लिस्बन।
गैर आवासिय नेपाली संघ पोर्चुगललाई नेपाल आदिवासी जनजाति महासंघले २४ घण्टे अल्टिमेटम दिएपछि संघले आफ्नो निर्णय उल्ट्याएको छ। सेप्टेम्बर २१ तारिख संघका उपाध्यक्ष अशाेक गुरुङमाथि संघकै महासचिव हेमराज सुवेदीले जाइलाग्दा भएको झडपपछि संघले एकपक्षीय निर्णय गर्दै गुरुङलाई निलम्बन गरेको थियो। तर महासंघले अल्टिमेटम दिएको २४ घण्टा नबित्दै एनआरएनए पोर्चुगलले घटना छानबिन गर्ने भन्दै पदको दुरुपयोग गर्ने महासचिव सुबेदीलाई अर्को निर्णय नहुन्जेलसम्मका लागि संघको कुनै पनि काम कारवाहीमा संलग्न हुन नपाउनेगरी निलम्बन गरेको छ।
यसघि घटनाका बारेमा संघका महासचिव सुबेदी र उपाध्यक्ष गुरुङ दुबैले छानबिन गरिपाउ भनी संघको नेतृत्वलाई लिखित निबेदन दिएता पनि संघले महासचिव सुबेदीको बचाउ गर्दै घटनामा अर्का पात्र उपाध्यक्ष गुरुङलाई एकतर्फी निलम्बन गरिएको बिज्ञप्ति निकालेको थियो। अचम्मको कुरा के भने संघको कार्यसमितिको बैठकमै नभएको निर्णयलाई समेत निर्णय गरिएको भनेर उपाध्यक्ष गुरुङलाई निलम्बन भएको भन्दै बिज्ञप्ति मात्रै निकालेन , एक गल्ती ढाकछोप गर्न अर्को गल्ती गर्दै एउटै बिज्ञप्ती ४-४ पटकसम्म निकालेर संघले आफ्नो अपरिपक्वता र निर्लज्जता देखाएको छ ।
संघका महासचिव सुबेदी र उपाध्यक्ष गुरुङ बिचको हातपातको घटनाको छानबिनको जिम्मा संघले अनुशासन समितिलाई दिएको छ। अनुशासन समितिका संयोजक तथा संघका पूर्व अध्यक्ष रमेशकुमार गुरुङको संयोजकत्वमा आइसीसी सदस्यद्वय नारायणकाजी मगर र रबिन अधिकारीको टोलीले उक्त घटनाको छानबिन गर्ने संघका अध्यक्ष तिलक गैरेले जनाएका छन्।
यसअघि महासचिव सुबेदीले पदको दुरुपयोग गर्दै आफूखुशी सचिव यमेन्द्र घर्तीमगर र उपाध्यक्ष गुरुङलाई कार्यसमितिबाट हटाएका थिए।