लिस्बन।
” नेपाल पैसा पठाउदा बजारकै उच्चदर “। सामाजिक संजालमा बारम्बार रोलिङ हुने यो स्लोगनले हरकोहीलाई लोभ्याउछ, एकछिन टक्क अडिन र सोच्न बाध्य बनाउछ। बैंकले दिनेभन्दा पनि बढी दरमा पैसा पठाउन पाउदा को हुरुक्कै नहोला र ? आफ्नो परिश्रम र थोपा थोपा पसिनाको कमाई नेपाल पठाउदा २ पैसा बढी होस् भन्ने चाहना सबैको हुन्छ। तर यो स्लोगनले जातिलाई लोभ्यायो, त्यत्तिलाई रुवायो, सायद दुःख नपाउने कमै होलान्।
उनीहरुले न बजारकै उच्चदर पाए, न समयमा नै भुक्तानी। आफैले कमाएको पैसा पोर्चुगलबाट नेपाल पठाउदा महिनौ महिना कुर्नु मात्रै परेन, सास्ती नै सास्ती पाए ।
पोर्चुगलमा रहेका नेपाली श्रमिकहरु बर्षौदेखि रेमिट्यान्स कम्पनीबाट ठगिदै आएका छन्। बिश्वास गरिएको एउटा कम्पनीले ठग्यो, ग्राहकहरु अर्को कम्पनीमा आए , उसले पनि ठग्यो, फेरी तेस्रो कम्पनीमा पुगे। ग्राहकहरु त्यहाँ पनि ठगिए। एउटा सामाजिक संस्थाको पदाधिकारीले संचलान गरेको रेमिट्यान्स कम्पनीमा पुगे, त्यहाँ ठगिए। एनआरएनए अभियन्ताले संचालन गरेको रेमिट्यान्स कम्पनीमा पुगे त्यहाँ पनि ठगिए, अब आम श्रमिक नेपालीले बिश्वास कसको गर्ने ?
रेमिट्यान्सको नाममा ठगी धन्दा गर्नेहरुको दुई नेपाली कम्पनीहरुको कर्तुतको समाचार यसघि पनि भोइस अफ नेपालले सम्प्रेषण गरेको थियो। ति दुबै कम्पनीका पिडितहरुले आफ्नो रकम पनि पाए र उनीहरुमाथि कारवाही पनि भयो, ठगीमा संलग्न ति दुबै कम्पनीहरु बन्द पनि भए।
रेमिट्यान्सको नाममा लक्ष्मी ट्राभल्सको ठगी धन्दा : ग्राहकको हातमा फोटोसप गरेको रसिद, पैसा नेपाल किन पुगेन भनेर सोध्दा उल्टै ग्राहकलाई हप्कीधप्की
” नेपाल पैसा पठाउदा बजारकै उच्चदर ” भनेर व्यवसायिक नारा दिदै पोर्चुगलको लिस्बनस्थित लक्ष्मी ट्राभल्सले ठगी धन्दा गर्दै आएको छ। मनै लोभ्याउने नारा दिएर ग्राहक तान्ने र उनीहरुलाई महिनौसम्म झुलाउने र झुक्याउने काम ट्राभल्सले गर्दै आएको तथ्यहरु फेला परेका छन्।
लक्ष्मी ट्राभल्सले ठुलो रकम नेपाल पठाउने ग्राहकहरुलाई फोटोसप गरिएको नक्कली रसिद दिने र उनीहरुलाई अनेक बाहाना बनाएर महिनौसम्म झुलाउने गरेको पिडित ग्राहकहरु बताउछन् । सेवाग्राहीहरुले ट्राभल्सलाई नेपालमा आफन्तलाई पैसा किन पुगेन भनेर प्रश्न गर्दा कहिले कोरोनाको बहाना, कहिले कुनै डकुमेन्ट म्याद सकिएको बहाना, कहिले सिस्टममा खराबी भएको बहाना गर्दै आएको बताउछन।
को हुन् लक्ष्मी ट्राभल्सका मालिक ?
लक्ष्मी ट्राभल्सका मालिक हुन् बिक्रम जंग कुँवर । केही महिना अघि मात्रै उक्त ट्राभल्सको नयाँ शाखा चालिस हजार युरो लगानीमा लिस्बनकै मार्तिम मुनिज नजिकै स्थापना र संचालन गरेको जानकारी मिडियालाई दिएका थिए । कुँवर गैर आवसिय नेपाली संघ पोर्चुगलका २०१९-२१ कार्यसमितिका कोषाध्यक्ष हुन्।
नेपालमा आफन्त हातमा रसिद लिएर बैंक धाउदा धाउदै हैरान, पोर्चुगलमा सेवाग्राही ट्राभल्ससंग सम्पर्क हुन नसकेरै परेसान :
लक्ष्मी ट्राभल्सबाट नेपाल पैसा पठाएका कयौ सेवाग्राहीका आफन्त हातमा रेमिट्यान्सको रसिद लिएर बैंक धाउदा धाउदा हैरान भए। उनीहरु कोरोना कहरमा दिनहु अनेक बाधा छल्दै बैंकसम्म पुग्थे, तर बैंकले सधै रसिदमा रहेको उक्त नम्बरबाट कुनै पैसा न आएको भनेर फर्काइदिन्थे। यता सेवाग्राही किन पैसा नेपाल गएन भनेर ट्राभल्सलाई सम्पर्क गर्दागर्दै हैरान हुन्थे।
रेमिट्यान्स सेवा प्रदायक कम्पनि ‘स्मल ओर्ल्ड’, वेस्टर्न युनियन, रिया आदि को नाममा ट्राभल्स मार्फत नेपाल पठाएको पैसा महिनौसम्म पनि नपुगेपछि जब सेवाग्राहीले आफै सेवा प्रदायक कम्पनीमा सम्पर्क गरे, तब लक्ष्मी ट्राभल्सको कर्तुत खुल्यो। ट्राभल्सले सेवाग्राहीहरुलाई झुक्याएर फोटोसप गरिएको रसिद दिने र अनेक बहाना बनाउँदै सेवाग्राहीहरुलाई महिनौसम्म झुक्याउने गरिएको तथ्य बाहिरियो।
ठगिनेहरुमा पत्रकार देखि पूर्व एनआरएनए अध्यक्षसम्म :
लक्ष्मी ट्राभल्सको रेमिट्यान्सको नाममा हुने ठगी धन्दामा ठगिने र महिनौसम्म सास्ती खेप्नेहरु आम श्रमिक नेपालीहरु मात्रै छैनन्। बारम्बार उस्तै र उही प्रकृतिको ठगी धन्दामा सास्ती खेप्नेहरुमा पत्रकार देखि एनआरएनए पोर्चुगलका पूर्व अध्यक्षसम्म छन्।
आफु ठगिदा पनि किन बोल्दैनन् पिडितहरु :
रेमिट्यान्सको ब्यवासायीहरुद्वारा बर्षौदेखि र बारम्बार आफु ठगिदा पनि सेवाग्राहीहरू खुलेर प्रतिकार गर्न र बोल्न रुचाउदैनन्। समाजमा रहेका हाईप्रोफाइल र प्रतिष्ठित व्यक्तिहरु आफु पिडित हुँदा पनि आफ्नै इज्जतको लागि बोल्न रुचाउदैनन्। तर श्रमिकवर्ग नेपालीका आफ्नै पिडा र बाध्यता छन्।
पहिलो कुरा उनीहरु आफुहरु दैनिक १०-१२ घण्टा काम गर्नुपर्ने बाध्यता भएकोले सधै कार्यालय समयमा सम्पर्क गर्न नै समय नमिल्ने बताउछन्। अर्कातिर बल्लतल्ल समय मिलायो, ठगी धन्दामा पोख्त भएका व्यवसायीहरु अनेक बहाना बनाएर झुक्याउछन। भोइस अफ नेपालले लक्ष्मी ट्राभल्स र त्यसका मालिक तथा गैर आवासिय नेपाली संघ पोर्चुगलका कोषाध्यक्ष कुँवरको रेमिट्यान्सको नाममा ठगी धन्दाको पहिलो समाचार अघिल्लो साता प्रकाशित गरेपछि सयौ पिडितहरु सम्पर्कमा आएका छन्। सबै पिडितहरुलाई ठगी धन्दामा संलग्न लक्ष्मी ट्राभल्स र त्यसका मालिकले महिनौसम्म ठगी गर्ने बहाना उस्तै छन् तर पिडित सेवाग्राहीहरुका पिडा, कथा र ब्यथा भने फरक र मुटु नै कमाउने छन्।
लक्ष्मी ट्राभल्सबाट पिडित हुदै भोइस अफ नेपालको सम्पर्कमा आएका भएका पिडित सेवाग्राहीहरुको दर्दनाक कथा अब हरेक दिन भोइस अफ नेपालमा प्रकाशित हुनेछन्। गैर आवासीय नेपाली संघ जस्तो एउटा पबित्र सामाजिक परोपकार कार्यका लागि स्थापना भएको सामुदायिक संस्थामा बसेर त्यस संस्थाको पदलाई क्यासमा कन्भर्ट गर्दै नेपालीहरुमा दमन, शोषण र बर्षौदेखि ठगी गर्ने संघका कोषाध्यक्ष कुँवरबाट को को नेपाली कसरि ठगिए ? भोइस अफ नेपालको अबको स्टिंग अप्रेशन त्यतैतिर केन्द्रित हुनेछ। हामी निरन्तर फलोअपमा छौ।
यदि तपाईहरुसंग पनि लक्ष्मी ट्राभल्सबाट ठगिएका र सास्ती पाएका पीडाका कथाहरु छन् भने हामीलाई प्रमाण सहित voiceofnepal.tv@gmail.com इमेल गर्न सक्नुहुनेछ।