पोर्चुगल कोरोना मृत्युदर शुन्यमा झर्यो : १५ पटकको लगातार १७३ दिन लामो संकटकालको आज अन्त्य !

गणेश पाण्डेय , पोर्चुगल ।

पोर्चुगलमा कोरोना संक्रमणका कारण मृत्युहुने दर शून्यमा झरेको छ। यो संगै लगातारको १७३ दिन लामो स्वास्थ्य संकटकालको आज पोर्चुगलमा अन्त्य हुने भएको छ।

आज शुक्रवार कोरोनाका कारण कसैको पनि ज्यान गुमाउनु परेन तर संक्रमितको संख्या भने अझै रोकिएको छैन। आज मात्रै कोरोनाका ४६० जना संक्रमित थपिएका छन्।

पोर्चुगलका राष्ट्रपति मर्सेलो रेबेलो दे सौसाले लगातारको १७३ दिन लामो संकटकालको आज शुक्रवार ३० अप्रिलमा अन्त्य हुने बताउनुभएको हो।

राष्ट्रपतिद्वारा नोभेम्वर ९ तारिखबाट लागु गरिएको दोश्रो चरणको संकटकाल एघारौ पटक नबिकरण गर्दै लगातार १७३ दिन ३० अप्रिलसम्मका लागि लगाईएको थियो।

पोर्चुगल स्वतन्त्र प्रजातान्तिक गणराज्य भएयता इतिहासमै पहिलोपटक कोरोनाका कारण गत बर्ष १९ मार्चदेखि २ मे २०२० सम्म ४५ दिनका लागि संकटकाल लगाईएको थियो। कोरोनाको कहरले मात्रै रोकथामका उपायहरुमा १५ पटक सम्म संकटकाल लागु हुदै कानुनमा समेत अनुमोदन गरिएको थियो।

कोरोनाका कहरबिच रोकथामका उपायहरुमा पोर्चुगलमा कूल २१८ दिन संकटकाल लगाईएको छ।

राष्ट्रपति मर्सेलोले मंगलवार राष्ट्रका नाममा सम्बोधन गर्दै संकटकालको पन्ध्रौ अनुमोदन कानुन नै अन्तिम हुने र अब संकटकाल थप नगरिने बताउनुभएको हो।

संकटकाल कानुनले आम नागरिकका कयौ मौलिक हकहरु निलम्बन गरेको थियो।

कोरोनाको पहिलो लहरमा ४५ दिनको संकटकाल लागु गरि विश्वमै कोरोना संक्रमण रोकथाममा उत्कृष्ट प्रदर्शन गरेको पोर्चुगल कोरोनको दोश्रो लहरमा अक्टोबरदेखि नराम्ररी थिचियो।

सन् २०२१ को सुरुवातीसंगै पोर्चुगल संसारकै सबैभन्दा बढी संक्रमण र मृत्युदर भएको राष्ट्र बन्यो। अस्पतालहरु रातारात कोरोनाक बिरामीले भरिभराउ भए। हेर्दाहेर्दै सिकिस्त बिरामीहरु बोकेर ल्याएका पचासौ एम्बुलेन्सहरु देशका हरेक अस्पतालबाहिर बेड खाली नहुदा ३० -३० घण्टासम्म कुर्न बाध्य भए। सिकिस्त बिरामीहरुको एम्बुलेन्सभित्रै उपचार सुरु गरियो।

सरकारले उता कोरोना नियन्त्रण गर्न संकटकाल कानुनमा झन् कडाई गर्यो, सबै व्यापारिक प्रतिस्ठानहरु , शैक्षिक संस्थाहरु बन्द गरिए , लकडाउन निकै कडा पारियो, देशका सबै नाकाहरु र हवाई यात्राहरु बन्द गरियो ।

लकडाउन प्रभावकारी गर्न सुरक्षा अधिकारीहरुलाई पूर्ण अधिकार दिईयो। संकटकाल र लकडाउन कानुन उल्लङ्घन गर्नेहरुलाई सुरक्षा अधिकारीहरुले व्यक्तिगत रुपमा २००-१००० युरोसम्म जरिवाना, र व्यवसायको हकमा २ हजार देखि १० हजारसम्म स्पटमै जरिवाना गर्नसक्ने अधिकार दिईयो।

सरकारले नागरिकको सहयोगबिना एक्लै कोरोना संक्रमण रोक्न नसक्ने भन्दै आम नागरिकहरुलाई हातेमालो गर्न आव्हान गर्यो। नागरिकहरुले संकटकाल कानुनको पालना गरे। संकटकाल कानुन उल्लङ्घन गर्नेहरु जरिवाना र सजायको भागिदार भए।

संसारकै नम्बर एक हटस्पट र सबैभन्दा उच्च संक्रमण र मृत्युदर भएको पोर्चुगल पूर्ण लकडाउनका कारण ४ महिना नबित्दै शुन्य मृत्युदरमा पुग्न सफल भयो।

पोर्चुगलमा कोरोनाको जोखिम अझै सकिएको छैन, कोरोना संक्रमणको दरको आधारमा देशका विभिन्न भागहरुमा छुट्टाछुट्टै ४ कानुनहरु लागु गरिएको छ। सरकार लकडाउनलाई चरणबद्ध रुपमा खुकुलो गर्दै गएको छ। सावधानीका उपायहरु निरन्तर अनुसरण गर्न सरकारले आव्हान गरेको छ।

पोर्चुगलमा हालसम्म कोरोना संक्रमणले १६ हजार ९७४ जनाले ज्यान गुमाईसकेका छन्। कुल संक्रमित संख्या ८ लाख ३६ हजार ३३ पुगेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार