लिस्बन।
पोर्चुगलमा पछिल्लो समयमा कोरोना भाइरसका नयाँ संक्रमित र मृतकहरुको संख्या आकाशिएपछि सरकार जनस्वास्थ्यका बिषयमा कठोर बन्दै गएको छ। सरकारले कडा नियम सहित देशमा नवौपटक संकटकाल थपेको छ।
यसपटकको संकटकाल अघिल्लो बर्ष मार्च-अप्रिलमा लागाईएको संकटकालभन्दा झन् कडा हुने सरकारले बताएको छ।
कोरोना भाइरसको संक्रमण कम गर्न सरकारले स्वास्थ्य महानिर्देशनालयद्वारा निर्देशित सबै स्वास्थ्य निर्देशनहरु अनिवार्य पालन गर्न र नागरिकको स्वास्थ्य सुरक्षा गर्न सरकारले लागु गरेका स्वास्थ्य संकटको कानुनको अनिवार्य पालना गर्न अनुरोध गरेको छ।
प्रधानमन्त्री एन्तोनियो कोस्ताले एक पत्रकार सम्मेलनमा भने कि , ” काममा नगई नहुने बाहेकका सबैले घरमै बस्नुपर्नेछ। बिना जरुरी काम घरबाहिर निस्कन कसैलाई छूट छैन। स्वास्थ्य संकट कानुनको उल्लङ्घन गर्नेलाई सरकारले दोब्बर जरिवानाको कानुन बनाएको छ। सबै नागरिकले उक्त कानुनहरुको पालना अनिवार्य गर्नुपर्नेछ। ”
शुक्रवारबाट कडा कानुन सहित थप गरिएको स्वास्थ्य संकटकालमा घरबाहिर वा सडकमा मास्कको प्रयोग अनिवार्य गरिएको छ। मास्कको अनिवार्य प्रयोग नगर्नेलाई सुरक्षा अधिकारीहरुले पहिलेको भन्दा दोब्बर जरिवाना गर्न सक्नेछन् , जस अन्तर्गत यो नियम उल्लङ्घन गर्नेहरुलाई सुरक्षा अधिकारीहरुले ठाउँको ठाउँ कम्तिमा २०० युरोदेखी बढीमा १००० युरोसम्म जरिवाना गर्न सक्नेछन् ।