काठमाडौं– यूरोपका विभिन्न प्रतिष्ठित देशहरुबाट छानिएर हरेक चार–चार वर्षमा खेलाईने यूरो कप फुटबल २०२० यही जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुँदैछ ।
सन् २०२० मा नै हुनु पर्ने यो प्रतियोगिता कोरोना महामारीका कारण एक वर्षपछि आयोजना गर्न लागिएको हो ।
यूरो कपको १६औं संस्करण यो पटक यूरोपका विभिन्न देशका ११ वटा शहरमा आयोजना हुँदैछ ।
प्रतियोगिता प्रारम्भ भएको ६० वर्ष पुगेको अवसरमा यूरोपका ११ शहरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
यूईएफएले यूरो कप लण्डन, आम्स्टरडम, बाकु, सेभिया, बुखारेस्ट, बुडापेस्ट, कोपन्हेगन, ग्लासगो, म्युनिख, रोम र सेन्ट पिटर्सवर्गमा आयोजना गर्ने तयारी गरेको छ ।
इटालीको रोममा हुने उद्घाटन खेलमा टर्की र इटाली भिड्ने छन् ।
प्रतियोगिताको फाइनल खेल लण्डनमा हुनेछ ।
यस संस्करणको यूरो कप फुटबलमा २४ टिमको सहभागिता रहेको छ ।
युईएफएले आयोजक विभिन्न राष्ट्रहरु, खेल तालिका र ती खेल हुने स्थानहरु सार्वजनिक गरिसकेको छ, जसमा ६ समूहहरु छन् ।
साविक विजेता पोर्चुगल यस पटक समूह ‘एफ’ अर्थात् अन्तिम समुहमा रहेको छ ।
क्रिस्टियानो रोनाल्डोको कप्तानीमा प्रशिक्षक फर्नान्डो सान्तोसले आफ्नो मुख्य टोली उतारी सकेका छन्।
समूह एफमा पोर्चुगलसंगै हंगेरी (आयोजक), फ्रान्स (विश्व च्याम्पियन) र जर्मनी (आयोजक) परेका छन् ।
पोर्चुगलले समूह चरणमा आफ्नो पहिलो खेल जून १५ मा हंगेरीविरुद्ध खेल्दैछन भने दोस्रो खेल जून १९ मा जर्मनीविरुद्ध र तेस्रो खेल जून २३ मा फ्रान्सविरुद्ध
खेल्नेछ ।
पोर्चुगलको यूरो २०२० खेल्ने टोली
गोलकिपर – एन्थोनी लोपेस (लियोन), रुई प्याट्रिसियो (वल्भ्स) र रुइ सिल्भा (ग्रानडा)
डिफेन्डर – जोओ क्यान्सिलो (म्यानचेस्टर सिटी), नेल्सन सेमेडो (वल्भ्स), जोस फोन्टे (लिल), रुवेन डियास (म्यानचेस्टर सिटी), नुनो मेन्डेस (स्पोर्टिङ सिपी) र राफयल गुरेइरो (बोरुसिया डर्टमुन्ड)
मिडफिल्डर – डानिलो पेरेइरा (पीएसजी), जोओ पाल्हिन्हा (स्पोर्टिङ सिपी), रुवेन नेभेस (वल्भ्स), ब्रुनो फर्नान्डेस (म्यानचेस्टर युनाइटेड), जोओ मौटिन्हो (वल्भ्स), रेनाटो सान्चेज (लिल), सर्जियो ओलिभेइरा (पोर्टो) र विलियम कार्भाल्हो (रियल बेटिस)
फरवार्ड – पेड्रो गोन्कालभेस (स्पोर्टिङ सिपी), आन्द्रे सिल्भा (आइनट्राख्ट फ्रान्कफुर्ट), बर्नाडो सिल्भा (म्यानचेस्टर सिटी), क्रिस्टियानो रोनाल्डो (युभेन्टस), डिएगो जोटा (लिभरपुल), गोन्कालो गुइडेस (भ्यालेन्सिया), जोआओ फेलिक्स (एट्लेटिको म्याड्रिड) र राफा सिल्भा (बेन्फिका)