लिस्बन।
पोर्चुगलमा जनवरीको शुरुवातीदेखि नै लगातार कोरोना संक्रमित र मृतकको संख्यमा वृद्धि भएसंगै सरकारले स्वास्थ्य संकटकाल थप गरेको छ। दैनिक दश हजार संक्रमित थपिने र सय जनाको हाराहारीमा मृत्यु भएपछि सरकारले संकटकाल थप्ने निर्यण गरेको हो।
पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो दे सौसाद्वारा तयार गरिएको संकटकालको नवौ डिप्लोमा आज संसदले पारित गरेपछि संकटकाल ३० जनवरीसम्मका लागि थप गरिएको छ, जुन बिहिबार १४ जनवरीबाट लागु हुनेछ।
नवौ अनुमोदनबाट थपिने संकटकाल अहिलेको भन्दा झन् कडा हुने बुझिएको छ तर यसको पुरै स्वरुप कस्तो हुने बारे सरकारले बिस्तृत जानकारी बाहिर ल्याएको छैन।
यसपटकको थपिएको संकटकालमा पूर्ण लकडाउन गरिने र रोजगारी गुमाउनेहरुलाई सरकारले तलबको १०० % नै भुक्तानी गर्ने जनाएको छ। यसघि लकडाउनका कारण रोजगारी गुमाउनेहरुलाई खाइपाइ आएको तलबको दुइ तिहाई भुक्तानीको ग्यारेन्टी सरकाले गरेको थियो।