काठमाडौं ।
भारतीय चर्चित गायिका आशा भोस्लेको सुमधुर आवाजलाई प्रत्यक्ष अनुभूत गर्न शनिबार साँझ काठमाडौंस्थित सोल्टी क्राउन प्लाजामा करिब ६ सय बढि संगीतप्रेमीको उपस्थिति रह्यो । वरिष्ठ संगीतकार रंजित गजमेरमा समर्पित कार्यक्रम, ‘म्युजिकल जर्नी अफ रंजित गजमेर विथ आशा भोस्ले’मा संगीतकार गजमेरको संगीतमा रहेका करिब ३० चर्चित गीतहरु प्रस्तुत गरिएको थियो । चिसोका कारण स्वास्थ्य अवस्था प्रतिकुल भएका कारण गायिका भोस्लेले झरी बनी आएछ सावन, किन बढ्दैछ ढुकढुकीे, डाँडा खोला, आगे आगे तोपैको गोला लगायतका गीतका केही टुक्रा मात्र प्रस्तुत गर्नुभएको थियो ।
उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा संगीतकार गजमेर र गायिका भोस्लेलाई सम्मान–पत्रसमेत प्रदान गरिएको थियो ।
गजमेरसँग सबैभन्दा बढी गीत गाउनुभएकी गायिका भोस्लेले नेपालीको आदर–सत्कारले आफू निकै खुशी भएको बताउनुभयो । नेपाल बोलाएकोमा आयोजकलाई धन्यवाद दिदैं रमाइलो शैलीमा अलि ढिलो नेपाल बोलाएकोमा ब्यङ्ग्यसमेत गर्नुभयो । ‘मलाई अलि छिटो नेपाल बोलाउनु भयो’ उहाँले भन्नुभयो, ‘अझै ४/५ वर्ष कुर्नुभएको भए मलाई माथि नै बोलाउन आउनुपथ्र्यो । अहिले म ८७ वर्षको भइसकेँ।’ नेपाली श्रोतादर्शकले आफ्नो गीत मनपराएको र नेपाल आउन पाएकोमा निकै खुशी लागेको बताउनुभयो ।
‘आफूलाई भारतीय वाद्यवादक नै वेष्ट लाग्थ्यो तर यहाँ आएपछि थाहा भयो त्यो मेरो भ्रम मात्र रहेछ ।’ भन्दै स्टेजमा रहेका करिब ३५ वाद्यवादकको प्रशंसासमेत गर्नुभयो । गायिका भास्लेले ‘मोहनी लाग्ला है’ बोलको गीत गायक रामकृष्ण ढकालसँग एकसाथ प्रस्तुत गर्नुभयो ।
करिब ६ दशक संगीत क्षेत्रमा क्रियाशील संगीतकार गजमेरको संगीत रहेकाे गीत दीप श्रेष्ठ, मिलन सिंह खाती, इन्द्रजित मिजार, भारती गजमेर, मिलन सोताङ, रामकृष्ण ढकाल, सुरज कुमार थापा, विवेश श्रेष्ठ, संजय तुम्रोक, लाबोनी प्रसाईं, राज सागर लगायतका करिब ३० गायक–गायिकाले प्रस्तुत गरे ।
सन् २०११ मा बढी गीत गाएर गिनिज बुक्स अफ वल्र्ड रेकर्ड्समा समेत नाम दर्ता गराउन सफल गायिका भोष्लेले नेपाली चलचित्रका करिब ६० गीतमा स्वर दिनुभएको छ । गायिका भोस्लेको नेपाल आगमनलले नेपाल भ्रमण वर्ष २०२० लाई समेत प्रवद्र्धन गर्ने आशा गरिएको छ ।