नुवाकोट । वाम गठबन्धनसँग पराजयको नजिक पुगेका नुवाकोट क्षेत्र नं. १ कांग्रेस उम्मेदवार रामशरण महत मतदान अघिको मौन समय सुरु भएपछि पैसा बाढ्न गाउँगाउँ हिड्न थालेका छन् । पैसा बाढेर भएपनि चुनाव जित्न कस्सिएका महत बाँकी दुइ दिनमा कम्तिमा पनि १५ करोड खर्च गर्ने तयारीमा रहेको खुलासा भएको छ ।
मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफूले जसरी पनि जित्नुपर्ने भन्दै उनी १५ करोड खर्च गर्ने तयारी रहेको उनी निकटस्थ उच्च स्रोतले जानकारी दिएको हो । यस्तै बुथ कब्जा गर्ने उदेश्यले तरुण दल, अन्य आयातीत गुण्डाहरु समेत परिचालन गर्ने तयारी गरेको स्रोतको दावी छ । तर कांग्रेसकै केही कार्यकर्ताहरुले नेता महतलाई अव खर्च नगर्न सुझाव दिएका छन् ।
जति खर्च गर्दापनि यस पटकको चुनावको परिणाम आफ्नो पक्षमा पार्न नसक्ने भन्दै उनीहरुले पैसा खर्च नगर्न सुझाव दिएका हुन् । महतको सुरक्षामा खटिएका एक सुरक्षाकर्मीले नाम उल्लेख नगर्ने सर्तमा भने, डा. साप जसरी पनि पैसा बाढ्ने र जित्नुपर्छ भनिरहनु भएको थियो, तर केही कार्यकर्ताले नै जति पैसा बाँडेपनि नजित्ने पक्का भयो भन्दै महतलाई सम्झाउन थालेका छन् ।
चुनावी माहौल वाम गठबन्धनको पक्षमा रहेको र एक पटक हितबहादुर तामाङ सहितको गठबन्धनका उम्मेदवारलाई हेरौँ भन्ने भावना मतदातामा देखियो, कांग्रेस कार्यकर्तालाई उधृत गर्दै उनले भने, यो पटक केही गर्दा पनि सफल नहुने भैयो । तर कांग्रेसभित्र निर्वाचनमा केही ठाउँमा बुथकब्जाका लागि जोड दिने तयारी भएको स्रोतको दावी छ ।
यसअघि महतले २०७० र ०६४ सालको संविधानसभा निर्वाचनमा अत्याधिक पैसा बाढ्ने र पछि मतदान अधिकृत नै किनेर परिणाम आफ्नो हातमा पार्दै आएका थिए । यस पटक भने माओवादी केन्द्रका सचिवालय सदस्य एवं पूर्व युवा तथा खेलकुद मन्त्री हितबहादुर तामाङ वाम गठबन्धनतर्फबाट सशक्त रुपमा प्रस्तुत भएपछि महत परिवारमा भूइँचालो नै गएको छ ।
महतले एमाले र माओवादी केन्द्रको गठबन्धनका उम्मेदवारलाई फेरि हराउन साम, दाम, दण्डभेद प्रयोग गरेरै भए पनि जित्नु पर्ने रणनीति लिएका छन् । बलिया उम्मेदवार तामाङलाई हराउने भन्दै महतले तामाङ समुदाय र ती समुदायका युवाहरु जागिर लगाइदिने र छोराछोरीलाई विदेश पठाउने प्रलोभन देखाएर भोट माग्न समेत अह्राएको विश्वस्त सुत्रले बताए ।