखि नै मोटो रकम ऋण लगानी गर्दै आएको कारण कसैले उनीहरुलाई हत्या गर्नकै लागि राखिएको बम बिस्फोट भएको हुन सक्ने स्थानीयको आशंका छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ भने प्रहरीले अनुसन्धान त्रिव्र बनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार