भगतराम थारु, नेपालगञ्ज ।
नेपालगञ्ज उप–महानगरपालिका–२० गायत्रीनगरका ९ घरमा शुक्रबार डोजर चलाइएको छ । सरकारी जग्गा अतिक्रमण गरी बसोबास गरेको भन्दै वडा र विद्यालयको पहलमा शुक्रबार ९ वटा घरमा डोजर चलाइएको हो ।
वि.सं. २०४० सालदेखि बसोबास गर्दै आएको बस्तीमा एक्कासि डोजर चलेपछि त्यहाँका स्थानीय केही समय आक्रोशित भएका थिए ।
कुनै हालतमा आफ्नो घर खाली नगर्ने र खाली गर्न आउनेलाई जस्तो सुकै मूल्य चुकाउन पनि तयार रहेको स्थानीयहरुले आक्रोश पोखेका छन् । लामो समयदेखि आफूहरुको लालपूर्जा, बिजुलीबत्ति र मालपोत समेत तिर्दै आएको उनीहरुले बताएका छन् ।
वडा कार्यालय र विद्यालयको दादागिरीका कारण ७५ वटा घर विस्थापित हुने अवस्थामा रहेको उनीहरुको बताएका छन् । राजनीतिक दबाब र विद्यालयको एकलौटी निर्णयले बस्ती नै सखाप हुने भएपछि त्यहाँका स्थानीयबासी आक्रोशित बनेका छन् ।
त्यहाँका स्थानीयसँग कुनै पनि सल्लाह नगरी एक्कासि बस्ती हटाउनु गलत भएको बताउँदै राज्यले जबरजस्ती बस्ती हटाएपनि आफूहरुले बस्ती नछाड्ने अडान लिएका छन् ।
स्थानीय शिवलाल शर्माले भने–‘बस्ती (घार)लाई हटाएपनि त्रिपालमूनी आफ्नो ज्यानलाई जोगाउँछौं । बर्षौंदेखि बस्दै आएको बस्ती कहाँ छाड्न सकिन्छ र !’
राँझा चोकमा रहेको आदर्श माध्यमिक विद्यालयको भवन नेपालगञ्ज नागरिक उड्यान प्राधिकरण नेपालगञ्ज विमानस्थल कार्यालयले अधिग्रहण गर्ने भएपछि गायत्रीनगरमा सर्नुपर्ने बाध्यात्मक स्थिति सिर्जना भएको हुनाले दबाबमा बस्ती खाली गराउन डोजर चलाएको स्थानीयको आरोप छ ।
नेपाल सरकारले ४० बर्षदेखि बसोबास गर्दै आएको प्रमाणित गरिसके पनि विद्यालय र राजनीतिक दलहरुको दबाबमा बस्ती हटाउन पहल गरिएको स्थानीयहरुको आरोप छ ।
राँझा चोकस्थित विद्यालयको गायत्रीनगरमा ३ विगाह ७ कठ्ठा १४ धुर जग्गामा वर्षौदेखि सुकुम्बासी/भूमिहीनका नाममा ७६ घरपरिवारले कब्जा गरी घर टहरा बनाएर बस्दै आएका छन् ।
लामो समयदेखि अतिक्रमित जग्गा खाली गर्न गरिएको वडा र विद्यालयको प्रयास सफल भइरहेको थिएन । यसैबीच गृहमन्त्रालयको आदेश बमोजिम डोजर चलाएको एक स्थानीय नेताको भनाइ छ ।
त्यस्तै विद्यालयका प्रध्यानाध्यापक प्रकाश आचार्यले गायत्री नगरको जग्गा २०३६ सालदेखि विद्यालयको नाममा रहेको जानकारी गराए ।
करिब १० बर्षदेखि विद्यालयको जग्गालाई हडपेर बसोबास गर्दै आएका स्थानीयलाई बारम्बार नबस्न आग्रह गर्दा पनि अटेर गरी बसोबास गर्दै आएका प्रध्यानाध्यापक आचार्यको भनाइ छ ।
बारम्बार सूचना जारी गर्दा पनि सुकुम्बासीको नाममा गैर–सुकुम्बासीले विद्यालयको जग्गा कब्जा गरेको उनले बताए ।
वडा नं. २० का वडा अध्यक्ष कृष्ण कार्कीले वास्तविक सुकुम्बासीलाई व्यवस्थापन गर्ने निर्णय भइसकेको बताए । त्यस्तै वास्तविक पीडितको लागि बैकल्पिक बाटो खोजिएको उनको भनाइ छ ।
उनले भने–‘१४ सय बालबालिकाको भविश्यमाथि भोटको राजनीति गर्न मलाई रहर छैन ।’ शुक्रवार कल्पना गौतम, जयराम थारु, भीम बुढा, कृष्ण बहादुर थारु, प्रेम बिक, जुल्फकार मनिहारलगाएतको घरमा डोजर लगाइएको छ ।