अष्ट्रेलियामा गाँजाले नेपाली बिद्यार्थीको जीवन बर्बाद : सुदूरपश्चिमदेखि अष्ट्रेलिया एघार महिना अगाडी आएका एक युवालाई उद्धार गरी नेपाल फर्काईयो !

एक नेपाली युवा विद्यार्थीको एनआरएन अष्ट्रेलियाले उद्धार गरेको छ । एनआरएन अष्ट्रेलियाले एघार महिना अघि अष्ट्रेलिया आएका साउद थरका धनगढी घर भएका नेपाली विद्यार्थीलाई बुधबार नेपाल पठाएको छ । उनी सिड्नीस्थित एक कलेजमा पढ्नका लागि अष्ट्रेलिया आएका थिए । तर, संगतको असर, आफ्नो भविष्यप्रतिको बेवास्ता र लागूपदार्थको दुव्र्यसनका कारण उनी मान्छे समेत चिन्न नसक्ने अवस्थामा पुगिसकेका थिए । एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष एवं न्यूसाउथवेल्स संयोजक देव गुरुंगसँगको भेटमा उनले आफुले गाँजामात्रै खाने गरेको बताएपनि परिस्थिति निकै फरक देखिएको गुरुंग बताउँछन् । उनले भने, “हामीलाई त अत्यन्तै अत्यास लाग्यो । लागूपदार्थ सेवन गरेपछि तथानाम बोल्ने, जे मनलाग्छ त्यही गर्ने खालको व्यवहार रहेछ ।”

पासपोर्ट र आईडी कार्डसमेत नभएपछि कुनै होटलमा उनलाई बास दिइएन । यसैकारण गुरुंगले आफ्नै घरमा समेत लगेर दुई दिन राखे । नेपालमा परिवारसँग सम्पर्क गरी परिवारकै सल्लाहमा उनलाई तत्कालै नेपाल फर्काइएको छ । कलेजमा सम्पर्क गर्दा तीन महिनादेखि कलेज समेत नगएको पाइएको उनी बताउँछन् । सिड्नीको स्ट्राथफिल्डमा बसोबास गरिरहेका विद्यार्थी साउदलाई यस्तै व्यवहारबाट आजित भएर त्यहाँबाट समेत निकालिएको थियो ।

गुरुंगले भने, “यहाँ राख्नैसक्ने अवस्था थिएन । बाटोमा यसै छोडिदिने कुरा पनि भएन । हामीले यसैकारण तत्कालै महँगैमा भएपनि विमानको टिकट काटेर उनलाई नेपाल पठाइदियौं । मैले विमानको गेटसम्मै उसलाई छोडेर आएँ । नेपाली भाइबहिनीको यो अवस्था देख्दा साह्रै दुःख लागेको छ ।”

अब परिवारले उनको उपचार गर्ने अपेक्षा आफुले गरेको पनि उपाध्यक्ष गुरुंग बताउँछन् । एनआरएन अष्ट्रेलियाका अध्यक्ष केशव कँडेल नेपालमा रहेको परिवारले छोरा या छोरी अष्ट्रेलिया गए अब हाम्रो जिम्मेवारी सकियो भन्ने जस्तो व्यवहार गर्न नहुने बताउँछन् । उनले भने, “हामीले हाम्रा समूदायका सदस्यहरुका लागि गर्नेसम्म गरेका छौं । तर, परिवारको पनि केही दायित्व पक्कै हुन्छ । यसरी अष्ट्रेलियामा लागू पदार्थको कुलतमा फसेर हिंडेका भाईबहिनीको कुरा सुन्दा परिवारले खासै ध्यान नदिएको हामीले पाएका छौं ।”

उनले थपे, “बिन्ति छ, आफ्ना सन्तानलाई विदेशमा एक्लै पठाएपछि उनीहरुको हरेक गतिविधिको विषयमा तपाईं निरन्तर अपेडट भइरहनै पर्छ । अन्यथा कुरो बिग्रिन सक्छ ।” उनले उक्त विद्यार्थीलाई एनआरएनको सम्पर्कमा ल्याइदिने सन्देश अर्याललाई धन्यवाद पनि दिए ।

नेपालमा पनि तनाव

एनआरएनले नेपाल पठाएका ति विद्यार्थी काठमाडौं पुगेपछि पनि परिवारलाई तनाव दिइरहेका छन् । धनगढीदेखि काठमाडौंमा छोरा लिन आएका खड्क सिंह साउद यतिबेला छोरा विमानस्थलबाटै फरार भएपछि तनावमा छन् ।

उनले भने, “छोरा यहाँ आइपुग्यो भनेर खुशी भइयो । हामी पसलमा केही गर्न लागेको बेलामा ऊ केही भन्दै नभनी बेपत्ता भयो । हामीले निरन्तर खोज्यौं । पछि बालाजुमा पुगेर फोन गरेको थियो । बुबा तपाईं धनगढी जानु म यहाँ पासपोर्ट बनाउँछु अनि आउँछु भन्दै थियो । तर, हामीले त्यसरी हुँदैन भनेर अहिले उसले भनेको ठाउँमा खोज्न जाँदैछौं । भेट्छौं होला ।”

उनले छोराको हालत देखेपछि आफुले विहानै पाईन्ट र ज्याकेट किनिदिएको पनि सुनाए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार