लिस्बन।
पोर्चुगलको अर्कोस दे वल्देवेज़मा फायर फाइटरहरुले फोहोर संकलन केन्द्रबाट एक कुकुरको उद्धार गरेका छन्।
अर्कोस दे वल्देवेज़को फोहोर संकलन केन्द्रको कम्प्याक्ट रुमबाट कुकुर भुकेको आवाज आएपछि त्यहाँका कर्मचारीले फायर फाइटर र प्रहरीलाई खबर गरेका थिए।
शनिवार बिहानै करिब ८ बजेर ३० मिनेटमा प्रहरीले खबर पाएपछि तुरुन्तै फायर फाइटर सहितको टोली उद्धारको लागि सो स्थानमा पुगेको थियो।
करिब ६ मिटर गहिरो कम्प्याक्ट रुमबाट ५ जनाको फायर फाइटर टोलीले उक्त स्थानबाट कुकुरको सकुशल उद्धार गरेका थिए।
उद्धार गरिएको कुकुरलाई फायर फाइटरहरुले सो स्थानको भेटिनरी सेवालाई बुझाएका छन् , जहाँ उक्त कुकरको स्वास्थ्य परिक्षण गरिनेछ।
फायर फाइटरको टोलीले कुकुर उद्धारको फोटोहरु कर्पोरेशनको फेसबुक पेजमा राखेपछि त्यसका मालिक सम्पर्कमा आएका छन्। उनले केही दिन अगाडी मात्रै कुकुर घरबाट हराएको सूचना प्रहरीलाई दिएका थिए।