किन हराईरहन्छ देशको उज्यालो ?

हेर्दाहेर्दै युग बाँचिरहेको अँध्यारोमा
देख्दादेख्दै देश हिँडिरहेको ओरालोमा
बसिरहेँ म पनि आफ्नै गुप्तकोठाभित्र
बुनिरहेँ युगिन सपनाहरूको स्वेटर
उधारेर गलत बाटाहरू
सिउँरेर नयाँ गाथाहरू …!

मैले सोंचे आजभन्दा भोलि राम्रो हुनेछ
भोलिभन्दा उज्ज्वल पर्सि हुनेछ ।
भोग्दाभोग्दै गरिबीको नांगो हविगत
तात्दातात्दै मनभित्र उम्लिरहेको रगत
बसिरहेँ आफ्नै चिसो ओदानछेउ
सल्काएर एक निमेष उज्यालो
सोंचिरहेँ —
केही नहुनेहरूको कोही त हुन्छ
कोही नहुनेहरूको केही त हुन्छ ।

अफसोच् !
खण्डहर बाँचिरहेको भोको पुजारीलाई
कहिले बाढी आएर बगाइदिन्छ
कहिले पहिरो आएर पुरिदिन्छ
कहिले खाँबो थर्थराएर ब्यूँझ्याइदिन्छ
त्रासमा यस्तै कतिका अनिँदा रातहरू बिहान भए
कति घरवारविहीन, कतिका ज्यान गए ।
कुनै त्यो दिन थियो

जब रगत उम्लिएर परिवर्तनका उल्काहरू खस्न थाल्थ्यो
अब त नयाँ घरहरू
नयाँ गोरेटाहरू
र मान्छेहरू उज्यालिने भए
लाग्थ्यो, सबैकुरा नयाँ हुने भए
फेरिनेछ केही, देखिनेछ केही नयाँ पुरानूमा ।

जब आकाशमा परिवर्तनका चंगाहरू उड्न थाल्छन्
मेरो देशमाथि उदाइरहेको घामलाई
कालो बादलले बर्को ओढाइदिन शुरु गर्छ
र समयले देशको अनुहारमा हिलो छ्यापेर गै’हाल्छ ।
अब त सोंचिरहन्छुमात्रै
मेरो देशको धमिलो अनुहार सङलियो ?
मेरो देशका मान्छेहरूको ऎनामा अनुहारको रंग फेरियो ?

जबजब हिमालका खोंचहरूबाट हर्षका बाफहरू उड्न थाल्छन्
जबजब पहाडका पाखुराहरूबाट मायाका धूनहरू गुन्जिनथाल्छन्
जबजब तराईका हरिया फाँटहरूबाट आशाका बालीहरू लहलहाउन थाल्छन्
ठीक यही समय हो, यही समयमा
किन हराईरहन्छ देशको उज्यालो ?

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार