एमाले’ले सरकारलाई विश्वासको मत नदिने

काठमाडौं ।

नेकपा एमालेको स्थायी कमिटी बैठकले एमाले एकता कार्यदलको १० बुँदे प्रस्तावलाई अनुमोदन गरेको छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकले सरकारलाई समर्थन नगर्ने र विश्वासको मत पनि नदिने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवाललीले जानकारी दिनुभयो ।

यस्तै बैठकले १० सदस्यीय एकता कार्यदल भङ्ग गर्ने निर्णय पनि गरेको छ । अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरूको मात्र उपस्थिति रहेको बैठकले यो निर्णय गरेको हो ।

यसअघि स्थायी कमिटी बैठकको अध्यक्षता गर्दै अध्यक्ष ओलीले आवेग र उत्तेजनामा नआइ रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बतानुभएको थियो । राष्ट्रियता, लोकतन्त्र, राष्ट्रिय छवि निर्माण, विकास निर्माण र समृद्धिका लागि पार्टी निरन्तर सक्रिय रहने उहाँको भनाई थियो ।

शुक्रबारको बैठकमा वामदेव गौतमसहित नेपाल पक्षको भने उपस्थिति थिएन । तर, वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरू भीम रावल, गोकर्ण विष्ट, घनश्याम भुसाल र भीम आचार्यसहितका नेता बैठक रोक्न माग गर्दै पुगेका थिए ।

एकताका लागि गृहकार्य बाँकी रहेकाले बैठक रोक्न माग गरे पनि अध्यक्ष ओलीले बैठक नरोकिने बताएपछि उनीहरु बैठकस्थलबाट बाहिरिएका थिए । एमाले संसदीय दलको बैठक पनि आजै दिउँसो ३ बजे नयाँबानेश्वरस्थित संसद् भवनमा बस्दैछ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार