एकैपटक ४ वटा खोप लगाएपछि इलामको माङसेबुङमा डेढ महिने शिशुको मृत्यु

इलाम : एकैपटक ४ वटा खोप लगाएपछि इलामको माङसेबुङमा डेढ महिने शिशुको मृत्यू भएको छ ।

माङसेबुङ गाउँपालिका-४ सिमलटारस्थित सिमलटार सामुदायिक स्वास्थ्य ईकाइमा एकैपटक ४ वटा खोप लगाइएपछि डेढ महिनाकी बुनु देवानको मृत्यु भएको हो ।

एकैपटक विसिजी, एफआइटिभी, डिपीटी र पिभीसी खोप लगाएपछी बिरामी भएकी देवानको विराटनगरस्थित न्युरो स्पतालमा उपचारको क्रममा मृत्यू भएको हो ।

शिशुलाई गत २२ मंसिरमा जन्मनसाथ दिनुपर्ने बिसिजीसहित ६ हप्ता भित्रमा लगाइसक्नुपर्ने एफआइटिभी, डिपीटी र पिभीसी एकैपटक दिइएको थियो । बिसिजी लगाउन ढिला भएको भन्दै एकैपटक ४ वटै खोप लगाइएको थियो ।

खोप लगाएपछि बिरामी भएकी शिशुलाई विराटनगरस्थित न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । न्युरोमा सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपाचार गरिएको थियो । आर्थिक अवस्था कमजोर भएका कारण सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गर्न नसक्ने भन्दै परिवारले शिशुलाई घर फर्काएपछि उनको मृत्यू भएको जनाइएको छ ।

खोपका कारण मृत्यू नभएको स्वास्थ्यकर्मीको जिकिर

यता स्वास्थ्यकर्मीहरुले खोपकै कारण शिशुको मृत्यू भएको भन्ने प्रमाण नभएको बताएका छन् । मृतकको परिवार र स्वास्थ्यकर्मीबीच भएको छलफलका सहभागी एक स्वास्थ्यकर्मी स्थानीय आदिपुर स्वास्थ्य चौकीका अहेव सुरेन्द्र साम्बाले खोपकै कारण बच्चाको मृत्यू भएको प्रमाण नभएको बताउँछन् ।

साम्बाले नेपाल सरकारको तालिका अनुसार नै स्वास्थ्यकर्मीहरुले खोप दिएकाले मृत्यूको कारण खोप नभएको जिकिर गरे । ‘स्वास्थ्यकर्मीहरुले नेपाल सरकारको तालिका अनुसार नै खोप दिएका छन् । यदि त्यही कारणले भए खोप लगाएको आधा घण्टादेखि नै प्रतिक्रिया देखिन्थ्यो’ साम्बाले नयाँ बुलन्दसँग भने, ‘तर भोलिपल्टदेखि मात्र रुन थालेको भन्ने सुनियो । अभिवाकले तुरुन्त स्वास्थ्यकर्मीलाई देखाएनन् । बाहिर उपचारमा लैजानुभएछ । तसर्थ खोपको कारण नै हो भन्न सकिदैन ।’

सिमलटार सामुदायिक स्वास्थ्य ईकाईमा कुमारी योङहाङ र सन्ध्या कार्की स्वास्थ्यकर्मीका रुपमा कार्यरत छन् । शिशुलाई खोप लगाउँदा उनीहरु नै संलग्न थिए ।

यस विषयमा बुझ्न माङसेबुङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रदिप राईसँ सम्पर्क गर्दा उनको मोबाइल स्वीच अफ भएका कारण सम्पर्क हुन सकेन ।

जानकारी ढिला भएकाले केही गर्न सकिएन

यता माङसेबुङ गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष अमृत राईले घटनाको बारेमा आफूले ढिला मात्र जानकारी पाएकाले केही गर्न नसकिएको बताए । शिशु बिरामी भएको, उपचारमा लगिएको र मृत्यू भएको समेत ढिलो मात्र थाहा पाएकाले थप केही गर्न नसकिएको बताए । ‘मालाई २९ गते राती मात्र फोन गरेर परिवारले जानकारी दियो । सुरुमा नै जानकारी पाएको भए पोष्टमार्टमा गर्न सकिन्थ्यो । त्यहाँबाट मृत्यूको कारण थाहा हुने थियो’ अध्यक्ष राईले भने, ‘सदगद समेत भइसकेको हुनाले अरु केही प्रक्रियामा जान सकिएन ।’

गाउँपालिकाबाट राहत उपलब्ध गराईदिने शर्तमा घटना टुङ्गियो

यसैबीच सो घटना सार्वजनिक भएपनि मृतकका परिवारलाई गाउँपालिकाबाट आर्थिक सहयोग उपलब्ध गराईदिने शर्तमा घटना टुङ्गाइएको छ । बिहीबार मृतकको परिवार, माङसेबुङ गाउँपालिका स्वास्थ्य शाखा, सामुदायिक स्वास्थ्य इकाइ, जनप्रतिनिधि र नागरिक समाजलगायतको छलफलमा मृतकको परिवारलाई गाउँपालिकाबाट राहत उपलब्ध गराउने सहमतिपछि घटनाको टुङगो लगाइएको छ ।

‘मृतकको परिवार र स्वास्थ्यकर्मीलाई राखेर छलफल गरियो । मृत्यूको कारण यही हो भन्ने यकिन नभएकाले सबैको सहमति भयो’ वडाअध्यक्ष अमृत राईले भने, ‘शिशुको पोष्टमार्टम भएको भए सहज हुनेथियो । सबै सदगद गरिसकेछन् । यहाँबाट मृत्यूको कारण यकिन हुन सकेन । त्यसैले विपन्न परिवार भएकाले गाउँपालिकाको राहत कोषबाट आर्थिक सहयोग उपलब्ध गराउने गरी सबै सहमत हुनुभयो ।’

मृततकका परिवारले राहत लिनका लागि वडा कार्यालयबाट सिफारिस समेत लिइसकेको वडाअध्यक्ष राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार