कविता: गुरुलाई नमन

✍🏼 स्पन्दन बिनोद

ब्रह्मा हुन् गुरु बिष्णु हुन् जगतका, उर्जा स्वरुपी शिला
सच्चा दर्पण उच्च सोच गुरुकै, मेरा सबै पाइला
ईर्षा क्लेश सबैँ हटे प्रणयले, मैलो तुरून्तै गयो
श्रद्धाले गुरुको यहाँ नमन होस्, ब्रह्माण्ड राम्रो छ यो ||१||

आगो सल्कन मट्टितेल जसरी, चाहिन्छ चूल्हो तिर
त्यस्तै ज्योति बनेर मात्र गुरुले, पार्छन् सबैँ सुन्दर
पूजा गर्छु बुबा समान पथमा, सल्लाह लालित्य हो
श्रद्धाले गुरुको यहाँ नमन होस्, ब्रह्माण्ड राम्रो छ यो ||२||

आस्थाका जग हुन् प्रकाश पनि हुन्, श्रृंगार दाता मणि
द्यौताका रुप हुन् म शिष्य गहमा, हुन् सास दाता मणि
उज्यालो पथका शशी नि गुरु हुन्, झुल्का नयाँ आशको
श्रद्धाले गुरुको यहाँ नमन होस्, ब्रह्माण्ड राम्रो छ यो ||३||

भर्दै यो शुभभावना मन भरी, उत्साह थप्छन् सधैँ
चेलाको शुभ भव्यता ह्रृदयमा, गाँसेर जप्छन् सधैँ
शंका दूर हटे सधैँ अनुजका, तात्पर्य खुल्ने भयो
श्रद्धाले गुरुको यहाँ नमन होस्, ब्रह्माण्ड राम्रो छ यो ||४||

छातीभित्र हरेक कोष तहमा, ज्ञाता घनीभूत छन्
प्यालाका अनमोल पुन्ज ममता,त्यै पाठशाला हुन्
इच्छा जीवनको समर्पित गरेँ, सद्भावना यो छ जो
श्रद्धाले गुरुको यहाँ नमन होस्, ब्रह्माण्ड राम्रो छ यो ||५||

यो भारी ऋणको कहाँ सहज नै, तिर्छौँ जपी मन्दिर
गाढा प्रेम पराग भित्र गुरु छन्, मुस्कानले हाजिर
वासन्ती वनका भ्रमर कुशुमको, माला अनौठो भयो
श्रद्धाले गुरुको यहाँ नमन होस्, ब्रह्माण्ड राम्रो छ यो ||६||

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार