CM जोशी
(दुर्जनहरूका सम्बन्धमा विभिन्न विद्वानहरूद्वारा गरिएका विश्लेषणहरू)___
भाग एक
१) दुर्जनका लक्षणहरू—
नारिकेल समाकारा: दृश्यन्ते भुवि सज्जना: ।
अन्ये बदरिकाकारा: बहिरेव मनोहरा:।।
(मलाई थाहा न भएका कुनै कवि)
यस संसारमा भएका सबै सज्जनहरू नरिवल जस्तै हुन्छन् , बाहिर बाट कठोर तर भित्र बाट नरम। यसको विपरीत दुर्जनहरू बयर जस्तै हुन्छन् , बाहिर बाट नरम तर भित्रबाट कठोर।
त्यसको अर्थ यो हो कि सज्जनहरू ले कसै संग कठोर व्यवहार गरेको देखिए पनि उसलाई राम्रो बाटो डोर्याउनका लागि त्यस्तो व्यवहार गरिएको हुन्छ,भित्र बाट उसको कल्याणकै कामना गरेका हुन्छन् तर दुर्जनहरू बाहिरबाट असल व्यवहार गरेको देखिए पनि उनको हृदय मा गाँठो रहेको हुन्छ, मौका मिल्ने बित्तिकै केही बिगार गरि हाल्छन् ।
खल: सर्षपमात्राणि परछिद्राणि पश्यति।
आत्मनो बिल्वमात्राणि पश्यन्यपि न पश्यति।।
(मलाई थाहा न भएका कुनै कवि)
दुर्जनहरू अर्को मानिससंग भएको एकदमै सानो (तोरी वा सरसोंको दाना बराबर रहेको ) अवगुण तुरन्तै देखि हाल्छन् तर आफू संग भएको धेरै ठूलो (बेल को दाना बराबर अर्थात् तोरीको दानाभन्दा हजारौं गुना ठूलो) अवगुण देख्दा देख्दै पनि
वास्ता गर्दैनन्।
मनस्येकं वचस्येकं कर्मण्येकं महात्मनाम्।
मनस्यन्यद् वचस्यन्यद् कर्मण्यद् दुरात्मनाम्।।
(मलाई थाहा न भएका कुनै कवि)
सज्जनहरू मनमा जुन् कुरा मनमा सोच्दछन् , त्यही कुरा मुखले पनि बोल्दछन् र व्यवहारमा गरि पनि राखेका हुन्छन्। यसरी उनको मन,वचन र कर्ममा एउटै भावना हुन्छ र त्यो हो अर्कोको भलाई गर्ने भावना।
यसको विपरीत दुर्जनहरूको मनमा केही कुरा हुन्छ, मुखले अर्कै कुरा बोल्दछन् र काम अर्कै गरि दिन्छन्। तिनी मनमा अर्कोको बिगार गर्ने उपाय सोच्दछन् , मुखले मीठा मीठा कुरा बोल्दछन् र कर्मले अर्कोको हानि गरि रहेका हुन्छन्।
आरभ्य गुर्वी क्षयणी क्रमेण,
लघ्वी पुरा वृद्धिमती च पश्चात्।
दिनस्य पूर्वाद्ध परार्ध भिन्ना
छायेव मैत्री खल सज्जनानाम्।।
(श्री भर्तृहरि)
दिनको पूर्वार्धमा कुनै वस्तुको छाया शुरूमा धेरै लामो हुन्छ र त्यो विस्तारै घट्दै गएर मध्यान्ह (दिउसो १२बजेतिर) शून्य भैहाल्छ। फेरी मध्यान्ह तिर शून्य भएको छाया बढ्दै गएर दिनको अन्ततिर अझ धेरै लामो भै हाल्दछ।
ठीक त्यही कुरा दुर्जन र सज्जनको मित्रतामा पनि लागू भएको देखिन्छ। दुर्जनहरूको मित्रता दिनको पूर्वार्धमा हुने छाया जस्तै हुन्छ र सज्जनहरूको मित्रता दिनको उत्तरार्धमा हुने छाया जस्तै।
दुर्जनहरू परिचय हुने बित्तिकै गहिरो मित्रभयेको जस्तो देखिन्छन् तर पछि साना तिना कुरामा विवाद गर्दै रहन्छन् र त्यो मित्रता घट्दै गयेर अन्तमा शून्य मा पुग्छ।
त्यसको विपरीत सज्जनहरू परिचय हुने बित्तिकै मित्रता गाँस्दैनन् , अपितु नवपरिचित व्यक्तिको स्वभाव, बानी व्यहोरा बुझ्ने प्रयास गर्छन् , यो व्यक्ति मित्रता गाँस्न लायक छ वा छैन भन्ने मूल्यांकन गर्छन् , उचित देखियो भने विस्तार विस्तारै मित्रता बढाउदै जान्छन् र अन्तमा तिनीहरूको बीच मा अटूट मित्रता स्थापित हुन्छ।
तक्षकस्य विषं दन्ते मक्षिकाया: विषं मुखे।
वृश्चिकस्य विषं पुच्छे सर्वाङ्गे दुर्जने विषम्।।
(आचार्य चाणक्य)
सर्पको दातमा विष रहेको हुन्छ, झिंगा(माखो)को मुखमा विष रहेको हुन्छ र बिच्छीको पुच्छरमा विष रहेको हुन्छ। तर दुर्जनका सबै अंग विषै विषले भरिएका हुन्छन्।
सोना सज्जन साधु जन टूटि जुरें सौ बार।
दुर्जन कुम्भ कुम्हारके एकै धक्का दरार।।
(श्री रहीम कवि)
जसरी सुनको टुक्रा जति पीटे पनि वा जति धेरै टुक्रा मा विभाजित गरे पनि अझ फेरी जुरि हाल्छ उस्तै सज्जनहरू सित जति दुर्व्यवहार गरे पनि वा जति कष्ट दिए पनि उनी रिसाउदैनन् अपितु क्षमा गरिदिन्छन्।
त्यसको विपरीत दुर्जनहरू कुमालका घडा जस्तै हुन्छन् जुन एउटा सानो चोट लाग्ने बित्तिकै सयौं टुक्रामा विभाजित भएर केही गरी जोडिदैनन्।
परहित हानि लाभ जिन्ह केरें।
उजरें हरष विषाद बसेरें ।।
पर अकाज लगि तनु परिहरहीं।
जिमि हिम उपल कृषी दलि गलहीं।।
(गोस्वामी तुलसीदासजी)
दुर्जनहरूलाई अर्काको हित भए आफ्नो हानि भएको लाग्छ र अर्काको हानि भए उनी आफ्नो लाभ भएको देख्छन्। कुनै मानिसको बर्बादी भएपछि अर्थात् कसैको अस्तित्व उज्र्यो भने तिनीहरू खुसी हुन्छन् र कसैको घर बस्यो भने तिनीहरू दुःखी हुन्छन्।
जसरी असिनाहरू खेतीको विनाश गरेर आफू पनि पग्लेर नष्ट भै हाल्छन् त्यस्तै दुर्जन हरू आफ्नो प्राण दिएर पनि अर्काको काम बिगार्ने प्रयास गरि राख्दछन्।
सानो देखि छुचो हुन्छ दुष्ट मानिसको मति।
घोच्ने ती जंगली कांडा पहिले देखि तिखा कति।।
(कवि शिरोमणि लेखनाथ पौड्यालज्यू)
यसको अर्थ आफै स्पष्ट छ।
बन्दउं सन्त असज्जन चरना।
दुखप्रद उभय बीच कछु बरना।।
बिछुरत एक प्राण हरि लेहीं।
मिलत एक दुख दारुन देहीं।।
(गोस्वामी तुलसीदासजी)
गोस्वामी तुलसीदासजी भन्नु हुन्छ कि म सज्जनहरू र दुर्जनहरू दुवैको चरणवन्दना गर्छु। दुवैमा एउटा समानता छ। त्यो समानता के हो भने दुवै दुख दिने गर्दछन्। तर दुवैले दिने दुखमा तात्विक भिन्नता छ। सज्जनहरू बिछोड हुने बेलामा असह्य दुख दिने गर्दछन् अर्थात् उनीहरू बिछोड हुने बेलामा हामीलाई असह्य दुख हुन्छ। तर दुर्जनहरू मिलन भए देखि दुख दिइ राखेका हुन्छन् जस्ले गर्दा उनीहरू संग बिछोड हुंदा अपार खुशी लाग्छ।
२) दुर्जनको संगतमा बस्दा हुने हानिहरू—
अहो दुर्जन संसर्गात् मानहानि पदे पदे।
पावको लौहसङ्गेन मुद्गरैरभि हन्यते।।
(आदि शंकराचार्य)
जस्तै फलामको संगत गर्दा अग्निले पनि घनको चोट खानुपर्छ त्यस्तै दुर्जनहरूको संगत गर्दा सज्जनहरूको पनि कदम कदममा अपमान भै राखेको हुन्छ (तातो फलामलाई घनले पिट्दा तातो फलाममा अन्तर्निहित अग्नि पनि फलाम सित पिटिए को हुन्छ )
अन्तर्मलिन संसर्गात् ज्ञानवानपि दुष्यते।
सुराबिन्दु निपातेन पञ्चगव्य घटो यथा।।
(आदि शंकराचार्य)
जसरी पञ्चगव्यले भरिएको भाँडो मा एक थोपा पनि मदिरा को मिसिए पछि पूरै पञ्चगव्य दूषित भैहाल्छ त्यस्तै कालो मन भएको (अर्थात् मनमा कुविचार भएको ) मानिसको अलिकति पनि संगत गरेपछि ज्ञानवान् मानिसका विचार पनि दूषित भैहाल्छन् ।
अणुरप्यसतां सङ्गो सद्गुणान् हन्ति विस्तृतम्।
गुणा: रूपान्तरं यान्ति तक्र योगाद्यधा पय:।।
(आदि शंकराचार्य)
दुर्जनसंगको एक क्षणको पनि संगत गर्दा जस्तोसुकै मानिसका सद्गुणहरू तुरन्तै दुर्गुणहरूमा यस प्रकार परिवर्तित भैहाल्छन्
जसरी मोही (छाँछ) को एक थोपा मात्र सित दूधको सम्पर्क हुँदा दूधको मीठो स्वाद अमिलो मा परिवर्तित हुन्छ।
दुर्जनैर्सर्पयोर्मध्ये वरं सर्पो न दुर्जन:।
सर्पो दंशति काले तु दुर्जनस्तु पदे पदे।।
(आचार्य चाणक्य)
दुर्जन र सर्पको तुलना गर्दा के देखिन्छ भने दुर्जन भन्दा सर्प राम्रो छ किनभने सर्पले आत्मरक्षाका लागि मात्रै टोक्छ तर दुर्जन ले कदम कदममा टोक्दै गर्छ र त्यो पनि लुकीछिपी।
एकोsपि दुर्जनो यदि स्यात् साधूनां च शतैरपि।।
सर्वे ते क्लेशमायान्ति तेनेकात् दुष्टता कृता।।
(मलाई थाहा न भएका कुनै कवि)
सय जना सज्जनहरूको बीचमा एउटा पनि दुष्ट यदि छ भने त्यस संग भएको दुष्टता ले गर्दा सबै सय नै सज्जनहरू दुख पाउँछन् ।
संतप्तायसि संस्थितस्य नलिने नामापि न ज्ञायते।
मुक्ताकारयया तदेव नलिनीपत्र स्थितं राजते।।
(श्री भर्तृहरि)
धेरै तातो भएको फलाममा एक थोपा पानी हालियो भने त्यस थोपाको नामनै रहदैन अर्थात् त्यो बिलाई हाल्छ तर पानीको त्यही थोपा कमलको पातमा राखियो भने त्यो मोती जस्तै चम्कन थाल्छ।
पानी को थोपा त्यही हो तर त्यो तातो फलाम जस्तो दुष्टको संगत गर्दा नष्ट हुन्छ र कमलको पात जस्तो राम्रो संगतमा बस्दा मोती जस्तै चम्कन्छ अर्थात् उन्नतिको शिखरमा पुग्छ।
निसन्देह हामी पनि राम्रो संगतमा हुन्छौं भने उन्नति गर्ने छौं, तर दुर्जनहरूको संगत गर्छौँ भने अधोगति तिर जानेछौं।
बसि कुसंग चाहत कुशल यस रहीम जिय सोस।
महिमा घटी समुद्रकी रावन बस्यो परोस।।
(श्री रहीम कवि)
यदि कुनै मानिस कुसंगमा बस्ने गर्दछ तर मेरो उन्नतिनै होला भन्ने आशा राख्छ , त्यस मानिसका लागि रहीम कविको हृदयमा अपशोच छ किनभने वहाँलाई त्यस मानिसको उन्नति हुन सक्दैन भन्ने दृढ विश्वास छ। रहीम कवि एउटा उदाहरण दिएर भन्नुहुन्छ कि अगम्य र अपार समुद्रको पनि रावण जस्तो दुष्टको पडोस (छिमेक) मा बसेको हुनाले महिमा घटि दियो किनभने बाँदर जस्ता क्षुद्र प्राणीहरूले पनि त्यस अगम्य समुद्र
लाई पार गरि दिए।
यस पछिको कुरा (दुर्जनहरू संग गर्नु पर्ने व्यवहार, तिनीहरूलाई वशमा राख्न सकिने उपाय आदि ) भाग दुईमा प्रस्तुत गर्ने छु। यी सबै कुरा पढेर आत्मसात् गर्नु होला भन्ने पनि अनुरोध गर्दछु।