एकैपटक चारवटा खोप लगाएपछि शिशुको मृत्यु

– भगीरथ भण्डारी, इलाम ।

एकैपटक चारवटा खोप लगाएपछि डेढ महिने शिशुको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका–४ सिमलटारस्थित सिमलटार सामुदायिक स्वास्थ्य इकाइमा एकैपटक ४ वटा खोप लगाइएपछि डेढ महिनाकी बुनु देवानको मृत्यु भएको हो ।

विसिजी, एफआइटिभी, डिपीटी र पिभीसी खोप एकैपटकमा लगाएपछि बिरामी भएकी देवानको विराटनगरस्थित न्यूरो स्पतालमा उपचारको लागि लगिएकाे थियाे । न्यूरोमा सघन उपचार कक्ष (आइसीयू) मा राखेर उपाचार गर्न आर्थिक अवस्था कमजोर भएका कारण नसक्ने भन्दै परिवारले शिशुलाई घर फर्काएपछि उनको मृत्यु भएको जनाइएको छ ।

यता स्वास्थ्यकर्मीहरुले खोपकै कारण शिशुको मृत्यु भएको भन्ने प्रमाण नभएको बताएका छन् । मृतकको परिवार र स्वास्थ्यकर्मीबीच भएको छलफलका सहभागी एक स्वास्थ्यकर्मी स्थानीय आदिपुर स्वास्थ्य चौकीका अहेव सुरेन्द्र साम्बाले खोपकै कारण बच्चाको मृत्युभएको प्रमाण नभएको बताउनुभएको हो ।

सिमलटार सामुदायिक स्वास्थ्य इकाइमा कुमारी योङहाङ र सन्ध्या कार्की स्वास्थ्यकर्मीका रुपमा कार्यरत हुनुहुन्छ। शिशुलाई खोप लगाउँदा उहाँहरु नै संलग्न हुनुन्थ्याे। माङसेबुङ गाउँपालिका–४ का वडाध्यक्ष अमृत राईले घटनाको बारेमा आफूले ढिला मात्र जानकारी पाएकाले केही गर्न नसकिएको बताउनुभएको छ ।

यसैबीच मृतकका परिवारलाई गाउँपालिकाबाट आर्थिक सहयोग उपलब्ध गराइदिने शर्तमा घटना टुङ्गाइएको छ । बिहीबार मृतकको परिवार, माङसेबुङ गाउँपालिका स्वास्थ्य शाखा, सामुदायिक स्वास्थ्य इकाइ, जनप्रतिनिधि र नागरिक समाजलगायतको छलफलमा मृतकको परिवारलाई गाउँपालिकाबाट राहत उपलब्ध गराउने सहमतिपछि घटनाको टुङ्गो लगाइएको छ ।

मृतकका परिवारले राहत लिनका लागि वडा कार्यालयबाट सिफारिससमेत लिइसकेको वडाअध्यक्ष राईले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार