लिस्बन मेट्रोमा हरेक यात्रुलाई जाँच गर्दै प्रहरी, बिनाकाम हिड्ने र कामको प्रमाणीकरण पत्र नहुनेलाई ठाउँको ठाउँ जरिवाना !

गणेश पाण्डेय, लिस्बन।

लिस्बनको मेट्रो र रेलमा प्रत्येक एक एक यात्रुहरुलाई प्रहरीले जाँच गर्न शुरु गरेको छ। पोर्चुगलमा कोरोनाका बिरामी र मृतकको संख्या अत्याधिक बढेपछि सरकारले हिजो शनिबार संकटकाल कानुन र लकडाउनमा थप कडाई गर्दै प्रहरी परिचालन गरेको। हो। बिनाकाम हिड्ने र कामको प्रमाणीकरण पत्र नहुनेलाई प्रहरीले ठाउँको ठाउँ जरिवाना गरेको छ।


#काइस सोद्रे स्टेशनमा चेकजाँच गर्दै सुरक्षा अधिकारिहरु

काइस सोद्रे स्टेशनमा प्रहरीले सबैभन्दा बढी कडाई गरेको छ। काइस सोद्रेबाट फरक जिल्लाहरु सेतुबाल र कस्काइसका लागि सार्वजनिक यातायात छुट्ने भएकोले बढी कडाई गरेको हो। त्यस्तै अन्य मेट्रो स्टेशनमा पनि छिर्ने र निस्कने गेटमा निकै कडाई जाँच गरिएको छ।

हिजै मात्रै पछाडिको ढोकाबाट लुकिछिपी कफी बेच्ने क्याफेका मालिक सहित कफी पिउन आउने १२ जना ग्राहकहरुलाई प्रहरीले कारवाही गरेको थियो। लुकिछिपी कफी बेच्ने क्याफेका मालिकलाई प्रहरीले ठाउको ठाउँ १०,००० युरो जरिवाना र कफी पिउने १२ जना ग्राहकहरुलाई जनही २०० का दरले जरिवाना गरेको थियो।

सरकारले हिजो संकटकाल कानुनमा परिवर्तन गर्दै सुरक्षा अधिकारीहरुलाई कानुन उल्लङ्घन गर्नेलाई स्पटमै ( ठाउँको ठाउँ ) जरिवाना गर्ने अधिकार दिएको छ। संकटकाल कानुनको उल्लङ्घन गर्ने व्यक्तिलाई कम्तिमा २०० युरोदेखी १००० युरोसम्म र व्यवसायलाई कम्तिमा २००० युरोदेखी १०,००० युरोसम्म जरिवाना हुने कानुनी व्यवस्था गरेको छ। स्पटमै जरिवाना तिर्न नसक्नेलाई अदालतमा बोलाईने र अदालती प्रकृयासम्मको सबै हर्जाना रकम समेत कानुन उल्लङ्घनकर्ताले तिर्नुपर्ने व्यवस्था सरकारले गरेको छ।


# अलमेदा पार्कमा गस्ती गर्दै सुरक्षा अधिकारीहरु

पछिल्लो २ सातादेखि लगातार संक्रमितको संख्या, मृत्युदर , अस्पतालमा भर्ना हुने बिरामीको संख्या र आइसियुमा उपचार गराउनेहरुको संख्यामा दिनदिनै वृद्धि मात्रै होइन, हरेक दिन रेकर्ड ब्रेक हुदै आएको छन्। जनवरी १ तारिख कोरोनाका कारण अस्पतालमा भर्ना हुनेको संख्या २ हजार ५०६ थियो। दुई सातामै यो संख्या बढेर दोब्बर भएको छ। यसैकारण सरकारले थप कडाइ गर्दै सुरक्षा अधिकारीलाई थप अधिकार प्रदान गरेको हो।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार