चितवन ।
गैर आवासीय नेपाली संघ, हङकङ राष्ट्रिय समन्वय परिषद्ले चितवनको भरतपुर महानगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालको संयोजनमा भरतपुर महानगरपालिकालाई सोमबार १० थान अक्सिजन कन्सन्ट्रेटर र ९० हजार थान मास्क वितरण गरेको हो ।
चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष समिर केसीले हस्तान्तरण भएका १० थानमध्ये ७ थान भरतपुरलाई र ३ थान माडी नगरपालिकालाई उपलब्ध गराउने जानकारी दिनुभयो ।
त्यस्तै मास्क समेत निरन्तर ड्युटीमा खटिनुपर्ने प्रहरी, ट्राफिक प्रहरी, महानगरको फोहोर व्यवस्थापनमा खटिने कर्मचारी लगायतलाई उपलब्ध गराउने उहाँको भनाइ छ ।
देशमा आपतविपत पर्दा गैरआवासीय संघ सँधै सहयोगी हात फैलाउन तयार रहने र कोभिड महामारीमा देश तथा विदेशमा रहेका नेपालीहरुलाइ सहयोग गर्दै आइरहेको गैरआवासीय नेपाली संघको अन्तराष्ट्रिय अध्यक्ष बद्री केसीले जानकारी दिनुभयो ।
नेपाल बाहिर ११० बढी देशमा ८० लाख नेपालीहरू बसोबास गर्दै आइरहेको र ती सवैको अभिभावकको रूपमा संस्थाले काम गरिरहेको केसीले बताउनुभयो ।