कैलालीको क्षेत्र नं. ५ बाट नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणाका विरुद्ध नेपाली कांँग्रेसका महासमिति सदस्य क्षितिज भण्डारीले उम्मेदवारी दिएपछि कैलाली काँग्रेसमा खैलाबैला मच्चिएको छ ।
रामचन्द्र पौडेल खेमाका भण्डारीले संस्थापन पक्षले टीकट वितरणमा एकलौटी गरेको भन्दै आरजुविरुद्ध उम्मेदवारी दिएका हुन् । उनले आफ्नो उम्मेदवारी कुनै पनि हालतमा फिर्ता नलिने बताए । उनले भने–‘आफ्नो उम्मेदवारी फिर्ता लिनुपर्यो भनेर सबैतिरबाट दबाब आएको छ तर कुनैपनि हालतमा फिर्ता लिने छैन् । आरजुलाई जसरी पनि पराजित गरेर छोड्छु ।’
यसअघि २०७० को संविधान सभाको चुनावमा पार्टी सभापति शेरबहादुर देउवाले यही क्षेत्रबाट चुनाव जितेर छोडेको र फेरी यसपटकको चुनावमा आफ्नी पत्नी आरजुलाई उठाएर पारिवारीक क्षेत्र बनाउन खोजेकोले त्यसकाबिरुद्ध आफ्नो उम्मेदवारी रहेको भण्डारी बताए ।
वर्षौदेखि जिल्लामा बसेर जनताको घरदैलोमा गएर संगठन बनाउने असली कार्यकर्तालाई पन्छाएर पार्टी सभापति देउवाले टुरिष्ट नेता ल्याएर खेलबाड गरेको भण्डारीको आरोप छ ।
भण्डारीले नेपाली काँग्रेस (बिपी) पार्टीबाट आरजुबिरुद्ध उम्मेदवारी दर्ता गराएका छन् । उनले बिपीको सिद्धान्तलाई स्थापित र देउवाको हैकमबादकाबिरुद्ध आफूले डटेर लड्ने बताए । बिपीको सिद्धान्त र काँग्रेसको समाजबादलाई अंगिकार गर्ने नेता कार्यकर्ताहरुको आफूलाई समर्थन रहेको भण्डारीको भनाई छ । भण्डारी ‘पारिवारिकबादलाई परास्त गरौं, बिपीको सिद्धान्त स्थापित गरौं’ भनेर घरदैलो अभियानमा जुटेका छन् ।
उनले जसरी पनि आरजुलाई पराजित गरेर छोड्ने ठोकुवा गरे । स्थानीयस्तरमा राम्रो छबि र पकड भएका भण्डारीको उम्मेदवारीपछि बामगठबन्धनलाई फाइदा पुग्ने विश्लेषकको भनाई छ । भण्डारीको उम्मेदवारीपछि काँग्रेसमा ठूलो खैलाबैला उत्पन्न भई उनलाई उम्मेदवारी फिर्ता लिन काँग्रेस केन्द्रीय तथा जिल्लास्तरका नेता लागिपरेका छन् ।