यताको खबर

– हिक्मत थापा

सेतो नायल
नीलो नायल
अनि, निजर र बेन्यु
सबका सब बग्न छोडेर
टक्क अडेका छन् यतिखेर ।
मानौँ तिनीहरू बग्न बिर्सिए
शताब्दी पछि,
वा कसैले खियाएनन दाबो
वा कसैले हानेन् जाल
र छोडेनन् बल्छी ।
न पीडा, न सन्त्रास
त्यसैले मन लागेन बग्न पूर्ववत ।

##

लेक भोल्टा , चाड र भिक्टोरिया
सबमा न देखियो कुनै नीलो छाल
र, न सुसायो कुनै नयाँ गीत
सृष्टि स्तब्ध हो कि ?
यो कुनै मायाजाल ।
हतारमा टाउको माथि पसल बोक्दै,
बेच्दै हिड्ने “निके”
सडक छेउ
जोलोफ भात बेच्दै बस्ने “मामा उचे”।
सबका सब कहाँ टक्क अडिए होलान् ?
र,अलप भए होलान्
यो अजङ्गको सडक बाट ।
र, कहाँ ओत लागे होलान् यो सहरको
निर्जीव शून्यताबाट ।

###

सबका सब,
यहाँ नायलझैँ रोकिएका छन्
सबका सब यहाँ
चाडजस्तै सुस्ताएका छन
मानौँ,
अड्किएको समयझैँ
घुम्नै छोडेको पृथ्वीझैँ
टक्क रोकिएका छन्
बिग्रिएको घडीझैँ ।

####

लेगोस , नाइजेरिया । मार्च ५,२०२०
* सेतो नायल , निलो नायल , बेन्यु र निजर : अफ्रिकामा बग्ने नदीहरु ।
* चाड , भोल्टा र भिक्टोरिया : अफ्रिकाका तालहरु ।
** जोलोफ राइस : अफ़्रिकिन भात ।
** निके र मामा उचे : नाम । )

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार