लिस्बन।
पोर्चुगलमा नक्कली टिकट बेचेर डेढ लाख युरो बढी ठग्ने एनआरएनए नेता विक्रमजंग कुँवरको नेपालमा रहेको घरजग्गा रोक्का गर्न सरकारी पहल शुरु भएको छ।
लामो समयदेखि रेमिट्यान्स मार्फत ठगी गर्दै आएका कुँवरले पछिल्लो समय हवाई यात्रामा नक्कली टिकेट दिएर ठगी गर्दै आएका थिए। पोर्चुगलमा श्रम गरि बर्षौपछि नेपाल फर्किन लागेका सयौ नेपालीहरुलाई नक्कली हवाई टिकेट बिक्रि गरेर लगभग २ करोड ठगी गरेर फरार भएका एनआरएनए पोर्चुगलका कोषाध्यक्ष विक्रमजंग कुँवरलाई यसअघि संघको नेतृत्वले संरक्षण गर्दै आएको थियो।
निज कुँवरको ठगी बिरुद्ध आज पोर्चुगलमा बसेको सर्वपक्षीय बैठकले पोर्चुगलस्थित नेपाली काउन्सिलरको कार्यालयमा सो निर्णय गरेको हो। पोर्चुगलस्थित नेपाली काउन्सिलरको कार्यालयले ठगीको सम्पूर्ण विवरण संकलन गरिरहेको छ । काउन्सिलरको कार्यालयले निज कुँवरबाट ठगीमा पर्नुभएका पिडितहरुलाई काउन्सिलरको कार्यालयमा बिवरण बुझाउन अनुरोध गरेको छ।
स्रोतका अनुसार ठगी कति र कसरी भएको हो त्यसबारे काउन्सिलरले फ्रान्सस्थित नेपाली दूतावासमा लिखित रूपमा जानकारी पठाउने र दूतावासमार्फत नेपालको परराष्ट्र मन्त्रालयमा कुँवरलाई कारबाहीका लागि सिफारिस गरिने प्रक्रिया अगाडी बढेको छ ।
पीडितले पोर्चुगल प्रहरीमा कुँवरबारे उजुरी दिइसकेको सन्दर्भमा अब बाँकी मुद्दा काउन्सिलरको कार्यालयले जिम्मेवारी लिएर पिडितको पक्षबाट लडिदिने भएको छ ।
गैरआवासीय नेपाली संघ पोर्चुगल, जनसम्पर्क समिति पोर्चुगल, जनप्रगतिशील मञ्च, नेपाली महिला समाज, बागलुङ समाज, तामाङ समाज, लमजुङ समाज, म्याग्दी प्रवासी नेपाली संघ (मोना) लगायतले नक्कली टिकट काण्डका सन्दर्भमा पोर्चुगलमा रहेका दर्जनौं संघसंस्थाले विज्ञप्ति जारी गरेर कडा विरोध जनाएका छन् ।