सोलुखुम्बु । आइतबार प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन हुँदैछ । पहिलो चरणमा हिमाली जिल्लामा पहिलो चरणको निर्वाचन हुन लागेको हो । चुनाव हुने सोलुखुम्बुको तिङ्ला गाउंका कुनै पनि नागरिकले मतदाता परिचयपत्र नै लिएनन् ।
तिङ्लामा २५ सय ७५ मतदाता छन् । तर कसैले पनि मतदाता परिचय पत्र लिन नआएपछि भोली निर्वाचनमा सहभागी हुने पनि निश्चित हुन सकेको छैन । त्यहां रहेको निर्वाचन अधिकृतको कार्यालयले हिंजो र आजका लागि मतदाता परिचय पत्र वितरणको समय दिएको थियो ।
तर कसैले पनि प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि मतदाता परिचय पत्र लिन नआएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
राज्य पुनसंरचनाका क्रममा तिङ्लालाई नेचासल्यान गाउँपालिकामा राखेको विरोधमा तिङ्लाबासीले ‘नो भोट, नो क्यान्डिडेट’ अभियान चलाएका हुन् । गएको स्थानिय तहको निर्वाचनमा पनि तिङ्लाका स्थानिय बासीन्दाले भाग लिएका थिएनन् ।
त्यहां एक भोट पनि खसेको थिएन । आफुहरु उनीहरुले तिङ्लालाई सोलु दूधकुण्ड नगरपालिकामा राख्नुपर्ने माग राखेका छन् ।